अमेरिकामा नयाँ विद्युतीय पञ्जाको प्रभावकारिता र सुरक्षाबारे प्रश्न: सैन्य अध्ययनको निष्कर्ष


प्रकाशित मिति : २१ आश्विन २०८३, बुधबार

तस्वीर : आइस

अमेरिकी आइसका एजेन्टहरूले बन्दी र प्रदर्शनकारीहरूलाई नियन्त्रणमा लिन प्रयोग गर्न सक्ने विद्युतीय झटका दिने पञ्जाले अत्यधिक पीडा दिने, तुरुन्तै प्रतिरोध रोक्ने र मानिसहरूमा थप झट्का पाइने डर सृजना गर्ने अमेरिकी सेनाको एक अप्रकाशित अध्ययनले देखाएको छ।

‘अमेरिकन ओभरसाइट’ नामक निगरानी संस्थाले सूचनाको हक सम्बन्धी मुद्दा मार्फत प्राप्त गरेको कागजात अनुसार, आइसका अधिकारीहरूलाई गत अगस्टमा ६,००० जोडी विद्युतीय पञ्जा खरिद गर्न १ करोड ६७ लाख डलरको सम्झौता गर्नुअघि नै यो अध्ययनबारे जानकारी थियो।

अक्टोबर २०२४ मा कान्सासस्थित फोर्ट लिभनवर्थ सैन्य कारागारमा गरिएको एक अभ्यासका क्रममा विद्रोही कैदीको भूमिका निभाएका सैन्य कर्मचारीहरूमा यसको गम्भीर प्रभाव परेको देखिएको थियो। सुरक्षाकर्मीले ती पञ्जा छालामा छुवाएर झट्का दिने बित्तिकै आक्रामक मानिसहरूले पनि सेकेन्डभरमै प्रतिरोध गर्न छोडेका थिए। अध्ययन अनुसार, सहभागीहरूमा “थकाइ, शरीर दुख्ने र पुनः झट्का खाइने अत्यधिक डर” उत्पन्न भएको थियो।

अध्ययनका लेखकहरूले लेखेका छन्, “पञ्जाको प्रभाव अनुभव गरेपछि, सहभागीहरूले यो पञ्जा देख्नु मात्रै पनि आज्ञापालन वा आत्मसमर्पण गर्न पर्याप्त भएको बताएका थिए।”

आइसले भने यी पञ्जाहरूलाई “ध्यान मोड्ने र परिस्थिति शान्त पार्ने उपकरण”भन्दै पक्राउ, देश निकाला र अशान्ति मच्चाउने प्रदर्शनकारीहरूलाई नियन्त्रणमा लिन अन्य घातक विकल्पहरू भन्दा सुरक्षित हुने दाबी गरेको छ। एजेन्सीका अनुसार यसले अधिकारीहरूलाई सुरक्षित राख्ने र सम्भावित घातक बल प्रयोग हुनबाट जोगाउनेछ।

तर आलोचक तथा मानवअधिकारवादीहरूले आइसलाई मानिसहरूलाई डराउन र यातना दिन अर्को हतियार मिल्ने चेतावनी दिएका छन्। यी पञ्जाहरू प्रयोग गर्न सजिलो भएको, यसले शरीरमा कुनै बाहिरी दाग वा छाप नछाड्ने र जेल बाहिर खासै परीक्षण नभएको उनीहरूको भनाइ छ। स्वयम् निर्माता कम्पनीले पनि बालबालिका, गर्भवती महिला वा अपाङ्गता भएका व्यक्तिहरू जस्ता उच्च जोखिममा रहेका समूहहरूमा यसको प्रयोग नगर्न चेतावनी दिएको छ।

आइसको आफ्नै फाइलमा रहेको सैन्य मूल्याङ्कनले यो पञ्जाले ‘तीव्र पीडा’ दिन सक्ने देखाउँछ। तर यसले यो उपकरण सुरक्षित छ भन्ने पुष्टि गर्दैन,” अमेरिकन ओभरसाइटकी कार्यकारी निर्देशक चियोमा चुक्वुले भनिन्।

अध्ययनका अनुसार विद्युतीय झट्काले ‘टेजर’ जस्तो शरीरलाई पूरै चिसो वा निष्क्रिय बनाउँदैन, बरु छालाको स्नायु प्रणालीमा अत्यधिक प्रभाव पारेर तीव्र पीडा उत्पन्न गराउँछ। छाला भिज्दा वा तेल लाग्दा यसको प्रभाव अझ शक्तिशाली र लामो समयसम्म रहने अध्ययनले देखाएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com