कांग्रेस महाभियोगको पक्षमा नउभिए गगनसहितले राजीनामा दिने


प्रकाशित मिति : कार्तिक १२, २०७३ शुक्रबार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्वित प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथि लागेको महाभियोगको पक्षमा कांग्रेस नउभिए स्वास्थ्य मन्त्री गगनकुमार थापाले राजीनामा दिने तयारी गरेका छन् ।

लोकमानसिंहले भ्रष्टहरुसँग मिलेर नेताहरुविरद्ध नियोजित षड्यन्त्र गरेको भन्दै संसद्मा महाभियोग दर्ता भएपछि कांग्रेसले त्यसबारे निर्णय लिन नसकेको अवस्थामा गगनले मन्त्री पदबाट राजीनामा दिने तयारी गरेको स्रोतको भनाई छ ।

लोकमानविरुद्ध महाभियोगको पक्षमा उभिएका थापासहितका कांग्रेस नेताहरुले पटक पटक सभापति शेरबहादुर देउवालाई भेटेर त्यसबारे तत्काल निर्णय लिन दबाब दिइरहेका बेला गगनले राजीनामा दिने निचोड निकालेका उनीनिकट एक कांग्रेस नेताले जानकारी दिए ।

महाअभियोगको पक्ष र विपक्षमा मत बाँडिएपछि विवाद चुलिइरहेका बेला महाभियोगको पक्षमा कांग्रेसले निर्णय नगरेमा राजीनामासम्म दिने सन्देश स्वास्थ्य मन्त्री थापाको तर्फबाट सभापति शेरबहादुर देउवालाई समेत पुर्‍याइएको दाबी स्रोतको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेकपा एमाले र माओवादी केन्द्रका १५७ जना सांसदहरुले लोकमानलाई महाभियोग लगाउन संसदमा दर्ता गराएको प्रस्तावको पक्षमा केही दिनअघि कडा मन्तब्य राखेका गगनले पार्टीभित्रै भने महाभियोगको पक्षमा मत जुटाउन असफल भएका थिए ।

महाभियोगमाथिको पहिलो छलफल भएर संसद् २६ कात्तिकसम्मलाई स्थगित भएको अवस्थामा लोकमानलाई महाभियोगबाट जोगाउनका लागि कांग्रेसकै सांसद र नेताहरु लागि रहेका बेला गगनले मन्त्रीबाट र सांसदहरुले संसद सदस्यबाट पनि राजीनामा दिने धम्की सभापति देउवालाई दिइसकेका छन् ।

भारतनिकट मानिने कांग्रेस सांसद अमरेशकुमार सिंहमार्फत लोकमानलाई जोगाउन भारतीय पक्षबाट तीब्र प्रयास भइरहेका बेला गगनसहितले सभापति देउवालाई संसदीय दलबाट महाभियोगको पक्षमा उभिन दबाब दिइरहेका छन् ।

केही दिनअघि मात्रै भारतीय बुद्धिजीवि एसडी मुनीलाई लिएर अमरेश प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर लोकमानलाई महाभियोग नलगाउन दबाब दिएको रहस्य बाहिर आएको थियो ।

बालुवाटारमा एसडी मुनीले लोकमानलाई महाभियोग लगाउन नहुने भन्दै यसले भारतसँगको सम्बन्ध बिग्रने सन्देश दिएका थिए । एसडी मुनीलाई लिएर पुगेका अमरेशले लोकमानलाई महाभियोग लगाउने निर्णयले भारत रिसाएको भन्दै प्रचण्डलाई घुमाउरो भाषामा थर्काएको कुरा बालुवाटारबाट बाहिरिइसकेको छ ।

सिटौलाको अफ्ठेरोमा गगनको साथ

काठमाडौंमा भएको नेपाली कांग्रेसको तेह्रौ‌ं महाधिवेशनमा तत्कालीन महामन्त्री कृष्ण सिटौला छुट्टै प्यानल बनाएर सभापतिको चुनावी प्रतिस्पर्धामा उत्रेका थिए ।त्यो बेला उनका बलियो खम्बाकारुपमा महामन्त्रीमा उठेर गगनकुमार थापाले साथ दिएका थिए । यद्यपि दुबैजना पराजित हुन पुगेका थिए ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र तत्कालीन प्रधानमन्त्री तथा कांग्रेस सभापति सुशील कोइरालाको सहमतिमा अख्यितार प्रमुख बनेका लोकमानसिंह कार्कीले त्यसयता नियोजितरुपमा दलहरुमाथि आक्रमण थालेका थिए ।

