बेपत्ताको शव १० दिनसम्म पनि नभेटिएपछि कुशको पुत्ला बनाएर दाहसंस्कार गर्दै आफन्त


प्रकाशित मिति : १८ भदौ २०८३, बिहिबार

पशुपति आर्यघाटमा बाढीमा बेपत्ता छोराको प्रतीकका रूपमा बनाइएको कुशको पुत्लामा दागबत्ती दिँदै वृद्ध बाबु। फोटो: दीपेन्द्र ढुंगाना

भदौ १० गते नेपालको भोटेकोशीमा आएको विनाशकारी बाढीले निम्त्याएको विपत्तिको दसौं दिनसम्म पनि हजारौं परिवार आफ्ना आफन्तको प्रतीक्षामा छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीमा १,२५९ जनाको मृत्यु भएको छ भने ५,०५३ जना अझै बेपत्ता छन्। एक हजारभन्दा बढी शवको पहिचान हुन बाँकी छ।

मृतकको संख्या बढ्दै जाँदा र बेपत्ताको खोजी जारी रहँदा धेरै परिवारका लागि सबैभन्दा पीडादायी अवस्था भनेको आफ्ना प्रियजनको शवसमेत फेला नपर्नु हो।

शव छैन। अन्तिमपटक अनुहार हेर्न पाएका छैनन्। मृत्युको औपचारिक पुष्टि गर्ने आधारसमेत कतिपय परिवारसँग छैन। तर लामो समयसम्म खोजी गर्दा पनि कुनै अत्तोपत्तो नलागेपछि केही परिवारले हिन्दू परम्पराअनुसार कुशको प्रतिमा बनाएर आफ्ना प्रियजनको अन्तिम संस्कार गर्न थालेका छन्।

यो यस्तो अन्तिम संस्कार हो, जहाँ मलामी छन् तर शव छैन। दागबत्ती छ, तर प्रियजनको शरीर छैन। आँसु छन्, तर अन्तिमपटक अनुहार हेरेर बिदाइ गर्ने अवसर छैन।

न्युयोर्कका पण्डित उद्धव शास्त्रीका अनुसार शव फेला नपरेको अवस्थामा कुशको प्रतिमा बनाएर अन्त्येष्टि गर्ने धार्मिक परम्परा रहेको छ। तर यस्तो संस्कार अघि बढाउन परिवारका मुख्य सदस्यहरूले सम्बन्धित व्यक्ति अब जीवित नरहेको निष्कर्षमा पुग्नु आवश्यक हुने उनी बताउँछन्।

“मान्छे मरेको हो भन्ने पक्का परिवारलाई भएको छ र अब बाँच्ने आशा छैन भन्ने भएपछि परिवारका मुख्य मान्छेहरू बसेर उहाँ मरिसक्नुभयो, बाँच्नुहुन्न भन्ने निष्कर्षमा पुग्नुपर्छ,” शास्त्रीले भने।

त्यसपछि कुशको प्रतिमालाई मृत व्यक्तिको प्रतीक मानेर अन्त्येष्टि गरिने उनले बताए।

“कुशको पुत्ला बनाएर मान्छेको आकृति बनाएर, त्यसलाई मान्छेकै स्वरूप मानेर जलाउने हो,” उनले भने।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

शास्त्रीका अनुसार कुशलाई हिन्दू संस्कारमा पवित्र वस्तुका रूपमा लिइन्छ र विभिन्न धार्मिक कर्ममा यसको प्रयोग हुन्छ। शव नभेटिएको अवस्थामा पनि मृत व्यक्तिको प्रतीकका रूपमा कुशको प्रतिमा बनाएर संस्कार गर्ने परम्परा रहेको उनले बताए।

कुशको पुत्ला बनाएर गरिने यस्तो संस्कारको धार्मिक आधार मृत व्यक्तिको अन्तिम संस्कार पूरा गर्नुसँग जोडिएको छ। फोटो: दीपेन्द्र ढुंगाना

“लास नभएको अवस्थामा त्यसलाई प्रतीक मानेर गरिएको हो। त्यसको शरीरलाई प्रतीक मानेर गरेको जस्तो हो,” शास्त्रीले भने।

उनका अनुसार यस्तो संस्कारको धार्मिक आधार मृत व्यक्तिको अन्तिम संस्कार पूरा गर्नुसँग जोडिएको छ।

