२७ कार्तिक २०८३, शुक्रबार| Friday, November 13, 2026
अध्यागमन

अमेरिकी अध्यागमन अदालतमा नेपालीका एसाइलम स्वीकृति २३ वर्षयताकै न्यून, अस्वीकृति ऐतिहासिक उच्च

आर्थिक वर्ष सन् २०२६ मा ५८ नेपालीले मात्र पाए एसाइलम, ४५८ जनाको आवेदन अस्वीकृत; अघिल्लो वर्षको तुलनामा एसाइलम स्वीकृतिमा ८१ प्रतिशत गिरावट

अमेरिकाको अध्यागमन अदालतबाट नेपाली आवेदकहरूले एसाइलम ( शरण) पाउने संख्या आर्थिक वर्ष २०२६ मा सन् २००३ यताकै न्यून स्तरमा झरेको छ। अर्कोतर्फ, एसाइलम आवेदन अस्वीकृत हुने नेपालीको संख्या अहिलेसम्मकै उच्च पुगेको छ। यसैबीच, अमेरिकाभरका अध्यागमन अदालतहरूले मुद्दा टुंग्याउने गति बढाउँदा लगातार दोस्रो वर्ष विचाराधीन मुद्दाको संख्या पनि घटेको छ।

ट्रान्ज्याक्सनल रेकर्ड्स एक्सेस क्लियरिङहाउसका तथ्यांकअनुसार, आर्थिक वर्ष २०२६ मा अमेरिकी अध्यागमन न्यायाधीशहरूले ५८ जना नेपाली आवेदकलाई मात्र एसाइलम प्रदान गरेका छन्। आर्थिक वर्ष २०२५ मा यो संख्या ३०४ थियो। एक वर्षमै एसाइलम स्वीकृत हुने नेपालीको संख्या करिब ८१ प्रतिशतले घटेको हो।

सन् २००३ मा ५७ जना नेपालीले अमेरिकी अध्यागमन अदालतबाट एसाइलम पाएका थिए। त्यसयता २०२६ मा रेकर्ड भएको ५८ जनाको संख्या सबैभन्दा कम हो।

अध्यागमन अदालतमा नेपालीका एसाइलम आवेदन अस्वीकृत हुने संख्या आर्थिक वर्ष २०२५ को ३१८ बाट बढेर २०२६ मा ४५८ पुगेको छ। यो ट्रान्ज्याक्सनल रेकर्ड्स एक्सेस क्लियरिङहाउसले उपलब्ध गराएको सन् २००१ देखि २०२६ सम्मको वार्षिक तथ्यांक शृंखलामै सबैभन्दा उच्च संख्या हो।

त्यस्तै, एसाइलमबाहेक अन्य प्रकारका कानुनी राहत पाउने नेपालीको संख्या ६७ बाट घटेर ४० मा झरेको छ। अर्कोतर्फ, अमेरिकी अध्यागमन अदालतको तथ्यांक अनुसार आर्थिक वर्ष २०२६ को अन्त्यसम्म देशभर विचाराधीन अध्यागमन मुद्दाको संख्या ३३ लाख ७ हजार ९९३ पुगेको छ। आर्थिक वर्ष २०२५ मा यो संख्या ३७ लाख २२ हजार ५३४ थियो। एक वर्षमा विचाराधीन मुद्दा करिब ११.३ प्रतिशतले घटेको हो। यी तथ्यांक अक्टोबर २२ मा तयार पारिएका हुन्।

नेपालीका एसाइलमसम्बन्धी २६ वर्षको तथ्यांक

सन् २००१ देखि २०२६ सम्मको तथ्यांकले अमेरिकी अध्यागमन अदालतमा नेपाली आवेदकहरूको एसाइलमसम्बन्धी निर्णयमा पछिल्ला वर्षहरूमा उल्लेखनीय परिवर्तन देखाउँछ।

आर्थिक वर्षएसाइलम स्वीकृतएसाइलम अस्वीकृतअन्य राहत स्वीकृतकुल निर्णय
२००१३१२११५३
२००२३७२३१६१
२००३५७३३१९१
२००४९३४५३१४१
२००५८५६०—१४५
२००६१६५७०—२३५
२००७१३१८०२२१३
२००८१५४६६१२२१
२००९१७२८१२२५५
२०१०२३११०४६३४१
२०११३२७१७१११५०९
२०१२४०८१३३७५४८
२०१३४१११३२१०५५३
२०१४३२९१३१४४६४
२०१५२७९८६६३७१
२०१६२९५७०५३७०
२०१७३२२९८२४२२
२०१८४८५१४८६६३९
२०१९६५७२४५१०९१२
२०२०३५९१२५१५४९९
२०२११८९३३६२२८
२०२२५४८११४१२६७४
२०२३६७५१३३२६८३४
२०२४५४०१३४२७७०१
२०२५३०४३१८६७६८९
२०२६५८४५८४०५८३