त्यसअघि नै माओवादी लडाकुको शिविरमा भएको भ्रष्टाचारको केशमा प्रचण्ड तानिइसकेका थिए । करिब २१ अर्ब रुपैयाँ लडाकूका नाममा निकाशा भएकोमा करिब १० अर्ब रुपैयाँ प्रचण्ड, नन्दकिशोर पुन, कृष्णबहादुर महरा र जनर्दान शर्मासहितका लडाकुका कमाण्डरहरुको मिलेमतोमा भ्रष्टाचार भएको भन्दै अख्तियारले छानबिन थालिसकेको थियो ।

यस्तोमा २०७२ असोजमा ६ जना नेताहरुलाई भ्रष्टाचारजन्य कसुरमा संलग्न भएको भन्दै लोकमानले एकै पटक चिठ्ठी काटेपछि एमालेका नेताहरु पनि अख्तियारको हिरासतमा पुग्ने डरले त्रसित भइसकेका थिए । लोकमानले योजनावद्धरुपमा पार्टीका नेताहरुलाई तर्साउन थालेको अवस्थामा कांग्रेसमाथि मात्रै प्रहार गर्न बाँकी थियो ।

यसअघि नै खुमबहादुर खड्का र गोविन्दराज जोशीसहितका कांग्रेसका केही नेता भ्रष्टाचार अभियोगमा जेल पुगेको सन्दर्भमा अख्तियारको निशानाको पहिलो सूचीमा थिए, कृष्ण सिटौला ।

संयुक्त राष्ट्रसंघको अनुरोधमा सुडानमा खटाइएको नेपाल प्रहरीका लागि आवश्यक आम्र्ड पर्सनल क्यारियर (एपीसी) सहितका बन्दोबस्तीका सामान खरिदमा भएको भ्रष्टाचारको मुद्दामा तत्कालीन गृहमन्त्रीकारुपमा सिटौलामाथि अख्तियारले निशाना बनाउने तयारी गरेको थियो ।

कांग्रेसमा लोकमानको कारबाहीको सूचीमा सिटौला पहिलो नम्बरमा परेको अवस्थामा यसले गगनलाई समेत अफ्ठेरो पार्ने अवस्था रहेको उनीनिकट कांग्रेसका एक नेताले दाबी गरेका कारोबारमा खबर छ ।

‘लोकमान कुटील चाल चालेर देशको परिस्थितिलाई आफ्नो वशमा ल्याउने खुबीका मानिस हुन् । यस्तो अवस्थामा सिटौलामाथि लोकमानको चाल तेह्रौं महाधिवेशनमा हारको बदला लिने कोइराला परिवारको प्रयासमाथि गतिलो बल थियो’, ती नेताले भने, ‘विशेष गरेर कोइराला परिवार तथा कांग्रेस संस्थापनको बुझाई भनेको तेह्रौं महाधिवेशनमा सिटौलाकै कारण हार्नुपरेको भन्नेछ । त्यसको बदला लोकमानमार्फत लिने गतिलो मौका उनीहरु खेर फाल्न चहाँदैन थिए ।’

सुडान घोटालामा तत्कालीन प्रहरी महानिरीक्षकहरु ओमविक्रम राणा, हेमबहादुर गुरुङ र पूर्व प्रहरी महानिरीक्षक तथा प्रधानमन्त्रीका तत्कालीन राष्ट्रिय सुरक्षा सल्लाहकार रमेशचन्द्र ठकुरीसहित ३६ जना बढी प्रहरी अधिकृत र ठेकेदारलाई अभियुक्त बनाइएपनि त्यो बेलाका गृहमन्त्री सिटौलालाई बाह्र हातको टाँगोले पनि छोएन ।

यद्यपि स्वास्थ्यमन्त्री थापाले महाभियोगबारे कांग्रेसमा विवाद भएपनि आफुले राजीनामा दिने हल्ला सत्य नभएको बताए । गगनले राजीनामाको हल्लालाई ‘हावा’को संज्ञा दिए । ‘अहिले राजीनामा दिनेबारेमा मैले केही सोचेको छैन’, अख्तियार प्रमुखलाई महाभियोगबारे पार्टीमा छलफल चलिरहेको छ । यसबारेमा अरु टिप्पणी गर्दिनँ ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com