महाअभियोगको पक्षमा माओवादी


प्रकाशित मिति : कार्तिक ७, २०७३ आईतबार

सत्तारुढ दल माओवादी केन्द्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध महाअभियोगको प्रस्तावको पक्षमा उभिने भएको छ । माओवादीको शनिबार बसेको पार्टी केन्द्रीय कार्यालय बैठकले कार्कीलाई बचाउनु जनताको विरुद्ध हुने निष्कर्षसहित प्रस्तावको पक्षमा उभिने निर्णय गरेको हो ।

पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को निवास लाजिम्पाटमा बसेको बैठकले अन्य दलसँग समन्वय गर्दै महाअभियोगलाई पारित गराउन पहल गर्ने जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ । केन्द्रीय कार्यालय सदस्य मणि थापाले भने, ‘बैठकमा महाअभियोगको पक्षमा उभिने निर्णय भएको छ, यसका लागि आवश्यक प्रक्रिया पूरा गर्ने जिम्मा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डलाई दिएका छौँ । ’

बैठकका एक अर्का सहभागीका अनुसार बैठकले लोकमानको पक्षमा लाग्दा जनताको मनोभावनाविपरीत हुने निष्कर्ष निकालेको छ । निर्णयबारे जानकारी दिँदै बैठकका एक सहभागीले भने, ‘लोकमानले अख्तियार प्रमुखको रूपमा जुन प्रकारको भूमिका निर्वाह गरेका छन् त्यो पदको दुरुपयोग हो ।’ पछिल्लो पटक कार्कीको उठबस राजनीतिक रूपमा प्रतिगमनको पक्षधरसँग भइरहनुले पनि उनका गतिविधि शङ्कास्पद रहेको निष्कर्ष माओवादीले निकालेको छ । बैठकमा सहभागी नेताका अनुसार, लोकमानलाई बचाउन ठूला शक्ति केन्द्रहरू लागिरहेको विश्लेषणसमेत बैठकमा गरिएको थियो ।

माओवादीको पाँच घन्टा लामो बैठकमा उनलाई महाअभियोग लगाउनेबारे भएको गतिविधिबारे गम्भीर छलफल भएको थियो । त्यसपछि महाअभियोगको पक्षमा उभिने, संसद्भित्र र बाहिर त्यसको माहोल बनाउने निर्णय बैठकले गरेको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बैठकका निर्णयबारे जानकारी दिँदै पार्टी प्रवक्ता पम्फा भुसालले कार्कीविरुद्ध महाअभियोग प्रस्तावलाई विभिन्न पक्षसँग समन्वय गरी अगाडि बढाउने अधिकार पार्टी अध्यक्ष प्रचण्डलाई दिने निर्णय गरेको बताइन् । माओवादीले यसबारे प्राविधिक निर्णय गर्न आइतबार बिहान संसदीय दलको बैठक बोलाएको गोरखापत्रमा खबर छ । बैठकले महाअभियोगको पक्षमा मतदान गर्न सांसदहरूलाई निर्देशन दिने सम्भावना छ । कात्तिक ४ मा बसेको माओवादी हेडक्वार्टर बैठकले काँग्रेससँग सल्लाह गरेर अगाडि बढने निर्णय गरेको थियो ।

कात्तिक ३ गते साँझ माओवादी केन्द्र र एमालेका १५७ सांसदले हस्ताक्षर गरी प्रमुख आयुक्त कार्कीविरुद्ध व्यवस्थापिका–संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गराएका थिए । प्रमुख प्रतिपक्षी दल एमाले यसअघि नै महाअभियोगको पक्षमा छ । काँग्रेस भने अझै औपचारिक निर्णयमा पुगेको छैन । माओवादीले काँग्रेसले पनि महाअभियोगको पक्षमा निर्णय गर्ने आकलन गरेको छ । काँग्रेस केन्द्रीय कार्य समिति बैठक सोमबारसम्मका लागि स्थगित भएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com