नेपालको बाढी प्रभावित समुदायका लागि यूएईले थप २५ मिलियन डलर सहयोग गर्ने
प्रकाशित मिति : १० आश्विन २०८३, शनिबार
संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि यूएईको स्थायी नियोगमा यूएईका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री शेख अब्दुल्लाह बिन जायद अल नह्यानसँग भेटवार्ता गर्दै नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल। फोटो: राजन काफ्ले/खसोखास
न्युयोर्क — संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपालका बाढी प्रभावित समुदायका लागि थप २५ मिलियन अमेरिकी डलर आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि यूएईको स्थायी नियोगमा भएको भेटवार्तामा नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र यूएईका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री शेख अब्दुल्लाह बिन जायद अल नह्यानबीच यस विषयमा छलफल भएको हो।
भेटमा मन्त्री खनालले नेपालमा जलवायुजन्य विनाशकारी बाढीबाट प्रभावित समुदायका लागि यूएई सरकार र जनताले व्यक्त गरेको सहानुभूति तथा ऐक्यबद्धताप्रति नेपाल सरकार र नेपाली जनताको तर्फबाट प्रशंसा तथा आभार व्यक्त गर्नुभयो।
खनालले बाढी प्रभावित समुदायका लागि यूएईले प्रदान गरेको महत्वपूर्ण मानवीय सहयोगप्रति समेत धन्यवाद व्यक्त गर्दै थप २५ मिलियन अमेरिकी डलर आर्थिक सहयोग गर्ने पछिल्लो प्रतिबद्धताको स्वागत गर्नुभयो।

भेटमा दुवै नेताले नेपाल र यूएईबीचको निकट तथा सहकार्यात्मक द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल गर्नुभयो। उनीहरूले आपसी हित तथा पारस्परिक लाभका क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिनुभयो।
वार्तामा श्रम, व्यापार, लगानी, पर्यटन, नवीकरणीय ऊर्जा, कनेक्टिभिटी तथा संयुक्त राष्ट्रसंघअन्तर्गत बहुपक्षीय सहकार्यलगायतका विषयमा समेत छलफल भएको थियो।





