नयाँ युगको सुरूवात !


प्रकाशित मिति : मंसिर ११, २०७५ मंगलबार

– दीपा राई पुन

आज भोली अक्षरहरू
रात रातभर जागरम बसेर
ब्राण्डीको चुस्कीमा
वार्ता गर्छ
निर्णयमा पुग्छ
र सखारै
नयाँ युगलाई
पोल पोलमा झुण्डयाएर
पत्रिकाहरूमा भाइरल बनाउँछ !

समाज परिवर्तनलाई
क्रान्ति गर्नेहरू
अहिले आफैसँग क्रान्ति गर्न
सकिरहेका छैनन्
युद्धमा होमिएर
असरल्ल जीवन भोग्नेहरू
जीवनलाई एउटा आकार दिन
सकिरहेका छैनन् !

तर हरेक दिन अक्षरहरू
नयाँ नयाँ योजना बनाउँछ
फेरबदल गर्छ
झ्याली पिटी पिटी हल्ला गर्छ
एक चुटकीमा रेल वे बनिन्छ
पानी बिजुली ग्यास
घर घरमा पुग्छ
बिडम्वना !
देश कै लागि केहि गरू भन्नेहरूको
हात -मुख सम्म जोडिन् हम्मे हम्मे पर्छ !

केवल अक्षरहरूले बनिएको मेरो देश
कहिले सिंगापुर बनिन्छ
कहिले स्वीजरल्याण्ड
आफू आफै हुन नपाएर छटपटिदा
हिमालको उज्यालो मुहार
पत्रे चट्टान बनिएको कसले देख्ने ?
पढेर देशको सेवा गर्छु भन्नेहरूको पाइला
पलायन किन भयो कसले बुझ्ने ?
मौन जुलुसहरू मनमा नै साँधेर
जिन्दगी भरी
थोरै जीउनु सजिलो होस भनेर
पर्खी बाँच्नेहरूको कथा कसले लेख्ने?

ए अक्षरहरू !
कहिले काहि त आफूलाई फर्केर हेर
गुडन नजानी उड़न खोज्नेहरू
तिमीहरू चल्न बोल्न थाले पछि
सबै सबै मान्छेको काम
तिमीहरूले नै गर्न थाले पछि
मान्छेहरू कुंजें भएका छन्
बिकास अलमलिएको छ
यस्तो बेलामा
अक्षरहरू पोलमा झुण्डिएर
आफै आत्महत्या नगरे त
कसरी नयाँ युगको सुरूवात हुन्छ !

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com