बाढीको आवश्यकता मूल्यांकनसँगै नेपाललाई अमेरिकी सहायता थपिँदै जाने वरिष्ठ अधिकारीको भनाइ
प्रकाशित मिति : ९ आश्विन २०८३, शुक्रबार
दक्षिण तथा मध्य एसिया मामिला हेर्ने ब्युरोकी उपसहायक विदेशमन्त्री बेथानी मोरिसनले विनाशकारी बाढीपछि नेपाललाई अमेरिकाले उपलब्ध गराउँदै आएको सहयोगबारे चर्चा गर्दै। “हाम्रो प्रतिकार्य तीव्र थियो। यो प्रभावकारी थियो,” मोरिसनले भनिन्। तस्बिरः किशोर पन्थी/खसोखास
न्युयोर्क — नेपालमा बाढीपहिरोको प्रतिकार्य तथा पुनःस्थापनाका लागि अमेरिकी सहायता ३ करोड ६० लाख डलर नाघेको छ र प्रभावित समुदायको आवश्यकता मूल्यांकन गर्दै जाँदा सहायता थपिँदै जाने अमेरिकी विदेश मन्त्रालयका वरिष्ठ अधिकारीले नाम उल्लेख नगर्ने शर्तमा बताएका छन्।
यसैबीच दक्षिण तथा मध्य एसिया मामिला हेर्ने ब्युरोकी उपसहायक विदेशमन्त्री बेथानी मोरिसन ले खसोखाससँग कुरा गर्दै नेपालमा बाढी प्रतिकार्य तथा पुनःस्थापनाका लागि अमेरिकी सहायता ३ करोड ६० लाख डलर पुगेको र अमेरिका अहिले उक्त प्रतिकार्यको सबैभन्दा ठूलो दाता बनेको बताइन्।
अमेरिकाले यसै साता नेपालका लागि थप ३ करोड १० लाख डलर सहायता घोषणा गरेको थियो। यससँगै बाढी प्रतिकार्य तथा पुनःस्थापनामा अमेरिकाको कुल योगदान ३ करोड ६० लाख डलर पुगेको मोरिसनले बताइन्। उक्त सहयोगमा स्थायी पुल निर्माण, मानवीय राहत तथा विपद् पुनःस्थापनाका लागि ड्रोनसम्बन्धी सहयोग समावेश छ।
नेपालमा भएको विनाशको खबर पाएलगत्तै अमेरिकाले तीव्र रूपमा प्रतिक्रिया जनाएको र त्यसले सहायता प्रभावकारी रूपमा परिचालन गर्न सरकार सक्षम रहेको देखाएको मोरिसनले बताइन्।
“नेपालमा हामीले देखेको विनाशपछि अहिले हामी सबैभन्दा ठूलो दाता बनेका छौँ र यसमा हामी निकै गर्व गर्छौँ,” मोरिसनले भनिन्। “हामीले यसै साता प्रतिकार्यका लागि थप ३ करोड १० लाख डलर घोषणा गर्यौँ। यसले हाम्रो कुल सहयोग ३ करोड ६० लाख डलर पुर्याएको छ र हामी अहिले सबैभन्दा ठूलो दाता बनेका छौँ।”
“हाम्रो प्रतिकार्य तीव्र थियो। यो प्रभावकारी थियो,” मोरिसन भनिन्। “युएसएआईडीलाई विदेश मन्त्रालयमा पुनःसमायोजन गरिएपछि यसले हाम्रो कामको गति घटाएको भन्ने सुनिन्छ। तर त्यसले हामीलाई सुस्त बनाएन। हामी वास्तवमा अझ छरितो भएका छौँ। हामी अझ प्रभावकारी भएका छौँ। हामी स्रोतसाधन छिटो परिचालन गर्न सक्षम भएका छौँ। नेपालमा हामीले ठ्याक्कै त्यही देख्यौँ।”

वरिष्ठ अमेरिकी अधिकारीका अनुसार नयाँ घोषित सहयोगमा स्थायी पुल निर्माण, मानवीय राहत तथा विपद् पुनःस्थापनाका लागि ड्रोन उपलब्ध गराउने कार्यक्रम समावेश छन्।
नेपालमा विनाशकारी बाढी आएको जानकारी पाएपछि केही घण्टाभित्रै अमेरिकाले आपत्कालीन मानवीय आवश्यकता घोषणा गर्दै प्रारम्भिक रूपमा ५ लाख डलर उपलब्ध गराएको वरिष्ठ अमेरिकी अधिकारीको भनाई छ।
“त्यसैले सुरुदेखि नै, पहिलो दिनदेखि नै — र मलाई यो कुरा थाहा छ, किनकि विनाशकारी बाढीको खबर सुनेर बिहान उठ्दादेखि नै म प्रत्यक्ष रूपमा यसमा संलग्न थिएँ — हामीले तत्काल मानवीय आपत्कालीन आवश्यकता घोषणा गर्यौँ र तत्काल ५ लाख डलर परिचालन गर्यौँ,” नाम उल्लेख नगर्ने शर्तमा एक बरिष्ठ अधिकारीको भनाई छ। “यो केही घण्टाभित्रै भएको थियो। त्यो रकम आधारभूत आपत्कालीन मानवीय सेवाका लागि थियो।”
