राउटेलाई पहिलो पटक परिचयपत्र : अब फिरन्ते राउटे बने दैलेखका स्थायी बासीन्दा


प्रकाशित मिति : असार ३१, २०७५ आईतबार

पश्चिम नेपालमा फिरन्ते जीवन बिताउँदै आएको राउटे समुदायलाई पहिलो पटक स्थायी परिचयपत्र प्रदान गरिएको छ । कर्णालीप्रदेश अन्तर्गतको दैलेख जिल्लाको गुराँस गाउँपालिका–८ स्थित पातले खोलामा बसोबास गर्दै आएका राउटे समुदायका नागरिकलाई गाउँपालिकाले पहिलो पटक स्थायी परिचयपत्र वितरण गरेको हो ।

स्थायी परिचयपत्रका आधारमा राउटे समुदायले अबदेखि सामाजिक सुरक्षाभत्ता पाउने उक्त गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले बताउनुभयो । उक्त परिचयपत्रमा नाम, थर, जन्ममिति, ठेगाना, बुबा, आमाको नाम र पति–पत्नीको नामसमेत उल्लेख छ ।

राउटे समुदायलाई नेपाली नागरिकका रुपमा स्थापित गर्नका लागि स्थायी परिचयपत्र वितरण गरिएको उहाँले जानकारी दिनुभयो । गाउँपालिकाले राउटे समुदायको अध्ययन, अनुसन्धान, संरक्षण र सहयोगलाई एकद्वार प्रर्णालीमार्फत सञ्चालन गर्नका लागि दुई जना कर्मचारी पनि नियुक्त गरिएको पनि अध्यक्ष ओलीले बताउनुभयो ।

गाउँपालिकाले नियुक्त गरेका कर्मचारी राउटे समुदाय जहाँ जहाँ पुग्छन् र बस्छन् त्यहीँ पुगेर काम गर्ने र दैलेखसहित, सल्यान, दाङ, अछाम, सुर्खेत लगायतका जिल्लामा बसोबास गर्ने सबै राउटे समुदायले अब दैलेखको गुराँस गाउँपालिकामार्फत मात्रै सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने उहाँले बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उक्त समुदायका महामुखिया महिनबहादुर शाहीले सरकारले परिचयपत्रभन्दा खाद्यान्न र पैसा दिए आफूहरुलाई पेट पाल्न सजिलो हुने बताउनुभयो । सधँै एकै ठाउँमा नबस्ने भएकाले परिचयपत्रभन्दा खाद्यान्न भए सजिलो हुने उहाँको भनाइ थियो । फिरन्ते जीवन बिताइरहेका राउटे समुदायको ४२ घरमा १४९ जना रहेको राउटे उत्थान प्रतिष्ठानका अध्यक्ष सत्यदेवी अधिकारी जानकारी दिनुभयो ।

उहाँका अनुसार राउटे समुदायमा एक महामुखियासहित चार जना मुखिया छन् । उक्त समुदायमा ६१ वर्ष माथिका १४, ४१ देखि ६० वर्ष सम्मका २० तथा १६ देखि ४० वर्ष सम्मका ४४ जना छन् भने ८ देखि १५ वर्षसम्मका २४ र सात वर्ष सम्मका ४७ बालबालिका तथा एकल महिलाको संख्या ११ जना छन् आफ्ना सदस्यको मृत्यु हुँदा मात्रै बस्ती सर्ने राउटे समुदाय अहिले एक ठाउँमा मुस्किलले बढीमा एक महिनासम्म बस्ने गरेको महामुखिया शाहीले बताउनुभयो । पैसा छोए पाप लाग्छ भन्ने समुदाय अहिले परिचयपत्रभन्दा खाद्यान्न र पैसा भए आफूहरुलाई जिउन सजिलो हुने बताउने गरेका छन् । रासस

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com