आप्रवासीको लस्कर नरोकिए सेना परिचालन गरेर सिमानाका बन्द गर्ने ट्रम्पको चेतावनी
प्रकाशित मिति : कार्तिक ३, २०७५ शनिबार
मध्य अमेरिकी देशबाट मेक्सिकोहुँदै अगाडि बढिरहेका झण्डै ३ हजार आप्रवासीहरुलाई मेक्सिकोमा नरोकिए अमेरिकाको दक्षिणी सिमानामा सैन्य परिचालन गरेर नाकाबन्दी लगाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चेतावनी दिएका छन् ।
अमेरिका र मेक्सिको सिमाना विश्वको व्यस्तमध्येको एउटा सिमाना हो, जहाँबाट दैनिक हजारौं वारपार गर्छन् भने अमेरिका र मेक्सिकोबीच बर्षेनी आधा ट्रिलियन डलरको ब्यापार हुनेगर्छ ।
ट्रम्पले आप्रवासीको लस्करलाई मेक्सिकोले अवरोध गर्न नसके आफूले सेनालाई आब्हान गर्ने र मेक्सिकोसँगको सिमानालाई पूर्णरुपमा बन्द गर्ने चेतावनी दिएका छन् ।
यसैबीच मध्य अमेरिकातिर आउने क्रममा तीनहजार आप्रवासीको लस्कर मेक्सिको छिरेको छ । उनीहरुको ग्वाटेमालाको अन्तर्राष्ट्रिय पुलबाट मेक्सिको प्रवेश गरेका हुन् ।मेक्सिको छिर्न खोज्दा त्यहाँ प्रहरी र आप्रवासीहरुबीच झडपहरु समेत भएका छन् । आप्रवासीहरु होण्डुरसको राष्ट्रिय गीत गाउँदै र नाराबाजी गर्दै अगाडि बढिरहेका छन् ।
समुहमा रहेकामध्येका एक ३१ बर्षीय आप्रवासी आइभिस ओसोरिओले आफ्नी श्रीमति टेक्सासको ह्युस्टनमा बस्दै आएको र आफूलाई अमेरिका सिमा पार गर्न नदिइएपनि नजिक नजिक पुग्न लागेको बताएका छन् । १६ बर्ष अमेरिका बसेका उनलाई सन् २०१६ मा अमेरिकाबाट देशनिकालका गरिएको थियो ।
उनीहरुलाई अमेरिका प्रवेश गर्न नदिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिमानामा टुकडीहरु परिचनालन गर्ने बताएको उनीहरुलाई थाहा भएपनि अब के हुन्छ भन्ने कुरा भगवानले मात्र निर्धारण गर्ने भन्दै उनीहरु अगाडि बढिरहेका छन् ।
मेक्सिकोको सरकारले उपयुक्त कागजात भएकाहरुलाईमात्र आफ्नो देश प्रवेश गर्न दिने बताएका छन् । तर मेक्सिकोमा प्रवेश गरेर एसाइलम गर्न चाहनेहरु भने त्यसो गर्न स्वतन्त्र छन् ।