“बाढीले बगाए पनि म त जोगिएँ, तर हातबाट चिप्लिएका ४ वर्षका भाइको शव १५० किमी तल भेटियो”
प्रकाशित मिति : १९ भदौ २०८३, शुक्रबार
“बाढीले बगाए पनि म जोगिएँ, तर हातबाट चिप्लिएका ४ वर्षीय भाइको शव १५० किमी तल भेटियो” — बाढीको त्रासद क्षण र भाइ गुमाएको पीडा सुनाउँदै कक्षा ९ मा अध्ययनरत स्वस्तिक पौडेल । तस्बिर: दीपेन्द्र ढुङ्गाना
नुवाकोट, नेपाल। कक्षा ९ मा अध्ययनरत नुवाकोट, बेत्रावतीका टिनएजर स्वस्तिक पौडेल गत बुधबार बिहान विद्यालय जाने तयारीमा थिए । नजिकैको विद्यालयमा अध्ययनरत उनले पोसाक लगाए, घरमा ताला लगाए र निस्कन लागे । तर, बाढी आउँदै छ भन्ने कुनै पूर्वसूचना उनीसँग थिएन ।
घरबाट निस्कनै लाग्दा एक जना छिमेकी दाइले ‘बाढी आयो’ भनेपछि स्वस्तिकले तुरुन्तै आमालाई फोन गरे । आमाले आफू खोलातिरै रहेको बताए पनि उनले आमाको कुरा प्रस्ट बुझ्न सकेनन् ।
“खोलामा त बाटो छैन, बोली नबुझेको हो कि केही भयो कि भनेर मैले फोन काटेँ,” स्वस्तिक सम्झिन्छन् ।
त्यसपछि उनी आफ्ना चार वर्षका काकाका छोरालाई साथमै लिएर स्कुलतर्फ लागे । उनीसँग स्कुलको ब्याग र किताबहरू पनि थिए । बाढीको त्रास र भयावहता बढ्दै गएपछि उनीहरू सुरक्षित ठाउँतर्फ भाग्न थाले ।
त्यतिबेला नजिकैको होस्टेलका मानिसहरू पनि तलबाट भागिरहेका थिए । उनीहरूले बाढीबारे बताएपछि स्वस्तिकले तलतिर हेरे । त्यहाँको भयावह दृश्य देख्दा उनी अत्तालिए ।

“माथि आकाशभरि धुवाँ नै धुवाँजस्तो छाएको थियो । बेत्रावती त पूरै डुबिसकेको रहेछ,” उनले भने ।
त्यसपछि उनी भाइलाई बोकेर भागे । बाटोमा भेटिएका आफन्त र परिचितहरूलाई पनि बाढी आएको खबर गर्दै छिटो भाग्न आग्रह गरे । भागिरहेका बेला एक जना स्थानीयले उनका भाइलाई केही माथिसम्म पुर्याउन मद्दत गरे । तर, त्यसपछि पुनः भाइलाई स्वस्तिक आफैँले बोकेर दौडिनुपर्यो ।
उनीहरू जंगलतर्फ निस्कने बाटो खोज्दै थिए, तर तारजाली लगाएर बाटो छेकिएको थियो । एकैपटक धेरै मानिस जान सक्ने अवस्था थिएन । भाग्ने बाटो नभएपछि उनले भाइलाई लिएर अर्को विकल्प खोजे ।
त्यही क्रममा उनीहरूले पर्खालबाट हाम फालेर कुलोको छेउतिर जाने प्रयास गरे । त्यहाँ अरू बालबालिका पनि कुलो तर्न खोजिरहेका थिए ।
तर, उनीहरू कुलो तर्न नपाउँदै माथिबाट एक्कासि बाढी उर्लिएर आयो ।
“म कुलो तर्न लाग्दा ठ्याक्कै माथिबाट खोला उर्लियो । पेट्रोल पम्पको भित्ता र मान्छेहरूलाई एकैचोटि बगायो,” स्वस्तिकले त्यो भयावह पल सम्झिए ।
अचानक आएको लेदोसहितको बाढीले स्वस्तिक र उनका भाइलाई एकैसाथ बगायो । हिलोले स्वस्तिकको मुख पुरियो भने भाइ उनको हातबाट चिप्लिएर बगे ।
“मलाई मुखभरि हिलोले हानिदियो । भाइ नजिकै थियो, तर चिप्लेर बगिहालेछ,” उनले दुःखी हुँदै भने ।
