जलवायु परिवर्तन र विस्थापन: ९ करोड शरणार्थीको भविष्य अन्योलमा
प्रकाशित मिति : १९ कार्तिक २०८३, बिहिबार
Photo: Davi Mendes/Unsplash
जलवायु परिवर्तनका कारण निम्तिएका खडेरी, बाढी र अत्यधिक गर्मी जस्ता चरम मौसमको जोखिम झेलिरहेका देशहरूमा विश्वका करिब ९ करोड जबर्जस्ती विस्थापित मानिसहरू बसोबास गरिरहेका छन्। संयुक्त राष्ट्रसङ्घीय शरणार्थी निकायले शुक्रबार एक प्रतिवेदन सार्वजनिक गर्दै टर्कीको एन्तालियामा हुन गइरहेको ‘कोप३१’ जलवायु सम्मेलनअघि यस्ता संवेदनशील समुदायहरूलाई अनुकूलनका लागि सहयोग पुर्याउन थप वित्तीय बजेटको आवश्यकता रहेको चेतावनी दिएको छ।
यूएनएचसीआरको प्रतिवेदनअनुसार अफगानिस्तान र बङ्गलादेश जस्ता जलवायुसम्बन्धी गम्भीर जोखिममा रहेका देशहरूमा विश्वका करिब तीन-चौथाइ विस्थापित मानिसहरू बसोबास गर्छन्। यस प्रतिवेदनले द्वन्द्व, विस्थापन र जलवायु परिवर्तन बीचको प्रत्यक्ष सम्बन्धलाई उजागर गरेको छ।
यूएनएचसीआरका सञ्चालन सहायक उच्चायुक्त एन्टोनियो लेइस गार्सियाले भने, “अति संवेदनशील र विस्थापनबाट प्रभावित क्षेत्रहरूमा जलवायु अनुकूलन भनेको जीवन र मृत्युको विषय हो। जहाँ आवश्यकता सबैभन्दा बढी छ, त्यहाँसम्म जलवायु वित्त पुग्नु आवश्यक छ।”
प्रतिवेदनमा पूर्वी चाडको फार्छाना शरणार्थी शिविरमा बसोबास गर्दै आएकी एक सुदानी शरणार्थीको अनुभवलाई उदाहरणका रूपमा प्रस्तुत गरिएको छ, जो जुन २०२३ मा अल-फासिरको द्वन्द्वबाट भागेर त्यहाँ पुगेकी थिइन्। उनले बढ्दो गर्मीका कारण नजिकैका मौसमी नदीहरू सुक्दै गएकाले पिउने पानी नपाएर हप्ताभरि बिताउनुपरेको र पानीका अन्य विकल्पहरू खोज्न लामो दूरी पैदल हिँड्नुपरेको बताएकी छन्।
जलवायु परिवर्तनका कारण विस्थापित मानिसहरूलाई आफ्ना गृहनगरमा दिगो रूपमा फर्कन कठिन भइरहेको चेतावनी पनि प्रतिवेदनले दिएको छ। सन् २०२६ को पहिलो आधा अवधिमा, दुई-तिहाइभन्दा बढी शरणार्थीहरू उच्च जलवायु जोखिम भएका देशहरूमा फर्किएका छन्, जसले गर्दा उनीहरू पुन: विस्थापित हुने जोखिम बढेको छ।
सिरियामा, जहाँ हालै करिब ४० लाख विस्थापित मानिसहरू फर्किएका छन्, त्यहाँ पानीको अभाव र अनियमित वर्षाको समस्या कायमै छ। साथै गत मे महिनामा युफ्रेट्स नदीमा आएको बाढीले हजारौँ मानिसलाई पुनः विस्थापित बनाएको थियो।
यसैगरी, उप-सहारा अफ्रिकामा सन् २०५० सम्ममा प्रत्येक तीन शरणार्थी शिविरमध्ये एउटाले वर्षमा कम्तीमा १०० दिन खतरनाक गर्मीको सामना गर्नुपर्ने हुनसक्छ, जसले उनीहरूको स्वास्थ्य र जीविकोपार्जनमा गम्भीर असर पार्नेछ। इथियोपियाका हेलावेन लगायतका केही शिविरहरूमा यस्तो अत्यधिक गर्मी वर्षको २०० दिनभन्दा बढी रहन सक्ने अनुमान छ। “शरणार्थीहरूसँग शीतलता, पानी र भरपर्दो ऊर्जामा सीमित पहुँच हुने भएकाले उनीहरूलाई खतरनाक तापमानबाट जोगिन गाह्रो हुन्छ,” प्रतिवेदनमा भनिएको छ।
यूएनएचसीआरले शक्तिशाली ‘एल निनियो’ को पूर्वानुमानले धेरै शरणार्थी-आश्रयदाता देशहरूमा थप विस्थापन बढाउन सक्ने चेतावनी दिएको छ। पूर्वी अफ्रिकामा तीव्र बाढीका कारण सोमालिया, केन्या, दक्षिण सुडान र युगान्डामा यो वर्षको अन्त्यसम्ममा ३० लाख मानिस विस्थापित हुन सक्ने अनुमान छ।
यसैबीच, संयुक्त राष्ट्रसङ्घको अर्को छुट्टै प्रतिवेदनले चरम मौसमी घटनाहरू बढे पनि विकासोन्मुख राष्ट्रहरूलाई जलवायु अनुकूलनका लागि आवश्यक पर्ने वार्षिक ३०५ अर्ब डलर जुटाउन धनी देशहरू असफल भइरहेको देखाएको छ।