“लास नजलाएसम्म शास्त्रमा भनिएको क्रिया पूरा हुँदैन भन्ने मान्यता छ,” उनले भने। “शव नभेटिएको अवस्थामा त्यसलाई प्रतीक मानेर संस्कार गरिन्छ।”

तर धार्मिक संस्कार पूरा भए पनि परिवारको मनमा रहेको पीडा भने त्यत्तिकै समाप्त हुँदैन। शव नभएका कारण उनीहरूले आफ्ना प्रियजनसँग बिताएका दिन, आवाज, अनुहार र सम्झनालाई नै अन्तिम आधार बनाएका छन्।

“मान्छेहरूले उनीहरूका आवाज, अनुहार र उनीहरूसँग बिताएका दिनहरू सम्झेर त्यसैलाई मानेर, त्यस कुशलाई मानेर बिदाइ गर्ने हो,” शास्त्रीले भने।

छोराको शवको सट्टा कुशको पुत्लामा दागबत्ती

पशुपति आर्यघाटमा देखिएको एउटा दृश्यले यही पीडालाई दर्शाएको थियो।

७० वर्षका एक वृद्ध बाबु टोलाएर आर्यघाटतिर हेरिरहेका थिए। अगाडि कुशको प्रतिमा थियो। त्यो प्रतिमा उनका ४२ वर्षका छोरा सुवासको प्रतीक थियो।

बाबु आफ्नै छोराको अन्तिम संस्कार गर्दै थिए—तर छोरा त्यहाँ थिएनन्।

पेशाले ट्रेकिङ व्यवसायी सुवास केही पर्यटकलाई तिब्बतको मानसरोवर लैजाने क्रममा रसुवामा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएका थिए। बाढी आएको आठौं दिनसम्म पनि उनको शव फेला परेन।

खोजी जारी रह्यो। परिवारले प्रतीक्षा गरिरह्यो। तर कुनै खबर आएन।

शव नभेटिएपछि कुशको पुत्लालाई मृतकको प्रतीक मानेर दाहसंस्कार गर्दै आफन्त। फोटो: दीपेन्द्र ढुंगाना

अन्ततः परम्पराअनुसार कुशको प्रतिमा बनाएर सुवासको अन्तिम संस्कार गरियो।

आर्यघाटमा उभिएका ती वृद्ध बाबुका लागि त्यो क्षण एउटा सामान्य धार्मिक कर्म थिएन। छोराको मृत्युको पीडा एकातिर छ । अर्कोतर्फ उनले छोराको शव समेत देख्न पाएनन्। कुशको पुत्लालाई छोराको प्रतीक मानेर अन्तिम बिदाइ गर्नुपर्‍यो।

सुवासकी श्रीमती र दुई सन्तान छन्।

उनीहरूका लागि पनि बाढीले केवल एउटा परिवार सदस्य हराएको होइन, परिवारको भविष्य नै अनिश्चित बनाइदिएको छ।

सात दिनको खोजीपछि पाँच जनालाई बिदाइ

यस्तै पीडाबीच पत्रकार निराजन पौडेलको परिवारले पनि आफ्ना पाँच सदस्यलाई कुशको प्रतिमामार्फत अन्तिम बिदाइ गरेको छ।

नुवाकोटको विदुर नगरपालिका–७, बेत्रावतीस्थित घरबाट बाढीमा बगेर पौडेलका बुवा वासुदेव, आमा गोमा, काका हिमालय, काकी उमा र बहिनी हिमानी बेपत्ता भएका थिए।

एकै परिवारका पाँच सदस्य बेपत्ता भएपछि सुरक्षा निकाय र स्थानीयवासीले लगातार खोजी गरे। आफन्तहरू पनि उनीहरू भेटिने आशामा पर्खिरहे।

तर पाँचै जनाको कुनै अत्तोपत्तो लागेन। अन्ततः हिन्दू परम्पराअनुसार उनीहरूको कुशको पुत्ला बनाएर अन्त्येष्टि तथा काजकिरिया सुरु गरियो।

पौडेलका लागि यो अन्तिम बिदाइको क्षण पनि अधुरो छ।

“बाढी आउनुभन्दा दुई दिनअघि मात्रै आमासँग मेरो कुराकानी भएको थियो,” उनले भावुक हुँदै भने। “घरको कामकाज र हालखबर श्रीमतीले सधैं बुझिरहने गर्थिन्। नियमित कुराकानी हुँदा खानपिन, स्वास्थ्य र सामान्य कामकाजकै विषयमा चर्चा हुन्थ्यो।”

