हाइप्रोफाइल राजकुमारहरुको बिजोगः कम्बल ओढेर भुइँमै सुते


प्रकाशित मिति : कार्तिक २२, २०७४ बुधबार

जन्मिँदै शासन र शक्ति लिएर आएका केही साउदी राजकुमारहरु यतिबेला कैदी जीवन बिताइरहेका छन् । युवराज मोहम्मद विन सलमानले भ्रष्टाचारविरुद्ध अभियान चलाउने भन्दै पक्राउ गरेका ११ साउदी राजकुमारहरु अहिले त्यहाँको होटलको एउटा कोठामा कोचिएर बसिरहेका छन् । उनीहरु राजधानी रियादको रिज कालटर्न होटलको कोठाको भुइँमा म्याट्रेसमा ब्ल्यांकेट ओढेर लाइन लागेर सुतेको तस्बिर सार्वजनिक भएको छ । उनीहरु आफ्नो जीवनमा पहिलोपटक यस्तो दयनीय अवस्थामा पुगेका हुन् । स्रोतको हवाला दिँदै डेलीमेलले यो तस्वीर सार्वजनिक गरेको हो ।

कैद हुनेमा राजा सलमानका भतिजा तथा अर्बपति राजकुमार अल वालेद बिन तलाल पनि छन् । १८ अर्ब डलर सम्पत्तिका मालिक तलालको एप्पल, ट्वीटर, फक्सन्यूज लगायत विभिन्न बहुराष्ट्रिय कम्पनीहरुमा लगानी छ । साउदीका ठूला ब्यापारमा संलग्न यी राजकुमारहरु त्यहाँको शासनमा पनि शत्तिशाली मानिन्थे । तर, नयाँ युवराजले आफ्नो राजा बन्ने आकांक्षामा बाधा हुनसक्ने शक्तिशाली राजकुमारहरुलाई छानीछानी पक्राउ गरेर एकै ठाउँमा थुनेका छन् ।

उनीहरुलाई के आरोप लगाइएको भन्ने अहिलेसम्म खुलाइएको छैन् । तर, युवराज सलमानले भ्रष्टाचारजन्य अभियोग लगाएर उनीहरुलाई जेल पठाउने तयारी गरिरहेको बताइएको छ । राजकुमारहरुको पक्राउमा अमेरिकी राष्ट्रपति ट्रम्पको समेत हात रहेको बताइएको छ । उनीहरुलाई राखिएको हलमा गत वर्ष लगानीसम्बन्धी वृहत सम्मेलन आयोजना गरिएको थियो, जहाँ विश्वका व्यापारी, नेताहरु सहभागी भएका थिए । सो अवसरमा युवराज मोहमदले साउदी अरबलाई आधुनिक मुस्लिम राज्यमा रुपान्तरण गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । सम्मेलनमा अहिले पक्राउ परेका राजकुमार र मन्त्रीहरु पनि उपस्थित थिए । गत वर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प साउदी अरेबियाको भ्रमण गर्दा पनि सोही होटलमा युवराजसँग भेट गरेका थिए ।

जापान भ्रमण पूरा गरी दक्षिण कोरियाका लागि प्रस्थान गर्नुअघि ट्रम्पले ट्वीट गरेका थिए– मलाई साउदी राजा सलमान र युवारजप्रति पूर्ण विश्वास छ । राजकुमार, मन्त्री र अन्य अधिकारीहरुमाथि भएका कारबाहीबारे राजालाई राम्रो ज्ञान छ । कारबाही गरिएकामध्ये धेरैले वर्षौंदेखि आफ्नो देशलाई चुसिरहेका थिए ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com