यसरी हुनेछ मुखर्जीको आन्तरिक उडान


प्रकाशित मिति : कार्तिक १९, २०७३ शुक्रबार

काठमाडौंदेखि जनकपुरको उडान अवधि २५ मिनेट हो । तर, शुक्रबार भारतीय राष्ट्रपति प्रणव मुखर्जीको उडानको समयावधि करिब ४५ मिनेटको हुनेछ । बुद्ध एयरको फ्रेन्च–इटालियन एटीआर विमानमा हुने राजकीय सवारी काठमाडौंबाट उडेपछि जनकपुरको हवाई बाटो नसमातेर पूर्व–उत्तर हुँदै उड्नेछ । त्रिभुवन विमानस्थल स्रोतका अनुसार विमानको बायाँतर्फको सिटमा एक्लै रहने राष्ट्रपति मुखर्जी हिमाल हेर्दै जनकपुर पुग्नेछन् ।

‘नियमित उडानको समय २५ मिनेट हो तर राष्ट्रपतिलाई हिमाल देखाउँदै जाँदा थप १०/१५ मिनेट समय अवधि बढ्नेछ,’ ती अधिकारीले भने । राष्ट्रपति उडानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले बिहान १० बजेदेखि साढे १० बजेसम्म (आधा घण्टा) का लागि नोटाम जारीपछि विमानस्थल बन्द गरेको छ । प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार त्यसबेला काठमाडौंका लागि कुनै पनि आन्तरिक र अन्तर्राष्ट्रिय उडान/अवतरण हुने छैनन् ।

भीभीआईपी उडान १० बजेर २० मिनेटमा जनकपुरका लागि उड्नेछ । त्यसपछि बुद्धको अर्को एटीआर विमानमा भारतबाट आएका पत्रकार, सांसद र विधायकलगायतका डेलिगेट उड्नेछन् । डेलिगेटको उडान अवधि भने २५ मिनेटकै हुनेछ । उनीहरूले माउन्टेन फ्लाइटको अनुभव लिने छैनन् ।

‘राष्ट्रपतिको विमान हिमाल हेर्दै जाने योजना छ, जसका कारण उहाँको जहाज काठमाडौंबाट पहिले उडे पनि जनकपुरमा भने डेलिगेट बोकेको जहाजले अवतरण गरेको केही मिनेटपछि मात्रै अवतरण हुनेछ,’ स्रोतले भन्यो । राष्ट्रपतिको उडानका साथसाथै काठमाडौंबाट नेपाली सेनाको हेलिकप्टर र गृहमन्त्री बोकेर अर्को निजी हेलिकप्टर उड्ने कार्यतालिका छ । सेनाको हेलिकप्टर अञ्चल प्रहरी कार्यालयमा अवतरण गर्नेछ । उक्त हेलिकप्टरले राष्ट्रपतिको जनकपुर बसाइका क्रममा हवाई–रेकी गर्नेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अन्तर्राष्ट्रिय उड्डयन प्राधिकरण (आइकाओ) ले हरेक विमानस्थलमा भवितव्य हवाई दुर्घटनाका लागि दमकल र उद्धार टोली अनिवार्य राख्नुपर्ने भनेको छ । तर, जनकपुर विमानस्थलमा यो सुविधा छैन । राष्ट्रपतिको भ्रमणमा भवितव्य हवाई सुरक्षाको जोखिम न्यूनीकरणका लागि बुधबार सिमरा विमानस्थलमा रहेको दमकलसहित ६ उद्धारकर्मी जनकपुर आइपुगेको उक्त विमानस्थलले जनाएको छ । ६ जनामध्ये ३ जना काठमाडौंबाट पठाइएका छन् ।

काठमाडौंको विमानस्थल साढे १० बजे खुलेपछि मात्रै अन्य कमर्सियल उडान हुनेछन् । काठमाडौं विमानस्थलले शुक्रबार फेरि सवा ४ बजेदेखि सवा ५ बजेसम्मका लागि विमानस्थल बन्द गर्दै छ । यो एक घण्टाको अवधिमा राष्ट्रपति मुखर्जी पोखराबाट काठमाडौं आउने र काठमाडौंबाट दिल्ली फर्किने कार्यक्रम छ । काठमाडौंको विमानस्थल बन्द भएका बेला भने नेपालगन्जदेखि कर्णालीका रुट, पोखरा–जोमसोम र विराटनगरदेखि पूर्वी पहाडी रुटका हवाई सेवा भने सुचारु नै रहनेछन् ।

राष्ट्रपति मुखर्जीसहितका दुवै विमान जनकपुर भ्रमण सकेर सीधै पोखरा जानेछन् । ती विमानलाई दुईटा हवाईमार्ग दिइएको छ । एउटा जनकपुरबाट काठमाडौं नजिकको आकाश हुँदै र अर्को जनकपुरबाट भरतपुर हुँदै । तर, पोखराबाट काठमाडौं फर्किंदा ती विमानहरूले हाल प्रयोगमा रहेकै हवाई रुट हुँदै काठमाडौं अवतरण गर्नेछन् । साढे ४ बजे विमानस्थलमा मुखर्जीले अवतरण गरेपछि उनको त्यहीँबाट बिदाइ हुनेछ । उनी उड्नुअघि डेलिगेटहरूको चार्टर विमान दिल्लीतर्फ उड्नेछ अनि मात्रै राष्ट्रपतिलाई ल्याएर आएको एयरफोर्सको बोइङ ७३७ विमान उड्नेछ । मुखर्जी उडेपछि विमानस्थल सवा ५ बजे मात्रै खुल्नेछ ।

स्रोतका अनुसार नेपाल सरकारले राजकीय भ्रमणमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीलाई सवारीमन्त्रीको जिम्मेवारी दिएको छ । मन्त्री शाही मुखर्जीसँगै जनकपुर र पोखरा जाँदै छन् । चार्टर गरिने दुवै विमानको भाडा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले व्यहोर्दै छ । यो राजकीय भम्रणका लागि बुद्ध एयरले दुइटा विमान उडाउँदै छ भने एउटा विमान स्ट्यान्ड–वाई काठमाडौंमा जगेडामा राख्दै छ ।

यी तीनवटै विमान बिहीबार साँझदेखि नेपाली सेनाको निगरानीमा राखिने भनिएको थियो । तर, बिहीबार विमानस्थलको राडर प्रणालीको तार मुसाले काटेकाले सेनाले राति अबेर मात्रै जहाज निगरानीमा लिनुपरेको कान्तिपुरमा खबर छ । राडरको तार मुसाले काटेका कारण बिहीबार दिउँसोदेखि सबै उडान कम्तीमा २ घण्टा डिले हुन पुगे । शुक्रबार राष्ट्रपतिले प्रयोग गर्ने जनकपुर र पोखरा विमानस्थलमा उनको उडान समयअघि र पछि भने नियमित उडान हुने प्राधिकरणले जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com