स्रोत: ट्रान्ज्याक्सनल रेकर्ड्स एक्सेस क्लियरिङहाउस

लगातार तीन वर्ष घट्यो एसाइलम स्वीकृत हुने संख्या

ट्रान्ज्याक्सनल रेकर्ड्स एक्सेस क्लियरिङहाउसको ऐतिहासिक तथ्यांकअनुसार, नेपाली आवेदकले सबैभन्दा धेरै एसाइलम पाएको वर्ष आर्थिक वर्ष २०२३ हो। उक्त वर्ष अमेरिकी अध्यागमन न्यायाधीशहरूले ६७५ जना नेपालीलाई एसाइलम दिएका थिए।

खसोखासका समाचार नछुटाउनुहोस्Follow Khasokhas for immigration, green card, tax and community news.Facebook मा Follow गर्नुहोस् →

तर त्यसपछिका तीन आर्थिक वर्षमा एसाइलम स्वीकृत हुने संख्या लगातार घटेको छ। आर्थिक वर्ष २०२३मा ६७५ जना, आर्थिक वर्ष २०२४ मा ५४० जना, आर्थिक वर्ष २०२५ मा ३०४ जना, आर्थिक वर्ष २०२६मा ५८ जनाले एसाइलम पाएका छन्।

यसको विपरीत, एसाइलम अस्वीकृत हुने संख्या बढेको छ। आर्थिक वर्ष २०२३ मा १३३ जना नेपालीको एसाइलम आवेदन अस्वीकृत भएको थियो। २०२४ मा १३४, २०२५ मा ३१८ र २०२६ मा ४५८ जनाको आवेदन अस्वीकृत भएको छ।

आर्थिक वर्ष २०२६ मा एसाइलम स्वीकृत वा अस्वीकृत भएका नेपालीका मुद्दालाई मात्र आधार मान्दा करिब ८८.८ प्रतिशत आवेदन अस्वीकृत भएका छन् भने ११.२ प्रतिशतले एसाइलम पाएका छन्।

आर्थिक वर्ष २०२५ मा भने एसाइलम स्वीकृत वा अस्वीकृत भएका मुद्दामध्ये ५१.१ प्रतिशत अस्वीकृत भएका थिए।

ऐतिहासिक रूपमा हेर्दा सन् २००१ मा ३१, २००२ मा ३७ र २००३ मा ५७ जना नेपालीले एसाइलम पाएका थिए। त्यसपछि एसाइलम स्वीकृत हुने संख्या बढ्दै गएर २००९ मा १७२, २०१३ मा ४११ र २०१९ मा ६५७ पुगेको थियो।

सन् २०२० मा ३५९ र २०२१ मा १८९ मा झरेको एसाइलम स्वीकृत संख्या २०२२ मा ५४८ हुँदै २०२३ मा ६७५ पुगेको थियो। तर त्यसपछि फेरि तीव्र गिरावट आएको छ।

२६ वर्षमा ७ हजारभन्दा बढी नेपालीले पाए एसाइलम

आर्थिक वर्ष २००१ देखि २०२६ सम्मको २६ वर्षको अवधिमा अमेरिकी अध्यागमन अदालतमा नेपाली आवेदकसँग सम्बन्धित कुल १० हजार ७५२ वटा एसाइलम तथा अन्य राहतसम्बन्धी निर्णय भएका छन्।

ट्रान्ज्याक्सनल रेकर्ड्स एक्सेस क्लियरिङहाउसको समग्र तथ्यांकअनुसार २६ वर्षको अवधिमा ७ हजार ३४२ जनाले एसाइलम पाएका छन्। ३ हजार १३९ जनाको एसाइलम आवेदन अस्वीकृत भएको छ। २७१ जनाले एसाइलमबाहेक अन्य कानुनी राहत पाएका छन्।

कुल निर्णयमध्ये करिब ६८.३ प्रतिशत एसाइलम स्वीकृतिका, २९.२ प्रतिशत अस्वीकृतिका र २.५ प्रतिशत अन्य कानुनी राहतका निर्णय हुन्।

एसाइलम स्वीकृत र अस्वीकृत भएका मुद्दालाई मात्र गणना गर्दा २६ वर्षको अवधिमा नेपाली आवेदकको करिब ७०.१ प्रतिशत मुद्दामा एसाइलम स्वीकृत भएको देखिन्छ। तर आर्थिक वर्ष २०२६ मा यो अनुपात घटेर ११.२ प्रतिशतमा सीमित भएको छ।

