२८ कार्तिक २०८३, शनिबार| Saturday, November 14, 2026
अध्यागमन

हवाई मार्गबाट अमेरिका आएर स्थलमार्गबाट फर्कंदा यी प्रमाण राख्न सीबीपीको सुझाव

हवाई मार्गबाट अमेरिका आएर स्थलमार्गबाट फर्कंदा विद्युतीय आई–९४ अभिलेखमा अमेरिका छाडेको विवरण नदेखिन सक्ने भन्दै राहदानीको प्रवेश छाप, यातायात टिकट र अन्य कागजात सुरक्षित राख्न सुझाव

Photo: Hermes Rivera/ Unsplash

अमेरिका हवाई वा समुद्री मार्गबाट प्रवेश गरेर स्थलमार्ग हुँदै क्यानडा वा मेक्सिको जाने यात्रुको प्रस्थान विवरण अमेरिकी अध्यागमन अभिलेखमा सही रूपमा दर्ता नहुन सक्ने भन्दै अमेरिकी भन्सार तथा सीमा सुरक्षा निकाय (सीबीपी) ले उनीहरूलाई अमेरिका छाडेको प्रमाण सुरक्षित राख्न सुझाव दिएको छ।

सीबीपीका अनुसार, विशेषगरी क्यानडा वा मेक्सिकोका बासिन्दा नभएका र स्थलमार्गबाट अमेरिका छाडेपछि आफ्नो स्वीकृत बसाइ अवधि समाप्त हुनुअघि पुनः अमेरिका नफर्किने यात्रुले प्रस्थानको प्रमाण आफूसँग राख्नुपर्छ। भविष्यमा अमेरिका फर्कंदा उनीहरूको अघिल्लो प्रस्थानबारे प्रश्न उठेमा यस्ता कागजातले अमेरिका छाडेको मिति पुष्टि गर्न मद्दत गर्न सक्छन्।

प्रस्थानको प्रमाणका रूपमा राहदानीमा अर्को देश प्रवेश गर्दा लगाइएको छाप, यातायातका टिकट, तलब भुक्तानी विवरण तथा अमेरिकाबाहिर रहेको पुष्टि गर्ने मितिसहितका रसिद र अन्य अभिलेख उपयोगी हुन सक्ने सीबीपीले जनाएको छ।

सोमबार जारी गरिएको सूचनाअनुसार, यात्रुले सीबीपी लिंक मोबाइल एपमा उपलब्ध ‘भेरिफाई माई एक्जिट’ सुविधामार्फत पनि आफ्नो प्रस्थान पुष्टि गर्न सक्छन्। यस सुविधाले प्रत्यक्ष खिचिएको अनुहारको तस्बिर र भौगोलिक स्थानसम्बन्धी विवरण प्रयोग गरी अमेरिका छाडेको अभिलेख पुष्टि गर्न मद्दत गर्छ।

हवाई र समुद्री मार्गबाट आउने यात्रुको अभिलेख कसरी राखिन्छ?

आई–९४ विदेशी नागरिकको अमेरिका आगमन र प्रस्थानसम्बन्धी आधिकारिक अभिलेख हो। सीबीपीले हवाई वा समुद्री मार्गबाट अमेरिका आउने यात्रुका लागि सामान्यतया विद्युतीय आई–९४ अभिलेख तयार गर्छ। त्यसैले केही सीमित अपवादबाहेक यात्रुले अब कागजी आई–९४ फाराम प्राप्त गर्दैनन्।

अमेरिकाबाट व्यावसायिक उडान वा पानीजहाजमार्फत बाहिरिने यात्रुको प्रस्थान विवरण सम्बन्धित यातायात कम्पनीले उपलब्ध गराएको सूचनाका आधारमा सामान्यतया विद्युतीय रूपमा दर्ता हुन्छ। त्यसैले हवाई मार्गबाट अमेरिका छाड्ने यात्रुले प्रस्थान दर्ताका लागि सामान्यतया छुट्टै प्रक्रिया पूरा गर्नुपर्दैन।

तर हवाई वा समुद्री मार्गबाट अमेरिका प्रवेश गरेर पछि स्थलमार्ग हुँदै क्यानडा वा मेक्सिको जाने यात्रुको प्रस्थान विवरण विद्युतीय अभिलेखमा स्पष्ट रूपमा नदेखिन सक्छ। यस्तो अवस्थामा यात्रुले आफूसँग सुरक्षित राखेका कागजात नै अमेरिका छाडेको प्रमाण बन्न सक्छन्।

क्यानडा र मेक्सिको प्रवेशको छाप पनि प्रमाण हुन सक्छ

सीबीपीले यात्रुलाई क्यानडा वा मेक्सिको प्रवेश गर्दा राहदानीमा प्रवेशको छाप लगाउन अनुरोध गर्न सुझाव दिएको छ।

