प्रथम एनआरएनए कप भलिबलको उपाधि रिजउडलाई, बाग्लुङ उपविजेता
प्रकाशित मिति : २६ आश्विन २०८३, सोमबार
प्रथम एनआरएनए कप भलिबल प्रतियोगिताको उपाधि जितेको न्यूयोर्क नेप्लीज सोसाइटी, रिजउडको टोली। रिजउडले फाइनलमा बाग्लुङ स्पोर्ट्स क्लबलाई ३–१ सेटले पराजित गर्दै उपाधि जितेको हो। तस्बिर: राजन काफ्ले/खसोखास
न्यूयोर्कस्थित क्वीन्सब्रिज पार्कमा आइतबार सम्पन्न प्रथम एनआरएनए कप भलिबल प्रतियोगिताको उपाधि न्यूयोर्क नेप्लीज सोसाइटी, रिजउडले जितेको छ। फाइनलमा बाग्लुङ स्पोर्ट्स क्लबलाई ३–१ सेटले पराजित गर्दै रिजउड च्याम्पियन बनेको हो।

उपाधिसँगै रिजउडले ५ हजार ५०० अमेरिकी डलर नगद, शिल्ड र मेडल प्राप्त गरेको छ भने उपविजेता बाग्लुङ स्पोर्ट्स क्लबले ३ हजार ३०० अमेरिकी डलर नगद, शिल्ड र मेडल प्राप्त गरेको छ।

एनआरएनए एनसीसी अमेरिकाको न्यूयोर्क च्याप्टरले न्यूयोर्क नेप्लीज सोसाइटीसँगको सहकार्यमा अक्टोबर ३ र ४ मा आयोजना गरेको प्रतियोगितामा आठ टोली सहभागी थिए। प्रतियोगितामा आयोजक एनआरएनए एनवाईसी, युनाइटेड शेर्पा एसोसिएसन, मेरिल्यान्ड भलिबल क्लब, न्यूयोर्क नेप्लीज सोसाइटी रिजउड, दाजुभाइ भलिबल न्यूयोर्क, पर्वत सेवा समाज न्यूयोर्क, धादिङ नेप्लीज सोसाइटी र बाग्लुङ स्पोर्ट्स क्लबले प्रतिस्पर्धा गरेका थिए। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी लिग चरणका खेलपछि सेमिफाइनल र फाइनल खेलाइएको थियो।

आइतबार भएका सेमिफाइनल खेलमा बाग्लुङ स्पोर्ट्स क्लबले मेरिल्यान्ड भलिबल क्लबलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। अर्को सेमिफाइनलमा न्यूयोर्क नेप्लीज सोसाइटी, रिजउडले पर्वत सेवा समाजलाई हराउँदै उपाधि भिडन्तमा प्रवेश गरेको थियो।
निकै प्रतिस्पर्धात्मक फाइनलको पहिलो सेट २७–२५ ले जित्दै रिजउडले अग्रता लिएको थियो। दोस्रो सेट बाग्लुङले आफ्नो पक्षमा पारेपछि खेल १–१ को बराबरीमा पुगेको थियो। त्यसपछि तेस्रो र चौथो सेट लगातार जित्दै रिजउडले उपाधि आफ्नो नाममा सुरक्षित गरेको हो।

आइतबार बिहानैदेखि परेको वर्षाले सेमिफाइनल र फाइनल खेल सञ्चालन गर्न कठिनाइ उत्पन्न गरेको थियो। वर्षाको असर खेलाडीहरूको प्रदर्शनमा समेत देखिएको थियो। बल र खेलमैदान चिप्लो हुँदा खेलाडीहरूको हातबाट बल फुत्किने र उनीहरू स्वयं मैदानमा चिप्लिने अवस्था देखिएको थियो। प्रतिकूल मौसमका बाबजुद खेललाई निरन्तरता दिँदै प्रतियोगिता सम्पन्न गरिएको थियो।

यसअघि न्यूयोर्कमा पर्वत सेवा समाजले आयोजना गरेको जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि बाग्लुङ स्पोर्ट्स क्लबले जितेको थियो। त्यस्तै, बाग्लुङ सेवा समाज न्यूयोर्क र बाग्लुङ स्पोर्ट्स क्लबको संयुक्त आयोजनामा भएको प्रतियोगितामा पर्वत ‘ए’ विजेता बनेको थियो।
बाग्लुङ स्पोर्ट्स क्लबका व्यवस्थापक विक्रम थापाले प्रतिकूल मौसम र आफ्नै खेलाडीबीच समन्वयको कमीका कारण यसपटक उपविजेतामै चित्त बुझाउनुपरेको बताए।

