अमेरिकाको होमल्यान्ड सेक्युरिटीमा ठूलो डेटा लिक: अध्यागमन एजेन्ट र गुप्त अपरेसनका विवरण सार्वजनिक
प्रकाशित मिति : ११ कार्तिक २०८३, बुधबार
फोटो: होमल्याण्ड सेक्युरिटी
अमेरिकाको डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीमा कार्यरत ४१,००० भन्दा बढी कर्मचारीहरूको व्यक्तिगत तथा कार्यगत विवरण सार्वजनिक रूपमा लिक भएको छ। सार्वजनिक भएका विवरणहरूमा अध्यागमन कानुन कार्यान्वयनमा खटिएका हजारौँ एजेन्ट तथा अधिकारीहरूको नाम, कार्यस्थलको ठेगाना, फोन नम्बर र उनीहरूले गर्ने कामको विस्तृत विवरण समावेश छ।
अमेरिकी सरकारी निकायहरूलाई लक्षित गरी हालैका साताहरूमा भएको यो तेस्रो ठूलो ह्याकिङ वा डेटा लिकको घटना हो।
डिएचएसका प्रवक्ताले सम्भावित डेटा उल्लंघनबारे मन्त्रालय जानकार रहेको र स्थिति द्रुत तथा प्रभावकारी रूपमा नियन्त्रणमा लिन सक्रियताका साथ काम भइरहेको बताएका छन्। हामी हाम्रा कर्मचारी र अधिकारीहरूविरुद्धका सबै सुरक्षा खतराहरूलाई गम्भीरताका साथ लिन्छौँ र सबैको उचित सुरक्षा सुनिश्चित गर्न काम गर्नेछौँ,प्रवक्ताले भने, थप जानकारी प्राप्त हुनासाथ सार्वजनिक गरिनेछ।
कर्मचारीहरूको विवरण अनलाइनमार्फत सार्वजनिक गरिएको हो। डिपार्टमेन्ट अफ पिस नामक समूहले डिएचएसबाट ती सूचनाहरू पहुँचमा लिएको थियो भने पत्रकार तथा साइबर सुरक्षा अनुसन्धानकर्ता माइया क्रिम्यु र डिस्ट्रिब्युटेड डिनायल अफ सिक्रेट्स नामक वेबसाइटले उक्त तथ्याङ्क अनलाइनमा उपलब्ध गराएका हुन्। सार्वजनिक गरिएको सो तथ्याङ्कलाई आइसपिकनामको डाटाबेसमा राखिएको छ।
सार्वजनिक विवरण अनुसार लिक भएका कुल डेटामध्ये २१,००० भन्दा बढी अधिकारीहरू भन्सार तथा सीमा सुरक्षामा कार्यरत छन् भने करिब ६,६०० जना आइसका एजेन्ट हुन्। यसबाहेक होम्ल्यान्ड सेक्युरिटी इन्भेस्टिगेशन्स, फेडरल प्रोटेक्टिभ सर्भिस र साइबर सेक्युरिटी एन्ड इन्फ्रास्ट्रक्चर सेक्युरिटी एजेन्सीका कर्मचारीहरूको विवरण पनि यसमा समावेश छ।
साथै, उक्त लिकमा यसअघि सार्वजनिक नभएका दर्जनौ गुप्त अपरेसनका नामहरू, ती अपरेसनको नेतृत्व र कार्य गर्ने एजेन्टहरू तथा उनीहरूले प्रयोग गरेका सेलड्राइटर पालान्टिर जस्ता प्रविधि कम्पनीका औजारहरूको विवरणसमेत खोलिएको छ।
डीडीओ सेक्रेट्सकी सह-संस्थापक एमा बेस्टका अनुसार यस लिकको उद्देश्य सबै डिएचएस एजेन्टहरूको सूची बनाउनु नभई गोप्य रहनुको साटो जवाफदेहिता कायम गराउनु हो। यो लिक असाधारण र सरल देखिन्छ, तर यसले गोप्य तथा अन्डरकभर अपरेसनका अधिकारीहरू, सूचना लिक गर्नेहरूको खोजीमा खटिएका टोली र असफल ब्लुलिक्स अनुसन्धानका साथै निष्कासन कार्यक्रमका मुख्य व्यक्तिहरूलाई पहिचान गराएको छ, बेस्टले थपिन्।
डिपार्टमेन्ट अफ पिसका प्रवक्ताले भने आइस एजेन्टहरूका हालैका गतिविधिहरूका कारण आफूहरूले डिएचएसको रेकर्ड ह्याक गरेको बताएका छन्।
उक्त समूहले ओक्टानामक ‘सिंगल साइन-अन’ सेवामार्फत डिएचएस एजेन्टहरूका प्रोफाइलहरूमा पहुँच पुर्याएको दाबी गरेको छ। यद्यपि, ओक्टाका प्रवक्ताले आफ्नो कम्पनी सुरक्षित रहेको र प्रणाली ह्याक भएको कुनै प्रमाण नभेटिएको बताएकी छन्।
यसअघि गत महिना साइनीहन्टर्स नामक समूहले एफबीआइको डेटा ह्याक गरी हजारौँ एजेन्टहरूको व्यक्तिगत विवरण चोरेको थियो भने हालैका दिनहरूमा फेडरल इलेक्सन कमिसनको वेबसाइट पनि ह्याकिङ प्रयासका कारण बन्द भएको थियो।
ट्रम्प प्रशासनले गैरकानुनी रूपमा बसोबास गरिरहेका मानिसहरूलाई पक्राउ र निष्कासन गर्ने क्रम तीव्र पारेपछि अमेरिकामा अध्यागमन टोलीविरुद्ध जनआक्रोश बढ्दो छ। यस वर्ष भएका अध्यागमन कारबाहीका क्रममा दुई दर्जनभन्दा बढी मानिसमाथि गोली प्रहार भएको छ भने कम्तीमा ९ जनाको मृत्यु भइसकेको छ।
यी घटनाहरूमा मिनेसोटामा आइस एजेन्टको गोलीबाट मारिएका एलेक्स प्रेटी र रेने गुडको उच्च-प्रोफाइल मृत्युसमेत समावेश छ, जो पक्राउ सूचीमा थिएनन्।आइस एजेन्टहरूले अनुहार ढाकेर र मास्क लगाएर कारबाही गर्ने गरेका छन् र कानुन अनुसार परिचय खुलाउनुपर्ने भए पनि उनीहरूले विरलै आफ्नो परिचय दिने गरेका छन्। माईग्रेसन पोलिसी इन्स्टिच्युटका अनुसार सन् २०२५ मा राष्ट्रपति डोनाल्ड ट्रम्प पुनः सत्तामा आएयता करिब १० लाख मानिसलाई अमेरिकाबाट निष्कासित गरिसकिएको छ, जसमा ७०% भन्दा बढीको कुनै आपराधिक पृष्ठभूमि थिएन।