खसोखासका समाचार नछुटाउनुहोस्Follow Khasokhas for immigration, green card, tax and community news.Facebook मा Follow गर्नुहोस् →

क्यानडा प्रवेश गर्ने यात्रुले त्यहाँको सीमा सेवा निकायसँग राहदानीमा प्रवेश छाप लगाइदिन अनुरोध गर्न सक्छन्। त्यस्तै, मेक्सिको प्रवेश गर्ने यात्रुले त्यहाँको राष्ट्रिय अध्यागमन संस्थासँग यस्तो छाप लगाउन अनुरोध गर्न सक्छन्।

राहदानीमा प्रवेश छाप नभए पनि यातायात टिकट, तलब भुक्तानी विवरण तथा अमेरिकाबाहिर रहेको पुष्टि गर्ने मितिसहितका रसिद वा अन्य अभिलेखले प्रस्थान प्रमाणित गर्न सहयोग गर्न सक्छन्।

सीबीपी लिंक एप प्रयोग गर्ने यात्रुले ‘भेरिफाई माई एक्जिट’ सुविधामा दिइएका निर्देशन पालना गर्नुपर्छ। यसले अनुहार पहिचान र स्थानसम्बन्धी विवरणका आधारमा प्रस्थानको बायोमेट्रिक पुष्टि गर्ने विकल्प उपलब्ध गराउँछ। यद्यपि, भविष्यमा प्रमाण आवश्यक पर्न सक्ने भएकाले यात्रुले टिकट, राहदानीमा लगाइएको प्रवेश छाप र अन्य कागजात पनि सुरक्षित राख्नुपर्ने सीबीपीको सुझाव छ।

कागजी आई–९४ भएका यात्रुले के गर्नुपर्छ?

कागजी आई–९४ फाराम प्राप्त गरेका यात्रुले अमेरिका छाड्दा उक्त फाराम सम्बन्धित निकायलाई बुझाउनुपर्छ।

क्यानडा जाने यात्रुले क्यानडाको सीमा सेवा निकायलाई फाराम बुझाउन सक्छन्। मेक्सिको जाने यात्रुले अमेरिकी सीमा नाकाबाट बाहिरिनुअघि सीबीपीलाई बुझाउन सक्छन्। व्यावसायिक उडान वा पानीजहाजमार्फत अमेरिका छाड्ने यात्रुले भने सम्बन्धित यातायात कम्पनीलाई दिइएको निर्देशनअनुसार फाराम बुझाउनुपर्छ।

आई–९४ अभिलेख कसरी हेर्ने?

यात्रुले सीबीपीको आधिकारिक आई–९४ वेबसाइटबाट आफ्नो विद्युतीय प्रवेश अभिलेख हेर्न र आवश्यक परे त्यसको प्रतिलिपि प्रिन्ट गर्न सक्छन्। सीबीपी लिंक मोबाइल एपबाट पनि आफ्नो हालको आई–९४ विवरण र अमेरिकामा बस्न अनुमति दिइएको अन्तिम मिति हेर्न सकिन्छ।

स्थल सीमा नाकाबाट अमेरिका प्रवेश गर्ने योजना भएका यात्रुले अस्थायी आई–९४ का लागि अग्रिम आवेदन दिनसमेत उक्त एप प्रयोग गर्न सक्छन्।

सीबीपीले विशेषगरी हवाई वा समुद्री मार्गबाट अमेरिका प्रवेश गरी स्थलमार्गबाट बाहिरिने र पछि पुनः अमेरिका फर्किने योजना बनाएका यात्रुलाई आफ्नो अघिल्लो प्रस्थानको प्रमाण सुरक्षित राख्न आग्रह गरेको छ। प्रस्थान विवरण विद्युतीय अभिलेखमा नदेखिए पनि आफूसँग भएका कागजातले अमेरिका छाडेको मिति पुष्टि गर्न सहयोग गर्न सक्ने निकायको भनाइ छ।

यससम्बन्धी थप जानकारी सीबीपीको आधिकारिक आई–९४ अटोमेसन तथ्यपत्र र सीबीपी लिंक मोबाइल एपको जानकारी पृष्ठमा उपलब्ध छ।

लेखक किशोर पन्थी

किशोर पन्थी ‘खसोखास’ र ‘नेपयोर्क’ का संस्थापक तथा प्रधानसम्पादक हुन्। उनी ‘कम्पन’, ‘अनट्रान्सलेटेबल’ र ‘जिरो माइल’ गरी तीन पुस्तकका लेखक हुन्। उनी सामाजिक मुद्दा, आप्रवासन र राजनीतिबारे लेख्छन्। पन्थीले न्युयोर्कलाई आफ्नो मुख्य कार्यक्षेत्र बनाउँदै विगत १५ वर्षदेखि अमेरिकी-नेपाली डायस्पोरामा पत्रकारिता गरिरहेका छन्।

यस लेखकका थप समाचार →