दुई मिनेटमै उजाडिएको वेत्रावती: न्युयोर्कका योगेश ‘आदी’ले जन्मस्थानमा आफ्नै अगाडि देखेको त्रासदी
प्रकाशित मिति : २१ भदौ २०८३, आइतबार
न्युयोर्कको क्वीन्स भिलेजका ४८ वर्षीय बासिन्दा योगेश ‘आदी’ डंगोल धेरै वर्षपछि पहिलोपटक आफ्नो जन्मस्थान नेपालको वेत्रावती फर्किएका थिए। अगस्ट २६ मा आएको विनाशकारी बाढीका बेला उनी वेत्रावतीमै थिए। जुन बाढीमा परेकामध्ये १३५० भन्दा अढीको शव फेला परेको छ भने झण्डै ४ हजार अझै सम्पर्कमा छैनन्।
योगेश ‘आदी’का लागि त्यो दिन अरू दिनजस्तै सुरु भएको थियो। तर केही क्षणमै उनको गाउँ, आफन्त र बाल्यकाल बिताएको घर विनाशकारी बाढीको चपेटामा परे।
“जुन बेला आकस्मिक बाढी आयो, त्यतिबेला म त्यहीँ थिएँ। म त्यसको प्रत्यक्षदर्शी हुँ,” उनले भने।
वेत्रावती बजारमा बाढी आउँदा उद्धारका लागि पर्याप्त समय थिएन। मानिसहरूले एकअर्कालाई बचाउने प्रयास गरे पनि अवस्था यति तीव्र थियो कि धेरैले आफैँ ज्यान जोगाउनुपर्यो।
“कसैले कसैलाई बचायो भन्नुभन्दा पनि कसैले कसैलाई बचाउन सकेन,” डंगोलले भने, “सबै जना आफ्नै तरिकाले आफैँ ज्यान जोगाउन बाध्य भए। जसको उद्धार हुन सकेन, ऊ बगेर गयो।”
उनका अनुसार वेत्रावती बजारबाट मात्रै करिब १५० जनाले ज्यान गुमाए। डंगोल परिवारका ५७ जनाको मृत्यु भएको उनले बताए। थापा, लामिछाने, पौडेल र तामाङ परिवारका धेरै सदस्य पनि बाढीमा परे।
“एउटै समुदायमा विभिन्न जातजाति र भाषाभाषीका मानिसहरू मिलेर बसेका थिए। त्यही समुदायका सबै मानिस प्रभावित भए,” उनले भने।
बाढीपछि कोही भागेर ज्यान जोगाउन सफल भए भने कोही परिवार र आफन्तबाट छुट्टिए। हराएका मानिसहरूलाई खोज्दै जाँदा धेरै परिवारका दुईदेखि चार जनासम्म सदस्यको मृत्यु भएको थाहा भएको डंगोलले बताए।

बुबाले आमालाई डोर्याउँदै
बाढीको त्रासबीच डंगोलका बुबाले उनकी आमालाई डोर्याउँदै सुरक्षित स्थानतर्फ लैजाँदै गरेको क्षण पनि भिडियोमा कैद भएको छ।
“मेरो बुवाले आमालाई डोर्याउनुभएको भिडियो छ। त्यो निकै थोरैको फरकले ज्यान जोगिएको क्षण थियो,” डंगोलले भनेका छन्, “त्यो भिडियोमा बुवाले आमालाई तान्दै लगिरहेको देखिन्छ।”
अन्ततः उनकी आमा हिलोले लतपतिएको अवस्थामा भए पनि बाँच्न सफल भइन्। तर परिवारका अन्य सदस्यलाई भने बाढीले बचाएन।
“मेरी आमा हिलोले लतपतिएको अवस्थामा भए पनि बच्नुभयो,” उनले भने, “तर दुःखको कुरा, मेरा धेरै आफन्तहरू बाढीले बगायो।”
डंगोलले बुबा, आमाबुबा र छोराहरूको अवस्थाबारे तत्काल जानकारी लिएपछि मात्रै केही छोटा भिडियो खिच्न सकेका थिए।

