सहमति नभएसम्म संशोधन विधेयक टेबुल हुन्न : सभामुख


प्रकाशित मिति : मंसिर २४, २०७३ शुक्रबार

संविधान संशोधन विधेयक दर्तापछि चुलिएको राजनीतिक विवाद अन्त्य गर्न सभामुख ओनसरी घर्ती मगरले सक्रियता बढाएकी छन् । असन्तुष्ट विभिन्न पक्षको माग सम्बोधन गर्न भन्दै सरकारले संविधान संशोधन विधेयक दर्ता गरेसँगै प्रमुख प्रतिपक्षी एमालेले निरन्तर व्यवस्थापिका–संसद् अवरोध जारी राखेपछि निकास खोज्न सभामुखले पहलकदमी लिएकी हुन् ।

सभामुख घर्ती मगरले बिहीबार प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओली र सत्तारूढ दलका शीर्ष नेतालाई भेटेर संसद्को अवरोध खोल्न दबाब दिएकी छन् । सभामुख घर्ती मगरले बिहीबार एमाले अध्यक्ष ओली र सत्तारूढ प्रमुख दल कांग्रेसका सभापति शेरबहादुर देउवासँग गतिरोधको निकास दिने विषयमा छलफल गरेकी छन् । सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा भएको छुट्टाछुट्टै भेटमा सभामुख घर्तीले दुवै नेतालाई जारी गतिरोध हटाएर संसद् सुचारु गर्ने वातावरण निर्माण गर्न आग्रह गरेकी छन् । भेटमा सभामुख घर्तीले संशोधनको सबै प्रक्रिया पूरा भइसकेको भए पनि दलहरूबीच सहमति कायम होस् भनेरै अहिलेसम्म संसद्को नियमित कार्यसूचीमा संशोधनको विषय नराखेको जानकारीसमेत गराएकी थिइन् । उनले सहमतिविना संशोधनको विषयलाई कार्यसूचीमा नराख्ने जानकारी एमाले अध्यक्ष ओली र कांग्रेस सभापति देउवालाई दिएकी छन् ।

सभामुखसँगको छलफलमा नेताहरूले आफ्नो अडान भने कायम नै राखेका छन् । एमाले अध्यक्ष ओलीसँगको भेटमा सभामुख घर्तीले संसद्को गतिरोध अन्त्यका लागि राजनीतिक सहमति कायम गरेर अघि बढ्न आग्रह गरेकी थिइन् । जवाफमा ओलीले सरकारले दर्ता गरेको संशोधन विधेयक राष्ट्रघाती भएकाले कुनै अवस्थामा पनि अघि बढ्न नदिने जनाई फिर्ता लिए संसद् अघि बढाउन कुनै समस्या नहुने जवाफ दिएका थिए । ‘दलहरूबीच राजनीतिक सहमति बनोस् भनेरै मैले अहिलेसम्म संविधान संशोधनलाई कार्यसूचीमा राखेको छैन, सहमति नहुँदासम्म कार्यसूचीमा राख्दिनँ, तपार्इंहरू चाँडो सहमति गरेर निकास दिनोस्,’ सभामुख घर्तीको भनाइ उद्धृत गर्दै उनका प्रेस सल्लाहकार बबिन शर्माले भने, ‘एमाले अध्यक्षले संशोधन फिर्ता भए एक सेकेन्ड पनि संसद् अवरोध नगर्ने जवाफ दिनुभयो ।’

सभामुख घर्तीले दलहरूलाई पक्ष–विपक्षमा बस्नभन्दा पनि सहमति कायम गर्न आग्रह गरेकी दिइन् । ‘मैले महाअभियोग प्रस्ताव अगाडि बढाउन र संविधान कार्यान्वयनका लागि पनि संसद्को गतिरोध अन्त्य गर्नुस् भनें,’ नेताहरूसँगको छलफलपछि सभामुख धर्ती मगरले भनिन्, ‘तपार्इंहरू सहमति कायम गर्नुस्, यो पक्ष र विपक्षमा बस्ने अवस्था होइन ।’ सभामुखसँगको छलफलपछि अध्यक्ष ओलीले संविधान संशोधन फिर्ता गरे मात्र सहमति हुन सक्ने बताएका थिए । ‘सहमति गरेर अगाडि बढ्नु राम्रो कुरो हो । सरकारले संशोधन विधेयक फिर्ता लिए सहमतिमै अघि बढ्न सकिन्छ, त्यसमा हाम्रो अवरोध नै हुन्न,’ ओलीले भने । सभामुख घर्तीले कांग्रेस सभापति देउवासँग पनि बिहीबार नै गतिरोध अन्त्यका लागि सहमति गर्न दबाब दिएकी थिइन् । सभापति देउवाले भने सभामुखसँगको भेटमा संशोधन विधेयक पास वा फेल जे भए पनि प्रक्रियामा लैजान दबाब दिएका छन् । उनले विधेयक नरोक्नसमेत सभामुखलाई आग्रह गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

देउवाले आफूहरू सहमतिकै पक्षमा रहेको र संविधान कार्यान्वयनकै लागि संशोधन ल्याइएको भन्दै सहमति नहुने अवस्था भए प्रक्रियामा लैजानुपर्ने अडान राखेका छन् । तर, सभामुख घर्ती मगरले प्रमुख प्रतिपक्षले अवरोध गरेपछि कसरी प्रक्रिया अगाडि बढ्छ भन्दै देउवालाई प्रश्न गरेकी थिइन् । ‘दलहरूबीच सहमति नभएसम्म संविधान संशोधन विधेयक संसद्मा टेबुल हुन्न । छिटो सहमति निर्माण गर्नुस् । प्रमुख प्रतिपक्ष नै अवरोधमा रहेको बेला प्रक्रियामा जानुपर्छ भनेर समस्याको निकास आउँदैन,’ देउवासँग सभामुख घर्ती मगरको भनाइ थियो ।

सभामुखको निजी सचिवालयले संसद् अवरोध सुचारु गर्न छलफल अगाडि बढाइएको बताएको छ । सचिवालयले सभामुख घर्ती शनिबारदेखि चार दिनका लागि स्वदेशमा नरहने जानकारी दिँदै सो अवधिमा नेताहरूलाई छलफल गरेर सहमति जुटाउन आग्रह गरेको समेत जनाएको राजधानीमा खबर छ । सभामुख घर्ती शुक्रबार (आज) संसद् खुलाउन दबाब दिने उद्देश्यले प्रधानमन्त्री पुष्पकमल दाहालसँग पनि छलफल गर्ने कार्यक्रम रहेको सभामुखको सचिवालयले जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com