नेपालमा बाढीबाट मृत्यु हुनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै न्युयोर्कमा दीप प्रज्वलन
प्रकाशित मिति : ११ भदौ २०८३, बिहिबार
नेपाल–तिब्बत सीमावर्ती क्षेत्रमा आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा न्युयोर्कको ज्याक्सन हाइट्सस्थित डाइभर्सिटी प्लाजामा बिहीबार साँझ नेपाली समुदायले दीप प्रज्वलन तथा श्रद्धाञ्जली सभा आयोजना गरेको छ। न्युयोर्कका ३२ वटा संस्थाको सामुहिक आयोजनामा दीप प्रज्वलन गरिएको हो ।

कार्यक्रममा सहभागीहरूले ‘नेपाल’ लेखिएको आकृति र नेपालको राष्ट्रिय झण्डाको स्वरूपमा राखिएका मैनबत्ती प्रज्वलन गरेका थिए। उनीहरूले मृतकको चिरशान्ति, घाइतेको शीघ्र स्वास्थ्यलाभ तथा सम्पर्कविहीन व्यक्तिहरूको सकुशल खोजी र उद्धारका लागि प्रार्थना गरे।

नेपाल र तिब्बतको सीमा क्षेत्रमा बुधबार आएको आकस्मिक बाढी र पहिरोपछि मृत्यु हुनेको संख्या ३९० नाघेको छ भने १,००० भन्दा बढी व्यक्ति सम्पर्कविहीन रहेका छन्। अमेरिकी विदेश मन्त्रालयका अनुसार करिब ९० अमेरिकी नागरिक पनि सम्पर्कविहीनको सूचीमा छन्।

कार्यक्रममा सहभागी समुदायका सदस्यहरूले प्राकृतिक विपत्तिले नेपालमा गम्भीर क्षति पुर्याएको भन्दै पीडित परिवारप्रति समवेदना व्यक्त गरे। वक्ताहरूले विदेशमा रहेका नेपालीले आर्थिक, नैतिक र भौतिक सहयोगमार्फत विपद्पीडितको साथमा उभिनुपर्नेमा जोड दिएका थिए।

कार्यक्रममा नेपाली जनसम्पर्क समिति न्युयोर्क च्याप्टरका सभापति दिनेश भण्डारी, एनआरएनए न्युयोर्क च्याप्टरका अध्यक्ष बासु लामिछाने, एनआरएनए अमेरिकाका अध्यक्ष सतेन्द्र शाह, फिप्नाका अध्यक्ष एपी शेर्पा, एनआरएनए अमेरिकाकी सचिव लक्ष्मी थापा तथा समाजसेवीहरू कृष्ण लामिछाने र देवकी पन्त, रसुवा समाजका सोनाम तेन्जिङ र राजन तामाङलगायतले सम्बोधन गरेका थिए।

वक्ताहरूले भने, “मृत्यु हुने सबैप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ। विदेशमा बसे पनि हामी पीडित परिवारका साथमा छौँ। दुःखको यस घडीमा सहयोगका लागि सबै नेपाली एकजुट हुनुपर्छ।”

उनीहरूले राहत रकम प्रभावकारी र पारदर्शी ढङ्गले वास्तविक पीडितसम्म पुग्ने व्यवस्था हुनुपर्नेमा जोड दिए। व्यक्तिगत वा संस्थागत रूपमा गरिने सहयोगलाई समन्वय गरी एकीकृत माध्यमबाट पठाउन सके राहत वितरण थप व्यवस्थित हुने धारणा वक्ताहरूले राखेका थिए।

कार्यक्रममा न्युयोर्कका विभिन्न नेपाली सामाजिक, जिल्ला तथा सामुदायिक संस्थाका प्रतिनिधि र सर्वसाधारणको उपस्थिति थियो। वक्ताहरूले नेपालभित्र र विदेशमा रहेका सबै नेपालीलाई आ-आफ्नो क्षमताअनुसार सहयोग गर्न आग्रह गरे। उनीहरूले विपद्का बेला जात, धर्म, क्षेत्र र राजनीतिक आस्थाभन्दा माथि उठेर मानवीय सहयोगमा केन्द्रित हुनुपर्ने बताए।

“थोरै वा धेरै भन्ने हुँदैन,” वक्ताहरूले जोड दिँदै भने, “एक गिलास पानी, एउटा सानो सहयोग वा उद्धारका लागि गरिएको प्रयासले पनि पीडितको जीवनमा ठूलो अर्थ राख्न सक्छ।”

रसुवा तथा आसपासका बाढी प्रभावित क्षेत्रसँग सम्बन्धित सामुदायिक प्रतिनिधिहरूले खोज तथा उद्धार जारी रहेको उल्लेख गर्दै बेपत्ता व्यक्तिहरूको अवस्था यथाशीघ्र स्पष्ट होस् भन्ने कामना गरे। वक्ताहरूले राहत संकलन र वितरणमा नेपाल सरकार तथा सम्बन्धित निकायसँग समन्वय गर्न पनि आग्रह गरेका थिए।

अमेरिकामा रहेका नेपालीहरूले यसअघि पनि नेपालका बाढीपीडितप्रति दुःख व्यक्त गर्दै राहत अभियानका लागि आह्वान गरेका थिए। न्युयोर्कको डाइभर्सिटी प्लाजामा बिहीबार साँझको कार्यक्रम मृतकको सम्मान, पीडित परिवारसँग ऐक्यबद्धता र राहत सहयोग विस्तार गर्ने उद्देश्यले आयोजना गरिएको थियो। कार्यक्रमको अन्त्यमा सहभागीहरूले एक मिनेट मौनधारण गर्दै मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए।

बाढीले नेपालका सडक, पुल, बस्ती र सञ्चार संरचनामा ठूलो क्षति पुर्याएको जनाइएको छ। घटनापछि उद्धार टोलीहरूले प्रभावित क्षेत्रमा खोजी तथा राहत अभियान जारी राखेका छन्। मृत्यु र बेपत्ताको संख्या भने उद्धार तथा विवरण संकलनसँगै परिवर्तन हुन सक्ने अधिकारीहरूले बताएका छन्।

सबै तस्वीर: राजन काफ्ले