सामान्य बाढीको भ्रम
खोलाको किनारमा हुर्किएका स्थानीय बासिन्दाका लागि बाढी नयाँ घटना थिएन। विगतमा पनि पानीको सतह बढेर आउने गरेको थियो। त्यसैले प्रशासनबाट आएको चेतावनीलाई धेरैले सामान्य रूपमा लिए।
“हामीले यसखालको बाढी विगतमा पनि भोग्दै आएका थियौँ। पानी बढेर आउने घटनालाई हामी बाढी भन्ने गर्थ्यौँ,” डंगोलले भने, “खोलाको किनारमा हुर्केका मानिसहरूलाई बाढी सामान्य कुरा लाग्थ्यो।”
तर त्यस दिन आएको बाढी सामान्य थिएन। डंगोलका अनुसार त्यो अत्यन्त तीव्र गतिमा आउने आकस्मिक बाढी थियो।
“आकस्मिक बाढी भनेको गोलीको गतिजस्तै तीव्र गतिमा आउने बाढी हो। यो बिस्तारै बढेर आउनेभन्दा पनि हिर्काउँदै आउँछ,” उनले भने, “यो अपेक्षित होइन, अप्रत्याशित थियो।”
बाढी आउन सक्ने सूचना स्थानीय प्रशासनले दिएको थियो। माइकिङ पनि गरिएको थियो। तर ‘बाढी आउँछ’ भन्ने चेतावनीलाई स्थानीयले तत्काल ज्यान जोगाउनुपर्ने गम्भीर संकेतका रूपमा बुझ्न सकेनन्।
“हामीलाई जानकारी आएकै थियो। प्रशासनले भनेकै थियो। माइकिङ पनि भएको थियो,” उनले भने, “तर खोलाको किनारमा हुर्केको मानिसलाई ‘बाढी आउँछ’ भन्ने कुरा सामान्य लाग्छ। हामीले त्यसको गम्भीरता बुझेनौँ।”
त्रिशूली खोला तल रहेकाले पानी पुलसम्म आइपुग्न समय लाग्ने र त्यतिबेलासम्म आफूहरू सुरक्षित स्थानमा पुग्न सक्ने स्थानीयको अनुमान थियो।
“हामीले सोच्यौँ, खोला करिब ७५–८० मिटर तल छ। पानी बढेर पुलसम्म आइपुग्दा हामी सुरक्षित स्थानमा पुग्न भ्याउँछौँ,” डंगोलले भने, “तर हामीले सोचेको जस्तो समय बाढीले दिएन।”

पुलबाट देखिएको त्रासदी
बाढी आउँदा डंगोल पुलमा थिए। रसुवातर्फ जाने कि नुवाकोटतर्फ भाग्ने भन्ने दोधारमा परेपछि उनी रसुवातर्फ दौडिए। पुलमा भ्यान, ट्रक, जिप र मोटरसाइकल थिए। केही क्षणमै त्यहाँ मानिसहरूको भागदौड मच्चियो।
“मानिसहरू त्रसित थिए। कराउन थाले। पुलमा भएका मानिसहरू दौडिन थाले,” उनले सम्झिए।
रसुवातर्फको उकालो चढ्दै गर्दा उनले पछाडि फर्केर हेरे। त्यतिबेलासम्म वेत्रावतीमा हाहाकार मच्चिइसकेको थियो।
“दुई मिनेटमै खोलाले भित्तामा हानेर आफ्नो धार फर्काउन थाल्यो,” उनले भने, “मेरो आफ्नै खुट्टा काँपिरहेको थियो। चारैतिर रुवाबासी थियो।”
त्यतिबेला उनले भिडियो खिच्न सकेनन्। पहिले उनले बुबा र छोराहरू सुरक्षित रहेको खबर गरे। त्यसपछि मात्रै केही छोटा दृश्य खिचे।
“‘बचाऊ’ भन्दै मानिसहरू कराइरहेका थिए। कोही घाइते भएर बाहिर निस्कँदै थिए। दौडिँदा कसैको खुट्टा मर्किएको थियो,” उनले भने, “दृश्यहरू बीभत्स थिए।”
उनका अनुसार बाढीले पुलमा उभिएका मानिसहरूलाई बगायो। गाडीहरूलाई उचालेर घरमा ठोक्कायो। घरहरूलाई पानीले बोकेर लग्यो।
“गाडीहरूलाई तीन–चार तला माथिसम्म पुर्याएर घरमा हान्दै गरेको देखेँ। घरहरूलाई जुरुक्क बोकेर हिँड्दै थियो,” उनले भने।
सबैभन्दा पीडादायी दृश्य आफ्नै घरको थियो।
“सानैदेखि हुर्केको मेरो घरलाई आँखाअगाडि छालले हानिरहेको थियो,” डंगोलले भने, “मेरो घरलाई चार तला माथिसम्म छालले नाघिरहेको जस्तो देखिन्थ्यो। म हेरेर बस्दै रोइरहेको थिएँ।”