त्यसयता अमेरिकाले नेपाल सरकारसँग निरन्तर सम्पर्कमा रहेर हरेक दिन देशको आवश्यकता मूल्यांकन गरिरहेको र आवश्यकताअनुसार आफ्नो सहयोग थपिरहेको उनको भनाई छ।
“त्यसयता हामी नेपाल सरकारसँग निकै नजिक रहेर हरेक दिन ती आवश्यकताहरूको मूल्यांकन गरिरहेका छौँ,” उनको भनाई छ। “र हामीले गर्ने ती मूल्यांकनका आधारमा हाम्रो योगदान थप्दै जान्छौँ।”
तत्कालको प्राथमिकता अझै पहुँचविहीन रहेका समुदायसम्म पुग्नु रहेको र विद्यालयका लागि आवश्यक सहयोग भने त्यसपछि आउने उनको भनाई छ।
“विद्यालयको कुरा गर्दा, त्यो पछि आउने विषय हो जस्तो मलाई लाग्छ,” उनको भनाई छ। “अहिलेको ध्यान ती समुदायसम्म पहुँच सुनिश्चित गर्नेमा छ। हामी अझै ती सबै समुदायसम्म पुग्न सकेका छैनौँ।”

बाढीबाट प्रभावित क्षेत्रमा अस्थायी पुल निर्माण तथा सडक सम्पर्क पुनःस्थापित गर्न अमेरिकाले यसै साता १ करोड डलर उपलब्ध गराएको पनि वरिष्ठ अधिकारीको भनाई छ। उक्त रकमबाट जीवनरक्षक सामग्री तथा अन्य पुनःस्थापनासम्बन्धी सहायता प्रभावित तथा अलग्गिएका समुदायसम्म पुर्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
“तपाईंहरूले यसै साता अमेरिकाले लामो पुल निर्माणका लागि १ करोड डलर उपलब्ध गराउने घोषणा देख्नुभएको हुनुपर्छ,” उनको भनाई छ। “हामी सडकसँग जोड्न पुलहरू पुनःस्थापित गर्ने प्रयास गरिरहेका छौँ, ताकि जीवनरक्षक सामग्री तथा पुनःस्थापना र प्रतिकार्यका आवश्यकताहरू प्रभावित क्षेत्रसम्म पुर्याउन सकियोस्।”
तत्कालका मानवीय प्राथमिकतामा खाना, आश्रय र पानी रहेको उनको भनाई छ। बाढीपछि अझै बेपत्ता रहेका व्यक्तिहरूको पहिचान तथा खोजीका लागि पनि अमेरिकाले नेपालसँग सहकार्य गरिरहेको छ। वरिष्ठ अमेरिकी अधिकारीका अनुसार नेपालमा ७० जना अमेरिकी नागरिक अझै सम्पर्कविहीन छन्।
“त्यसपछि ७० जना अमेरिकी नागरिक सम्पर्कविहीन छन्, र यो पनि हाम्रो ठूलो प्राथमिकतामध्ये एक हो। हामी नेपाल सरकारसँग मिलेर काम गरिरहेका छौँ,” उनको भनाई छ। “अझै ७० जना अमेरिकी नागरिक सम्पर्कविहीन छन्, जसमा ६०० भन्दा बढी विदेशी नागरिक पनि छन्।”
पहिचानसम्बन्धी प्रयासमा सहयोग गर्न अमेरिकी युद्ध विभाग, एफबीआई र अन्य अमेरिकी निकायले स्रोतसाधन परिचालन गरिरहेको उनले बताए।
“हाम्रो युद्ध विभाग छ, हाम्रो एफबीआई छ र अन्य निकायहरूले पनि पहिचानका लागि सहयोग गर्न त्यहाँ स्रोतसाधन परिचालन गरिरहेका छन्,” उनको भनाई छ।
अहिले अमेरिकी प्रतिकार्य तत्कालीन राहत तथा पुनःस्थापनाका आवश्यकतामा केन्द्रित रहेको र त्यसपछि नेपाल सरकारसँग समन्वय गरेर दीर्घकालीन पुनर्निर्माणका काम अघि बढाइने उनले बताए। दीर्घकालीन पुनर्निर्माणको आवश्यकता निकै ठूलो हुने उनको भनाइ थियो।
“त्यसैले मेरो भनाइ के हो भने हामी अहिले पनि सबैभन्दा तत्काल आवश्यक पुनःस्थापना र प्रतिकार्यकै चरणमा छौँ,” उनको भनाई छ। “त्यसपछि हामी नेपाल सरकारसँग दीर्घकालीन पुनर्निर्माणका प्रयासमा समन्वय गर्न थाल्नेछौँ, जुन निकै ठूलो हुने देखिन्छ।”
अमेरिकाले पुनःस्थापनाको अवधिभर नेपाललाई निरन्तर सहयोग गरिरहने पनि वरिष्ठ अमेरिकी अधिकारीको भनाई छ।
“मलाई लाग्छ, अहिलेसम्मको हाम्रो रेकर्ड हेर्नुभयो भने तपाईंहरूले अमेरिकाले यो अवधिभर नेपालसँगै रहेर सहयोग गरिरहने देख्नुहुनेछ,” उनले भने।





