जालीमा अड्किएर बाँचिन् १० वर्षीया बालिका, आमा भन्छिन् – ‘घर पनि छैन, उपचार गर्ने पैसा पनि छैन’
प्रकाशित मिति : १९ भदौ २०८३, शुक्रबार
बाढी र विनाशबीच ओतको खोजी: गत अगस्ट २६ (भदौ १०) मा आएको भीषण बाढीका कारण घरबारविहीन बनेकी मालाकुमारी ढकाल नगरकोटी काठमाडौँको एक अस्पतालमा आफ्नी १० वर्षीया घाइते छोरीको हेरचाह गर्दै। बाढीको तीव्र भेलमा जालीमा अड्किएर बालिकाको जीवितै उद्धार भए पनि उनको घर र सम्पत्ति सबै बाढीले बगाएको छ। सेप्टेम्बर ४ सम्मको तथ्याङ्क अनुसार यो विनाशकारी जलविपद्मा परी १,३०० भन्दा बढी मानिसको शव फेला परिसकेको छ भने ५,००० भन्दा बढी अझै बेपत्ता छन्। तस्बिर: दीपेन्द्र ढुङ्गाना
काठमाडौं, नेपाल। बाढी आउँदा नुवाकोटकी मालाकुमारी ढकाल नगरकोटी काममा थिइन् । बिहान ६ बजे १० वर्षीया छोरीलाई होस्टेल वा स्कुल पठाएर उनी आफ्नो नियमित काममा गएकी थिइन् । अर्काको काम नगरी साँझ-बिहानको छाक नटर्ने भएकाले उनी काममा नगई सुखै थिएन ।
बिहान करिब पौने ८ बजेतिर उनलाई एकाएक फोन आयो । भिनाजुले फोन गरेर बाढी (भेल) आउँदै गरेको र छोरीको उद्धार गर्नुपर्ने खबर दिएपछि उनी अत्तिइन् ।
छोरीलाई लिन स्कुलको गाडी आउँदै थियो । मालाकुमारी पनि त्यही गाडीमा छोरी भेट्न जाने तयारीमा थिइन् । तर, अफिसको ढोका नलगाई निस्किएकाले उनी पुनः ढोका लगाउन फर्किइन् । त्यही केही सेकेन्डको अन्तरमा गाडी अगाडि बढ्यो ।
‘गाडी अघि बढेलगत्तै मेरो आँखैसामुन्ने पल्टियो,’ मालाकुमारीले सम्झिइन्, ‘गाडी पल्टिएपछि म त्यहाँबाट भाग्न सफल भएँ । त्यसपछि मलाई पनि अलिकति भेलले छोएको थियो ।’
बाढीका कारण बाटो र पुलहरू भत्किसकेका थिए । छोरीको स्कुलमा के भइरहेको छ भन्ने उनलाई केही थाहा थिएन । हातमा भएको मोबाइलसमेत ज्यान जोगाउने क्रममा हरायो ।
‘मलाई केही थाहा भएन, नानीको मात्र याद आइरह्यो । मेरो छोरी बाँची कि मरिसकी होला भन्ने भयो,’ उनले भनिन्, ‘आफ्नो ज्यान जोगाउन भाग्दै बोगटीटार स्कुलछेउसम्म पुगेँ। त्यसपछि जंगलको बाटो हुँदै घरतर्फ लागेँ ।’
बाटोभरि उनको मनमा एउटै चिन्ता थियो – छोरी जिउँदै छिन् कि नाइँ ?
बाढी आएको समयमा १० वर्षीया बालिका होस्टेलमा थिइन् । बिहान खाना खाएर माथि रहेको स्कुलतर्फ पढ्न जान लाग्दा ‘बाढी आयो’ भन्ने खबर फैलियो ।
बालिकाका अनुसार शिक्षक सुजनले ‘सबैको कोठामा बाढी पस्दैछ, भागौँ’ भनेपछि विद्यार्थीहरू ज्यान जोगाउन माथितिर भागेका थिए । जंगलतर्फ जाने क्रममा खोलाको भेल अचानक आयो । जस्ता फाटेर पानी भित्र पसेपछि उनीहरू खेतको बाटो हुँदै माथि भाग्ने प्रयास गरे ।
स्कुलको ग्राउन्डमाथि भाग्ने क्रममा बालिका जाली नाघ्न खोज्दा त्यहीँ अड्किइन् । बाढीको तीव्र भेलले बगाउन खोजे पनि त्यही जाली उनका लागि वरदान बन्यो । स्थानीयवासीले जालीमा अड्किएकी बालिकालाई देखेपछि तत्काल उद्धार गरेर सुरक्षित ठाउँमा पुर्याए ।
त्यसपछि गाउँलेले नै उनलाई गाडीमा राखेर काठमाडौंस्थित अस्पताल पठाएका थिए ।
जंगलको बाटो हुँदै भोलिपल्ट मात्रै घर आइपुगेकी मालाकुमारीले छोरीलाई घरमा देखिनन् । गाउँलेले अस्पताल लगिसकेको खबर पाएपछि उनी हस्याङफस्याङ गर्दै काठमाडौं पुगिन् ।

अस्पताल पुग्दा छोरी भेटिए पनि अब कसरी अगाडि बढ्ने भन्ने संकट मालाकुमारी सामु छ । बाढीले उनको घर र जग्गा-जमिन सबै तहसनहस बनाएको छ । घर भएको ठाउँ अहिले टोकाडे भिरमा परिणत भएको छ ।
‘अहिले घर गएर बस्ने ठाउँ छैन सर, पूरै भिर बनाइदिएको छ । अलिकति जग्गा-जमिन थियो, त्यो पनि बाढीले बगायो,’ उनले दुखेसो पोखिन्, ‘कहाँ गएर बस्ने ? यस्तो घाइते बच्चालाई कहाँ लैजाने ? कसरी उपचार गर्ने ? एक रुपैयाँ पनि साथमा छैन ।’
सुरुमा डीआईजी टोलीको सहयोगमा बालिकाको प्राथमिक उपचार निःशुल्क भए पनि थप उपचारका लागि अस्पतालले पैसा माग्न थालेपछि मालाकुमारी थप चिन्तित बनेकी छन् ।
‘अस्पतालले पैसा खोज्छ, हामीसँग खाने धौधौ छ, कहाँबाट दिने ? बाँच्न त बाँचियो सर, तर हेर्नुस् त झन् ठूलो संकट पर्यो,’ उनले भनिन् ।
घर-जग्गा गुमेको, आम्दानीको स्रोत नरहेको र छोरीको उपचार खर्च जुटाउन नसकेको अवस्थामा यो परिवार अहिल्यै कसरी टाउको लुकाउने र कसरी बाँच्ने भन्ने अन्योलमा छ ।
यो सामग्री विविधतापूर्ण स्थानीय सञ्चारमाध्यमलाई सहयोग गर्ने गैरनाफामूलक संस्था यूआरएल कलेक्टिभ को अनुदानबाट सम्भव भएको हो।