नुवाकोटको बेत्रावतीमा बाढीमा बेपत्ता परिवारका पाँच सदस्यको कुशको पुत्ला बनाएर अन्त्येष्टि गर्दै आफन्त। फोटो: रोजन श्रेष्ठ

दुई दिनअघि मात्रै आमासँग सामान्य कुराकानी गरेका पौडेलले त्यसलाई नै अन्तिम संवादका रूपमा स्वीकार गर्नुपरेको छ।

बाढीले उनको परिवारका पाँच सदस्य मात्र होइन, जन्मगाउँको परिचित संसारसमेत खोसेको छ। उनका छिमेकी र इष्टमित्रहरू पनि विपत्तिमा परेका छन्।

घटनापछि उनी आफ्नो जन्मगाउँसम्म पुग्न सकेका छैनन्।

“टेक्ने जमिनसम्म बाँकी नरहेको त्यो ठाउँमा गएर हेर्ने र पुग्ने हिम्मत नै जुटाउन सकेको छैन,” पौडेलले भने।

अन्तिम संस्कार भयो, तर प्रतीक्षा सकिएको छैन

कुशको पुत्ला जलाइसकेपछि धार्मिक संस्कारको एउटा चरण पूरा हुन्छ। तर परिवारको मनमा रहेको प्रतीक्षा भने त्यति सजिलै समाप्त हुँदैन।

शास्त्रीका अनुसार मृत घोषित गरिएको व्यक्ति पछि जीवितै फर्किएमा त्यसका लागि पनि शास्त्रीय विधि रहेको छ। त्यसैगरी कुशको प्रतिमा बनाएर अन्त्येष्टि गरिसकेपछि वास्तविक शव फेला परेमा पनि पुनः पूरै अन्त्येष्टि दोहोर्‍याउनुपर्ने अवस्था नहुने उनले बताए।

“क्रिया गरिसकेपछि लास भेटियो भने लास जलाउनुपर्छ, तर फेरि क्रिया गर्नु पर्दैन। एउटै मान्छेको दुईपल्ट क्रिया गर्नु पर्दैन,” शास्त्रीले भने।

यी धार्मिक विधिले परिवारलाई संस्कार पूरा गर्ने बाटो दिन्छन्। तर भावनात्मक शोकको कुनै निश्चित अवधि हुँदैन।

पशुपति आर्यघाटमा छोराको शवको सट्टा कुशको पुत्लामा दागबत्ती दिइरहेका वृद्ध बाबु हुन् वा आफ्ना पाँच परिवारजनलाई शवबिनै बिदाइ गर्न बाध्य पत्रकार पौडेल—दुवै कथामा पीडाको केन्द्र एउटै छ।

उनीहरूले आफ्ना प्रियजनलाई बिदाइ गरेका छन्, तर उनीहरूलाई अन्तिमपटक देख्नसमेत पाएका छैनन्।

१,२५९ मृत्यु, ५,०५३ बेपत्ता र एक हजारभन्दा बढी पहिचान हुन बाँकी शवका पछाडि हजारौं परिवारका यस्तै अधुरा कथाहरू छन्।

उद्दारमा नेपाली सेना। फोटोः नेपाली सेना

कसैका लागि छोरा अझै घर फर्किने प्रतीक्षामा छ। कसैका लागि आमा अझै फोनको अर्को छेउबाट हालखबर सोधिरहेकी छन्। कसैका लागि श्रीमान् र दुई सन्तानका बुवा अझै यात्राबाट फर्कने मान्छे हुन्।

कुशको पुत्लामा दागबत्ती दिइयो। काजकिरिया सुरु भयो। धार्मिक संस्कार अघि बढ्यो। तर मनले अन्तिम बिदाइ गर्न अझै संघर्ष गरिरहेको छ। किनकि शव भेटिएको छैन—र शव नभेटिएको ठाउँमा शोकसँगै आशा पनि बाँचेको हुन्छ।


यो सामग्री विविधतापूर्ण स्थानीय सञ्चारमाध्यमलाई सहयोग गर्ने गैरनाफामूलक संस्था यूआरएल कलेक्टिभ को अनुदानबाट सम्भव भएको हो।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com