अमेरिकी अध्यागमन अदालत

२६ वर्षको अवधिमा नेपालीको एसाइलम स्वीकृति दर राष्ट्रिय औसतभन्दा दोब्बर

अमेरिकाभरका अध्यागमन अदालतमा आर्थिक वर्ष २००१ देखि २०२६ सम्म एसाइलमसम्बन्धी कुल ११ लाख ३५ हजार ८९७ वटा निर्णय भएका छन्।

तीमध्ये ३ लाख ९१ हजार ४९६ जनाले एसाइलम पाएका छन् भने ६ लाख ९३ हजार ३८८ जनाको आवेदन अस्वीकृत भएको छ। त्यस्तै, ५१ हजार १३ जनाले एसाइलम बाहेक अन्य प्रकारका कानुनी राहत पाएका छन्।

यी तीन प्रकारका निर्णयलाई आधार मान्दा राष्ट्रिय स्तरमा करिब ३४.५ प्रतिशतले एसाइलम पाएका छन्। करिब ६१ प्रतिशतको आवेदन अस्वीकृत भएको छ भने ४.५ प्रतिशतले अन्य कानुनी राहत पाएका छन्।

यसको तुलनामा सोही अवधिमा नेपाली आवेदकसँग सम्बन्धित निर्णयमध्ये ६८.३ प्रतिशतमा एसाइलम स्वीकृत भएको छ। २९.२ प्रतिशत अस्वीकृत भएका छन् भने २.५ प्रतिशतले अन्य कानुनी राहत पाएका छन्।

यसरी २६ वर्षको समग्र अवधिमा अमेरिकी अध्यागमन अदालतमा नेपाली आवेदकको एसाइलम स्वीकृति अनुपात राष्ट्रिय औसतभन्दा उल्लेखनीय रूपमा उच्च देखिन्छ।तर पछिल्लो आर्थिक वर्षको तथ्यांकले भने फरक अवस्था देखाएको छ।

आर्थिक वर्ष २०२६ मा नेपाली र राष्ट्रिय एसाइलम परिणामको तुलना

आर्थिक वर्ष २०२६ मा अमेरिकाभरका अध्यागमन अदालतले एसाइलम तथा अन्य कानुनी राहतसम्बन्धी कुल १ लाख ५८ हजार ५१३ वटा निर्णय गरेका छन्। तीमध्ये १ लाख ३८ हजार ८८९ जनाको एसाइलम आवेदन अस्वीकृत भएको छ। १० हजार ५१६ जनाले एसाइलम पाएका छन्। ९ हजार १०८ जनाले अन्य प्रकारका कानुनी राहत पाएका छन्।

कुल निर्णयमध्ये करिब ८७.६ प्रतिशत एसाइलम आवेदन अस्वीकृत भएका छन्। ६.६ प्रतिशतले एसाइलम पाएका छन् भने ५.७ प्रतिशतले अन्य कानुनी राहत पाएका छन्।

त्यही वर्ष नेपाली आवेदकका हकमा ५८ जनाले एसाइलम पाएका छन्, ४५८ जनाको आवेदन अस्वीकृत भएको छ र ४० जनाले अन्य कानुनी राहत पाएका छन्।

एसाइलम स्वीकृत र अस्वीकृत भएका मुद्दालाई मात्र आधार मान्दा नेपालीको एसाइलम स्वीकृति अनुपात ११.२ प्रतिशत छ। यो राष्ट्रिय औसत ६.६ प्रतिशतभन्दा बढी हो।

मासिक तथ्यांकमा पनि एसाइलम स्वीकृति न्यून

ट्रान्ज्याक्सनल रेकर्ड्स एक्सेस क्लियरिङहाउसको मासिक तथ्यांकअनुसार, आर्थिक वर्ष २०२६ को पहिलो महिनादेखि अन्तिम महिनासम्म नेपालीलाई एसाइलम दिने निर्णयको संख्या न्यून रहेको छ।

महिनाएसाइलम स्वीकृत
अक्टोबर २०२५१६
नोभेम्बर २०२५६
डिसेम्बर २०२५७
जनवरी २०२६५
फेब्रुअरी २०२६१
मार्च २०२६१
अप्रिल २०२६६
मे २०२६१
जुन २०२६३
जुलाई २०२६५
अगस्ट २०२६४
सेप्टेम्बर २०२६३
जम्मा५८

मासिक तथ्यांकअनुसार, अक्टोबर २०२५ मा सबैभन्दा धेरै १६ जना नेपालीले एसाइलम पाएका थिए। त्यसपछि कुनै पनि महिनामा एसाइलम पाउने नेपालीको संख्या ६ भन्दा बढी छैन।

फेब्रुअरी, मार्च र मे २०२६ मा प्रत्येक महिना एक–एक जना नेपालीले मात्र एसाइलम पाएका थिए।