विजेता न्यूयोर्क नेप्लीज सोसाइटी, रिजउडको भलिबल टोली न्यूयोर्क र आसपासका प्रतियोगितामा बलियो टोलीका रूपमा रहँदै आएको छ। विगतका प्रतियोगितामा समेत उपाधि जित्दै आएको टोलीको यसपटकको सफलतामा नियमित अभ्यासको भूमिका रहेको रिजउडस्थित दुर्गा मन्दिरका अध्यक्ष तथा प्रतियोगितामा रिजउड भलिबल समूहका व्यवस्थापकका रूपमा सहभागी तुलसी आचार्यले बताए।
आचार्यका अनुसार रिजउड क्षेत्रमा नयाँ पुस्ता र युवालाई खेलकुद तथा विविध गतिविधिमा सक्रिय राख्न र उनीहरूको क्षमता विकास गर्न स्पोर्ट्स क्लब, चेस क्लब र आईटी क्लबजस्ता समूह तथा गतिविधि सञ्चालनमा छन्।

व्यक्तिगत विधातर्फ बाग्लुङ स्पोर्ट्स क्लबका जीवन परियार उत्कृष्ट खेलाडी घोषित भए भने सोही क्लबका अर्जुन खत्रीले उत्कृष्ट प्रशिक्षकको पुरस्कार प्राप्त गरे। रिजउडका सबिन थापा उत्कृष्ट सेटर, बबिन राई उदयीमान खेलाडी र विशाल घतानी उत्कृष्ट स्पाइकर घोषित भए। बाग्लुङका विजय कुँवर उत्कृष्ट ब्लकर र हरि राना उत्कृष्ट सर्भर घोषित भए। विजेता टोली र उत्कृष्ट खेलाडीहरूलाई एनआरएनए एनसीसी अमेरिकाका अध्यक्ष सतेन्द्र शाहलगायतले पुरस्कार प्रदान गरेका थिए।
प्रतियोगितामा कर्म शेर्पाले प्रथम रेफ्री र सन्देश खत्रीले द्वितीय रेफ्रीको भूमिका निर्वाह गरेका थिए। एनआरएनए युथ च्याप्टरका खेलकुद संयोजकहरू गंगा सुनार र रबिन बिडारीको संयोजकत्वमा प्रतियोगिता सम्पन्न भएको जनाइएको छ।

यसअघि सेप्टेम्बर ५ र ६ का लागि तय गरिएको प्रतियोगिता नेपालमा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण स्थगित गरिएको थियो। नेपालमा विपत्ति परेका बेला खेलकुद र मनोरञ्जनका कार्यक्रम सञ्चालन गर्नुको सट्टा बाढीपीडितलाई सहयोग गर्नेतर्फ ध्यान केन्द्रित गरिएको आयोजक संस्था एनआरएनए न्यूयोर्क च्याप्टरका अध्यक्ष बासु लामिछानेले खसोखाससँगको कुराकानीमा बताए।
बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि सुरुमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको एनआरएनएको विश्वव्यापी अभियानअन्तर्गत अक्टोबर ३ सम्म ६ करोड ६५ लाख रुपैयाँभन्दा बढी संकलन भएको विवरण सार्वजनिक गरिएको छ। त्यस्तै, एनआरएनएले करिब ६६ हजार अमेरिकी डलर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरिसकेको छ।

एनआरएनए एनसीसी अमेरिकाले पनि बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा सहयोग गर्ने उद्देश्यले ३ लाख अमेरिकी डलर संकलनको लक्ष्यसहित अभियान सञ्चालन गरेको छ। गोफन्डमीमार्फत सञ्चालित उक्त अभियान मा हालसम्म १३ हजार अमेरिकी डलरभन्दा बढी संकलन भएको छ। अभियानबाट जुटेको रकम नेपाल सरकारसँगको सहकार्यमा पहिचान गरिएका पुनर्निर्माण परियोजनामा प्रयोग गर्ने जनाइएको छ।
प्रतिकूल मौसमका बाबजुद प्रतियोगिता सफल भएको अध्यक्ष लामिछानेले बताए। प्रतियोगितालाई अझ व्यापक बनाउँदै आगामी वर्षहरूमा पनि निरन्तरता दिन संस्थाको वार्षिक कार्यतालिकामै समावेश गर्ने विषयमा छलफल भइरहेको उनले जानकारी दिए।
प्रतियोगिताका क्रममा पार्कमा नेपाली स्वादका परिकार बिक्री गर्ने स्टलहरू पनि राखिएका थिए। स्थानीय कलाकारहरूको सांस्कृतिक तथा सांगीतिक प्रस्तुति र खसीसहितको दसैँ बम्पर उपहार कार्यक्रमले प्रतियोगिताको माहोललाई थप मनोरञ्जनात्मक बनाएको थियो।





