न्यूयोर्कको ‘स्यान्क्चुरी’ कानूनविरुद्ध ट्रम्प प्रशासनले हालेको मुद्दा अमेरिकी अदालतद्वारा खारेज


प्रकाशित मिति : २९ आश्विन २०८३, बिहिबार

Photo: David Everett Strickler/ Unsplash

एक अमेरिकी सङ्घीय न्यायाधीशले बिहीबार ट्रम्प प्रशासनद्वारा दायर गरिएको त्यो मुद्दा खारेज गरिदिएका छन्, जसले सङ्घीय अध्यागमन कार्यान्वयनमा सहयोग सीमित गर्ने न्यूयोर्क शहरको कानूनलाई रोक्न खोजेको थियो। अदालतले सरकारसँग मुद्दा हाल्ने कुनै वैद्य वा पर्याप्त आधार नभएको ठहर गरेको छ।

ब्रोकलिनस्थित अमेरिकी जिल्ला न्यायाधीश रामोन रेयेसले राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनले सङ्घीय अधिकारीहरूको अनुरोधमा प्रहरीले आप्रवासीहरूलाई हिरासतमा लिन नपाउने शहरको नियमलाई चुनौती दिन नसक्ने बताएका छन्। त्यो अभ्यास राज्यको कानूनद्वारा पहिले नै प्रतिबन्धित भइसकेकाले चुनौती दिन नमिल्ने न्यायाधीशको भनाइ छ।

न्यायाधीश रेयेसले शहरका स्थानीय अधिकारीहरूलाई आप्रवासीहरूको रिहाइ मिति, बसोबास स्थान वा अन्य हिरासतसम्बन्धी जानकारी साझा गर्न रोक लगाउने न्यूयोर्कका नियमहरू वैध रहेको पनि स्पष्ट पारेका छन्। सङ्घीय कानूनले राज्य र स्थानीय सरकारहरूलाई त्यस्ता जानकारीहरू साझा गर्न बाध्य नपार्ने अदालतको निष्कर्ष छ।

यसका साथै, सङ्घीय कानूनले न्यूयोर्क शहरका कानूनहरूलाई माथिबाट विस्थापित गर्छ भन्ने ट्रम्प प्रशासनको तर्कलाई न्यायाधीश रेयेसले अस्वीकार गरिदिए। सङ्घीय सरकारले स्थानीय सरकारहरूलाई अध्यागमन कार्यान्वयनमा सहयोग गर्न बाध्य पार्न नसक्ने फैसलामा उल्लेख छ।

ट्रम्पको ठूलो सङ्ख्यामा आप्रवासी देशनिकाला गर्ने अभियानबाट आप्रवासीहरूलाई संरक्षण दिने ‘स्यान्क्चुरी सिटी’नीतिविरुद्धको अभियानअन्तर्गत प्रशासनले जुलाई २०२५ मा न्यूयोर्कको सङ्घीय अदालतमा यो मुद्दा दायर गरेको थियो।

यस फैसलाका सम्बन्धमा अमेरिकी जस्टिस डिपार्टमेन्टले तत्काल कुनै प्रतिक्रिया दिएको छैन।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com