यी मासिक निर्णयहरूको कुल संख्या ५८ छ, जुन आर्थिक वर्ष २०२६ को वार्षिक तथ्यांकसँग मेल खान्छ। यसमा पनि युएससीआईएसबाट स्वीकृत भएका एसाइलम आवेदन समावेश छैनन्।

मुद्दा टुंग्याउने गति बढ्दा अध्यागमन अदालतको ब्याकलग घट्यो

नेपाली आवेदकको एसाइलम स्वीकृतिमा गिरावट आएको वर्ष अमेरिकाभरका अध्यागमन अदालतमा भने मुद्दा टुंग्याउने गति बढेको छ।

अध्यागमन अदालतका अनुसार, आर्थिक वर्ष २०२६ मा अमेरिकी अध्यागमन अदालतहरूले ९ लाख ७३ हजार ६६९ वटा मुद्दा टुंग्याएका छन्। आर्थिक वर्ष २०२५ मा यो संख्या ७ लाख ९८ हजार ९७५ थियो। एक वर्षमा मुद्दा टुंग्याउने संख्या करिब २१.९ प्रतिशतले बढेको हो।

तर नयाँ दर्ता हुने मुद्दाको संख्या भने घटेको छ। आर्थिक वर्ष २०२५ मा ५ लाख ६२ हजार ३७६ नयाँ मुद्दा दर्ता भएका थिए। आर्थिक वर्ष २०२६ मा यो संख्या घटेर ५ लाख २८ हजार ८८९ पुगेको छ। यो करिब ६ प्रतिशतको गिरावट हो।

नयाँ मुद्दा दर्ता हुने संख्या घट्नु र अदालतले टुंग्याउने मुद्दाको संख्या बढ्नुले विचाराधीन मुद्दाको संख्या घटाउन सहयोग गरेको छ।

आर्थिक वर्ष २०२६ मा मात्र विचाराधीन मुद्दाको संख्या ४ लाख २१ हजार ७४१ ले घटेको छ।

आर्थिक वर्ष २०२४ मा विचाराधीन मुद्दाको संख्या ३९ लाख २४ हजार ९१७ पुगेको थियो। त्यसको तुलनामा आर्थिक वर्ष २०२६ को अन्त्यसम्म यो संख्या ६ लाख २४ हजार १२४ अर्थात् करिब १५.९ प्रतिशतले घटेको छ।

तर अदालतमा अझै पनि ३३ लाखभन्दा बढी मुद्दा विचाराधीन छन्। यो आर्थिक वर्ष २०१७ मा रहेको ९ लाख ७५ हजार ९९९ मुद्दाको तुलनामा तीन गुणाभन्दा बढी हो।

अध्यागमन अदालतमा विचाराधीन मुद्दाको संख्या सन् २०१७ देखि २०२४ सम्म प्रत्येक वर्ष बढेको थियो। त्यसपछि २०२५ र २०२६ मा लगातार दुई वर्ष घटेको हो।

नयाँ मुद्दा दर्ता हुने संख्या आर्थिक वर्ष २०२४ मा १७ लाख ८३ हजार ९०८ पुगेको थियो। त्यसपछि तीव्र रूपमा घटेको हो।

त्यस्तै, आर्थिक वर्ष २०२१ मा १ लाख १५ हजार ९६८ मा झरेको मुद्दा टुंग्याउने संख्या त्यसपछिका वर्षमा बढ्दै गएको छ। आर्थिक वर्ष २०२६ मा यो संख्या सन् २०१७ देखि २०२६ सम्मको अवधिमै सबैभन्दा उच्च पुगेको अध्यागमन अदालतको तथ्यांकले देखाउँछ।

(यस समाचारमा प्रस्तुत एसाइलमसम्बन्धी तथ्यांक अमेरिकी अध्यागमन अदालतका निर्णयमा आधारित छन्। युएससीआईएसबाट स्वीकृत भएका एसाइलम आवेदन समावेश नभएकाले यी तथ्यांकलाई अमेरिकामा रहेका सम्पूर्ण नेपाली एसाइलम आवेदकको स्वीकृति दरका रूपमा लिनु हुँदैन।)

लेखक किशोर पन्थी

किशोर पन्थी ‘खसोखास’ र ‘नेपयोर्क’ का संस्थापक तथा प्रधानसम्पादक हुन्। उनी ‘कम्पन’, ‘अनट्रान्सलेटेबल’ र ‘जिरो माइल’ गरी तीन पुस्तकका लेखक हुन्। उनी सामाजिक मुद्दा, आप्रवासन र राजनीतिबारे लेख्छन्। पन्थीले न्युयोर्कलाई आफ्नो मुख्य कार्यक्षेत्र बनाउँदै विगत १५ वर्षदेखि अमेरिकी-नेपाली डायस्पोरामा पत्रकारिता गरिरहेका छन्।

यस लेखकका थप समाचार →