बाढीले स्वस्तिकलाई पनि केही समयसम्म बगाउँदै लग्यो । उनका अनुसार करिब १० मिनेटसम्म बाढीमा घुमाएपछि उनलाई स्कुल परिसरमा ल्याएर फालिदिएको थियो ।
बाढीबाट बाहिर निस्किएपछि उनी बिस्तारै माथितिर भागे । बाटोमा बहिनी र गाउँका हजुरआमा–हजुरबाहरूलाई भेटे । उनीहरू पनि ज्यान जोगाउन सुरक्षित ठाउँतर्फ लागिरहेका थिए ।
तर, बाढी र पहिरोको जोखिम अझै टरेको थिएन । फेरि बाढी आएपछि उनीहरू वनतिर भागे । वनमा पनि जमिन हल्लिएजस्तो भएपछि उनीहरू करिब एक घण्टासम्म लगातार भागिरहे ।
त्यो त्रासका बीच पनि स्वस्तिकले आफूसँग भएका मोबाइलहरू छाडेनन् । उनीसँग तीनवटा मोबाइल थिए । एउटा सानो मोबाइल हरायो भने आफ्नै मोबाइल भने चलिरहेको थियो । तर, भाग्ने क्रममा बहिनीलाई समात्न खोज्दा मोबाइलको डिस्प्ले बिग्रियो र आमासँग सम्पर्क टुट्यो ।
बाढीपछि परिवारका सदस्यहरू छुट्टाछुट्टै ठाउँमा पुगे । स्वस्तिक सुरक्षित ठाउँ खोज्दै अघि बढे । खोलाको बहाव केही घटेपछि उनीहरू गाउँभन्दा माथि रहेको एउटा घरमा गएर बसे र आमाको प्रतीक्षा गर्न थाले ।
“ममी आउनुहुन्छ भनेर पर्खिरह्यौँ, तर रातिसम्म पनि आउनुभएन,” उनले भने ।
पछि मात्र थाहा भयो— आमा पनि उनीहरूलाई खोज्न आउनुभएको रहेछ । तर, स्कुलनजिकैको खोल्सामा पानीको बहाव अत्यधिक बढेकाले खोला तर्न नसकेर उहाँ फर्किनुपरेको रहेछ ।
आमासँग कुराकानी हुन निकै समय लाग्यो । बाढीपछि माथिल्लो क्षेत्रका एक जना दाइले स्वस्तिकलाई भेटे । ती दाइले आमाको फोन आएको जानकारी दिएपछि मात्र स्वस्तिकले आमासँग कुरा गर्न पाए ।
“ममी रुनुभएको थियो । त्यो रात ममीसँग भेट नै भएन, भोलिपल्प बिहान मात्रै भेट भयो,” उनले भने ।
स्वस्तिकले जोगाउन खोजेका ती भाइ जम्मा चार वर्षका थिए । बाढीले दुवै जनालाई एकैचोटि बगाएपछि भाइसँग उनको सम्पर्क टुट्यो ।
“म कुलो तर्न लाग्दा बाढी आयो । मलाई पनि बगायो, भाइ चिप्लेर बग्यो,” स्वस्तिकले भक्कानिँदै भने ।
पछि ती भाइको शव चितवन–नवलपरासी क्षेत्रमा भेटिएको जानकारी उनले पाए ।
बाढी आउँदा स्कुलतर्फ रहेका अन्य साथीहरूको अवस्थाबारे भने स्वस्तिकलाई केही थाहा छैन । उनी स्कुलको गेटसम्म पुगेका थिए, तर बाढी तीव्र रूपमा बढेपछि त्यहाँबाट ज्यान जोगाउन भागेका थिए ।
“म स्कुलभित्र पुगेकै थिइनँ, गेटमै थिएँ । बाढी आएपछि त्यहाँबाट भागेँ । साथीहरू कसैलाई भेट्न सकिनँ,” उनले भने ।
बाढीको त्यो कहालीलाग्दो क्षण सम्झँदा स्वस्तिक अहिले पनि अत्तालिन्छन् । खाना खाएर स्कुल जान निस्किएको केही मिनेटमै भाइलाई लिएर ज्यान जोगाउन दौडिनुपरेको थियो । भाइलाई बचाउने क्रममा उनी आफैँ पनि बाढीमा बगे, तर भाग्यवश बाँच्न सफल भए ।
यो सामग्री विविधतापूर्ण स्थानीय सञ्चारमाध्यमलाई सहयोग गर्ने गैरनाफामूलक संस्था यूआरएल कलेक्टिभ को अनुदानबाट सम्भव भएको हो।





