क्यालिफोर्नियाका तटीय क्षेत्रहरूमा ऐतिहासिक बाढीको जोखिम: उच्च सतर्कता अपनाउन चेतावनी
प्रकाशित मिति : ९ कार्तिक २०८३, सोमबार
Photo: Brett Wharton/ Unsplash
यसै साता क्यालिफोर्नियाका तटीय क्षेत्रहरूमा सम्भावित रेकर्ड तोड्ने समुद्री लहरका कारण आउन सक्ने बाढीलाई दृष्टिगत गर्दै व्यापक तयारी थालिएको छ। सोमबारदेखि नै पानीको सतह तीव्र रूपमा बढ्न थालेको छ।
राष्ट्रिय मौसम सेवाले बिहीबारसम्म सान डिएगो र ओरेन्ज काउन्टीमा ठूलो तटीय बाढी आउन सक्ने चेतावनी दिएको छ। यस बाढीका कारण सडकहरू बन्द हुनुका साथै घर, व्यापारिक प्रतिष्ठान र महत्त्वपूर्ण पूर्वाधारहरू जलमग्न हुन सक्ने अनुमान गरिएको छ। सान लुइस ओबिस्पोदेखि लस एन्जलस सम्मको फराकिलो तटीय क्षेत्रमा ८ फिटसम्म अग्लो लहरसहित मध्यम खालको बाढी आउन सक्नेछ। उत्तरतर्फको बे एरियामा विशेष गरी होचा तटीय क्षेत्रहरूमा २.१ फिटसम्म पानी जम्न सक्ने अधिकारीहरूले बताएका छन्।
मेरिन काउन्टीको मिल भ्यालीमा बाढीको असर स्पष्ट देखिएको छ, जहाँ डुबेका सडकहरूमा गाडीहरू अड्किएका छन् भने मानिसहरू प्याडलबोर्डको प्रयोग गरिरहेका देखिन्छन्।
सोमबार बिहानसम्म लस एन्जलसस्थित एनडब्ल्युएस कार्यालयले रेकर्डस्तरको समुद्री लहर मापन गरिएको जनाएको छ। एजेन्सीको सान पेड्रो टाइड गेजबाट प्राप्त प्रारम्भिक तथ्याङ्क अनुसार पानीको सतह ८.०२ फिट पुगेको छ, जुन नोभेम्बर १९२३ यताकै सबैभन्दा बढी हो।
उच्च लहर आएको समयमा समुद्र तटहरूमा नजानुहोस्, समुद्रबाट सामान्यभन्दा टाढा रहनुहोस्, चट्टानी पर्खाल वा जेट्टीहरूमा नचढ्नुहोस्, र बाढीको जोखिममा रहेका सम्पत्तिको सुरक्षा सुनिश्चित गर्नुहोस्, सान डिएगोस्थित एनडब्ल्युएस कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
यो अत्यधिक उच्च लहर आउनुभन्दा एक हप्ताअघि नै ओरेन्ज काउन्टीको न्युपोर्ट बीच शहरले बाढीको पूर्वतयारीका लागि स्थानीय आपतकाल घोषणा गरेको थियो। पूर्वाधारको निरीक्षण गर्न, समुद्री बालुवाका बाधहरू बलियो बनाउन तथा बालुवाका बोराहरू राख्नका लागि कर्मचारीहरू खटाइएको शहर प्रशासनले जनाएको छ। न्युपोर्ट बीचले बासिन्दाहरूलाई नि:शुल्क बालुवाका बोराहरू उपलब्ध गराउँदै आफ्ना घरवरपरका जोखिमयुक्त ठाउँहरूको निरीक्षण गर्न आग्रह गरेको छ।
एल निन्चो र केल्भिन तरंगका कारण यस क्षेत्रमा समुद्री पानीको सतह अपेक्षा गरिएभन्दा १५ देखि २२ इन्चसम्म माथि उठिसकेको न्युपोर्ट बीचका सिटी म्यानेजर साइमोन जुर्जिसले बताएका छन्।
डेढ फिट पानीको सतह बढ्नु सुन्दा ठूलो नलाग्न सक्छ, तर हाम्रो जस्तो तटीय क्षेत्रमा यसले पानी समुद्री पर्खालभित्रै रहन्छ या सडक, ग्यारेज र घरहरूमा पस्छ भन्ने कुराको ठूलो फरक पार्छ, जुर्जिसले भने।
यस महिना यस क्षेत्रमा पहिले नै चरम मौसमका घटनाहरू भइसकेका छन्, जसमा शहरका सडकहरू डुबानमा परेका थिए भने ठूला छालहरूले समुद्र तटका घरहरूमा क्षति पुर्याएका थिए। ट्रपिकल स्टर्म ‘रेचेल’को प्रभावले क्यालिफोर्नियामा घरहरूमा ठूलो क्षति पुर्याउनुका साथै बाटोहरू भत्काएको थियो र मानिसहरूलाई स्थानान्तरण हुन बाध्य पारेको थियो।
प्रशान्त महासागरमा ऐतिहासिक एल निन्चो विकसित भइरहेकाले यस हिउँदमा क्यालिफोर्नियाले अझ गम्भीर आँधीबेहरीको सामना गर्नुपर्ने अनुमान गरिएको छ।