कारणबारे प्रश्न
वेत्रावतीमा भएको विपत्तिको कारणबारे तत्काल निष्कर्षमा पुग्न नहुने डंगोलको भनाइ छ। उनले जलवायु परिवर्तन, हिमनदी पग्लिनु, हिमाली भूगोलमा भइरहेको परिवर्तन र हिमताल फुट्नेजस्ता कारणबारे चर्चा गरे।
“विश्वव्यापी तापक्रम वृद्धिले केही असर गरेको हुन सक्छ। हिमनदीहरू पग्लिने क्रम जारी छ,” उनले भने, “तर यस्तो घटनालाई केवल विश्वव्यापी तापक्रम वृद्धिलाई दोष दिएर मात्र बुझ्नु हुँदैन।”
भारतीय र युरेसियन भू–प्लेटको टक्करका कारण हिमाली भू–आकृतिमा भइरहेको परिवर्तनले पनि प्रभाव पारेको हुन सक्ने उनले बताए। तर त्यस्ता सम्भावनाको निष्कर्ष वैज्ञानिक अध्ययनपछि मात्र निकाल्नुपर्ने उनको भनाइ छ।
घटनापछि सामाजिक सञ्जाल र स्थानीयस्तरमा विभिन्न षड्यन्त्रका कुरा चले पनि त्यसको पुष्टि गर्ने प्रमाण नरहेको उनले बताए।
“कसैले विस्फोट गराएको वा कुनै परियोजनाका कारण यस्तो भएको भन्ने कुरा सुनिन्छ,” उनले भने, “तर तत्काल हामीसँग त्यसको प्रमाण छैन। प्रमाणबिना हामीले त्यस्तो कुरा भन्न मिल्दैन।”
जलविद्युत् आयोजना र सडक निर्माणका कारण बढेको भूक्षय तथा खोलामा थुपारिएको लेदोबारे भने गम्भीर अध्ययन हुनुपर्ने डंगोलले बताए।
“धेरै जलविद्युत् आयोजना बनेका छन्। सुरुङ खन्दा निस्किएको लेदो खोलामा हालिएको थियो,” उनले भने, “हिउँदमा पनि खोला धमिलो आउँथ्यो र खोलाको सतह करिब तीन मिटर बढिसकेको थियो।”
माथिल्लो क्षेत्रमा सडक निर्माण गर्दा रुख कटान र भूक्षय भएको तथा विस्फोटका गतिविधिले पनि वातावरणमा असर पारेको हुन सक्ने उनको भनाइ छ।
“साना–साना प्रभावहरू सबैतिरबाट भएका कारण यस्तो परिणाम आएको हुन सक्छ,” उनले भने, “जलविद्युत् आयोजना र निर्माण गर्ने निकायहरू पनि केही हदसम्म जवाफदेही हुनुपर्छ।”

राहतसँगै दीर्घकालीन सुरक्षा
बाढीपछि राहत सामग्री पुगे पनि प्रभावित क्षेत्रमा अझै आधारभूत आवश्यकताको अभाव रहेको डंगोलले बताए।
“म त्यहाँ दुई दिन नै थिएँ। राहत पुगेको देखेको छु,” उनले भने, “तर अहिले ग्यासको समस्या छ। चलायमान शौचालय आवश्यक छ।”
उनका अनुसार प्रभावित परिवारलाई तत्काल राहतसँगै सुरक्षित बसोबास, स्वास्थ्य सेवा र मानसिक तथा सामाजिक सहयोग आवश्यक छ। स्थानीय बासिन्दा अझै त्रसित रहेकाले पुनःस्थापना र सुरक्षाको दीर्घकालीन योजना पनि आवश्यक छ।
भविष्यमा यस्ता विपत्तिबाट जनधन जोगाउन सरकारले खोला सफा गर्ने, सुरक्षित र अग्ला पुल निर्माण गर्ने, बहाव नियन्त्रण गर्ने संरचना बनाउने तथा जोखिमयुक्त बस्तीको व्यवस्थापन गर्नुपर्ने उनले बताए।
“खोला खार्ने, अग्ला र लामा पुल बनाउने तथा खोलाको बहावलाई नियन्त्रित गर्ने पद्धति अपनाउन सकिन्छ,” डंगोलले भने, “त्यसले जनधनको क्षति कम गर्न सहयोग गर्छ।”
पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउनुपर्नेमा पनि उनले जोड दिए। सूचना जारी गर्नु मात्र पर्याप्त नहुने भन्दै स्थानीयले त्यसको गम्भीरता बुझ्ने गरी अभ्यास र तयारी आवश्यक रहेको उनले बताए।

“हामीले ‘भाग्नुपर्छ’ भन्ने कुरा सुनेका थियौँ, तर त्यस्तो स्तरको बाढी आउँछ भन्ने सोचेनौँ,” उनले भने, “अब सूचना आउँदा त्यसलाई सामान्य नठान्ने र तुरुन्त सुरक्षित स्थानमा जाने व्यवस्था हुनुपर्छ।”
डंगोल अहिले कसैलाई दोष दिनुभन्दा घटनाबाट सिक्नुपर्ने पक्षमा छन्।
“म अहिले न माथिल्लो क्षेत्रका मानिसलाई दोष दिन्छु, न सरकारलाई,” उनले भने, “यो हाम्रो दुर्भाग्य थियो। भयो, सकियो। अब यसबाट हामी कसरी सुध्रिने, कसरी सावधानी अपनाउने र आगामी दिनमा के गर्ने—हामीसँग सोच्नुबाहेक अर्को विकल्प छैन।”
तर वेत्रावतीका लागि त्यो दिन अझै सकिएको छैन। बाढीको पानी बगेर गए पनि त्यसले छाडेको शोक, विस्थापन र डर स्थानीयको जीवनमा अझै बाँकी छ।
यो सामग्री विविधतापूर्ण स्थानीय सञ्चारमाध्यमलाई सहयोग गर्ने गैरनाफामूलक संस्था यूआरएल कलेक्टिभ को अनुदानबाट सम्भव भएको हो।





