अाजदेखि महिला हिंसाविरुद्धको १६ दिने अभियान सुरु


प्रकाशित मिति : मंसिर १०, २०७३ शुक्रबार

‘घर शान्ति नै विश्व शान्तिको आधार : दिगो विकासका लागि लैङ्गिक हिंसारहित समाज’ भन्ने नारासहित अाजदेखि देशव्यापी रूपमा अन्तर्राष्ट्रिय महिला हिंसाविरुद्धको १६ दिने अभियान सुरु हुँदैछ । महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय र राष्ट्रिय महिला आयोगको नेतृत्वमा सञ्चालन गरिने अभियानमा यस क्षेत्रमा क्रियाशील संस्थाहरूले सो अवधिमा दैनिक दर्जनौँ महिला हिंसाविरुद्धका चेतनामूलक कार्यक्रम गर्ने तयारी गरेका छन् । तर, महिला हिंसाविरुरूद्धका कार्यक्रम सार्वजनिक गरिरहँदा महिलाविरुद्ध हुने हिंसाका घटना रोकिएका छैनन् । महिला आफ्नै अभिभावक, श्रीमान् र समाजबाट पीडित हुनु परेका घटना सार्वजनिक भइरहेका छन् ।

नेपाल प्रहरी महिला बालबालिका निर्देशनालयका अनुसार चालू आर्थिक वर्षको पहिलो तीन महिनामा दुई हजार २८८ वटा घरेलु हिंसाका घटना भएका छन् भने महिला हिंसाका ६६० वटा घटना भएको जनाएको छ । यस अवधिमा जबरजस्ती करणीका २९३ घटना भएका छन् भने जबरजस्ती करणी उद्योगका १५२ वटा घटना भएको सो निर्देशनालयले जनाएको छ । त्यस्तै सो अवधिमा ११५ वटा बहुविवाह घटना दर्ता भएका छन् भने अन्य बोक्सीको आरोप, गर्भपतन, मानवबेचविखनका घटना भएका छन् ।

यस्तै आर्थिक वर्ष २०७२/७३ मा नौ हजार ३९८ वटा घरेलु हिंसाका घटना भएका थिए भने दुई हजार ७५ वटा महिला हिंसाका घटना भएको पाइएको छ । जब कि आर्थिक वर्ष २०७१/७२ मा घरेलु हिंसाका आठ हजार २६८ वटा घटना भएका थिए भने महिला हिंसाका दुई हजार ३३५ घटना भएका थिए; जसमा बलात्कारका एक हजार ९० वटा, जबरजस्ती करणी उद्योगका ३५२, बहुविवाहका ४६३, बेचबिखनका २१२ र अन्य बालविवाह, गर्भपतन, बोक्सीको आरोपका घटना रहेका छन् । राष्ट्रिय महिला आयोगमा आर्थिक वर्ष २०७२/७३ मा महिला हिंसासम्बन्धी दर्ता भएका २५६ वटा उजुरीमध्ये २४४ वटा घरेलु हिंसाका उजुरीको कारबाही टुङ्गो लगाइसकेको जनाएको छ ।

राष्ट्रिय महिला आयोगका कार्यवाहक अध्यक्ष भगवती घिमिरेले महिला हिंसाका घटनाको सङ्ख्यामा वृद्धिभन्दा पनि हिंसा सहनु हुँदैन भन्ने चेतना बढेको र सञ्चारमाध्यमले पनि महिला हिंसाका घटनालाई प्राथमिकता दिने गरेकाले सङ्ख्या बढेको देखिएको हो भनिन् । उनले महिला हिंसाका परम्परागत रूपमा हुने घटनाभन्दा पनि फरक शैलीमा महिलामाथि हिंसा हुने गरेकाले यस्ता घटनाका पीडितलाई न्याय दिलाउन कानुन पनि नभएकाले समस्या भएको बताईन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

महिला आयोगले महिला हिंसाविरुद्धको अभियान १६ दिनमात्रै सीमित नगरेर वर्षभरि अभियानका रूपमा विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिँदै लग्ने पनि उनको भनाइ छ । नेपाल प्रहरी, महिला बालबालिका सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक रामकुमार खनाल पनि महिला हिंसाका घटनाको सङ्ख्या बर्सेनि बढ्नुमा महिला हिंसाका घटनाप्रति संवेदनशीलता, आमनागरिकमा आएको जागरुकता, सचेतना हो भन्छन् ।

महिला अधिकारकर्मी डा. रेणु राजभण्डारीले राज्यसत्ता र जिम्मेवार निकायमा बसेका व्यक्ति महिला हिंसाका घटनाप्रति संवेदनशील नभएकाले पीडित महिलाले न्याय पाउन नसकेको र न्याय पाउने वातावरण नहुँदासम्म यस्ता अभियान सफल हुन नसक्ने तर्क गरिन्। संयुक्त राष्ट्रसङ्घको सन् १९९९ को महासभाले नोभेम्बर २५ लाई महिला हिंसाविरुद्धको दिवसको रूपमा यो अभियान मनाउने निर्णय गरेको थियो र त्यसै समयदेखि नेपालसहित विश्वका थुप्रै मुलुकमा लैङ्गिक हिंसाविरुद्धको अभियान सञ्चालन गर्न लागिएको गाेरखापत्रमा खबर छ ।

हरेक वर्ष नोभेम्बर २५ देखि १० डिसेम्बरसम्म १६ दिन लैङ्गिक हिंसाविरुद्ध ऐक्यबद्धता जनाउन र जनचेतना कायम राख्न विश्वव्यापी रूपमा विभिन्न क्रियाकलाप र कार्यक्रम आयोजना गरिन्छ । ‘सुन्तला रङले संसारलाई रङ्गाऔँ’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय महिला हिंसाविरुद्धको १६ दिने अभियानमा विश्वभर चेतनायुक्त कार्यक्रम आयोजना हुँदैछन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com