अमेरिकामा ९,७१६ नेपालीका देशनिकालाका मुद्दा पेन्डिङ, ५% सँग छैन वकिल; कति पर्छ कानुनी शुल्क?
प्रकाशित मिति : २८ श्रावण २०८३, बिहिबार
अमेरिकी अध्यागमन अदालतहरूमा देशनिकालाको सामना गरिरहेका आधाभन्दा बढी आप्रवासीसँग कुनै वकिल वा मान्यता प्राप्त प्रतिनिधि छैनन्। तर नेपाली नागरिकको हकमा भने कानुनी प्रतिनिधित्व नभएका व्यक्तिको सङ्ख्यामा उल्लेख्य गिरावट आएको छ।
आर्थिक वर्ष २०२६ मा राष्ट्रिय स्तरमा अध्यागमन अदालतमा रहेका ५३.६७ प्रतिशत व्यक्तिसँग कानुनी प्रतिनिधित्व थिएन। जुन महिनाको अन्त्यसम्म देशभर विचाराधीन रहेका ३१ लाख ९५ हजार १३७ सक्रिय मुद्दामध्ये १७ लाख १४ हजार ७२२ मुद्दामा कुनै वकिल वा मान्यता प्राप्त प्रतिनिधि दर्ता भएका थिएनन्। बाँकी १४ लाख ८० हजार ४१५ मुद्दामा कानुनी प्रतिनिधि थिए। ट्रान्ज्याक्सनल रेकर्ड्स एक्सेस क्लियरिङहाउसका अनुसार जुन २०२६ को अन्त्यमा अध्यागमन अदालतमा कुल ३१ लाख ९५ हजार मुद्दा विचाराधीन थिए।
ट्रान्ज्याक्सनल रेकर्ड्स एक्सेस क्लियरिङहाउसद्वारा संकलित अध्यागमन अदालतको तथ्याङ्कअनुसार सन् २०२६ मा नेपाली नागरिकसँग सम्बन्धित ९,७१६ विचाराधीन मुद्दामध्ये केवल ४९५ मुद्दामा, अर्थात् ५.१ प्रतिशतमा, वकिल थिएनन्। यो तथ्याङ्क सन् २०२३ को तुलनामा ठूलो सुधार हो। त्यसबेला ६,४५१ नेपाली नागरिकसँग सम्बन्धित विचाराधीन मुद्दामध्ये १,७०० मुद्दा अर्थात् २६.३ प्रतिशतमा कानुनी प्रतिनिधित्व थिएन।
प्रतिनिधित्वविहीन नेपाली मुद्दाको सङ्ख्या घट्दै गए पनि समग्र नेपाली मुद्दाको सङ्ख्या भने निरन्तर बढिरहेको छ। कानुनी प्रतिनिधि भएका नेपाली नागरिकका विचाराधीन मुद्दा सन् २०२२ मा ३,७७५ रहेकामा सन् २०२३ मा ४,७५१, सन् २०२४ मा ७,८५८, सन् २०२५ मा ८,९९३ र सन् २०२६ मा ९,२२१ पुगेका छन्।
अर्कोतर्फ, सन् २०२३ मा १,७०० पुगेर उच्च बिन्दुमा पुगेको प्रतिनिधित्वविहीन नेपाली मुद्दाको सङ्ख्या त्यसपछि लगातार घट्दै गएको छ। यस्तो मुद्दाको सङ्ख्या सन् २०२१ मा ३५४ र सन् २०२२ मा ६७३ थियो, जुन कुल मुद्दाको १५.१ प्रतिशत हो। सन् २०२३ मा यो बढेर २६.३ प्रतिशत पुगे पनि त्यसपछि घट्दै सन् २०२४ मा ९९७ अर्थात् ११.३ प्रतिशत, सन् २०२५ मा ६६४ अर्थात् ६.९ प्रतिशत र सन् २०२६ मा ४९५ अर्थात् ५.१ प्रतिशतमा झरेको छ।
अदालतको तथ्याङ्कअनुसार सक्रिय नेपाली मुद्दा ठूला महानगरीय क्षेत्रमा केन्द्रित छन्। न्युयोर्क ३,७२८ कुल विचाराधीन मुद्दासहित देशमै अगाडि छ। त्यसमध्ये ३,६०५ जनासँग वकिल छ भने १२३ जनासँग कानुनी प्रतिनिधि छैन। न्युयोर्कमा प्रतिनिधित्वविहीन मुद्दाको दर ३.३ प्रतिशत छ।
सान फ्रान्सिस्कोमा कुल २,११८ मुद्दामध्ये २,०७३ मा कानुनी प्रतिनिधित्व छ भने ४५ मुद्दा प्रतिनिधित्वविहीन छन्, जुन २.१ प्रतिशत हो। सान एन्टोनियोमा १,५२२ कुल मुद्दामध्ये १,४५९ मा प्रतिनिधित्व छ भने ६३ मुद्दा प्रतिनिधित्वविहीन छन्। यहाँ प्रतिनिधित्वविहीन मुद्दाको दर ४.१ प्रतिशत छ।
अन्य प्रमुख अध्यागमन अदालतहरूमा कन्कर्ड, न्यु ह्याम्पसायरमा ४२०, डेन्भरमा ३११, बाल्टिमोरमा २५०, डलासमा १८३, बोस्टनमा १०७, शिकागोमा ९७, न्युयोर्कको भेरिक स्ट्रिटमा ९१, स्याक्रामेन्टो, क्यालिफोर्नियामा ९०, नेवार्क, न्यु जर्सीमा ६८ र स्टर्लिङ, भर्जिनियामा ६६ नेपाली नागरिकसँग सम्बन्धित विचाराधीन मुद्दा रहेका छन्।
अमेरिकामा अध्यागमन वकिलको सेवा शुल्क मुद्दाको प्रकृति, जटिलता र शहरअनुसार फरक–फरक हुन्छ। सामान्यतया वकिलहरूले प्रतिघण्टा शुल्क वा निश्चित सेवाका लागि एकमुष्ट शुल्क लिने गर्छन्। प्रतिघण्टा कानुनी सेवा शुल्क सामान्यतया १५० देखि ५०० अमेरिकी डलरसम्म पर्न सक्छ। प्रारम्भिक परामर्शका लागि वकिलहरूले ५० देखि ४०० डलरसम्म शुल्क लिन सक्छन् भने कतिपयले निःशुल्क परामर्शसमेत दिने गर्छन्।
अध्यागमन अदालतमा देशनिकालाबाट जोगिन लडिने मुद्दा तुलनात्मक रूपमा महँगो हुन्छ। यस्ता मुद्दाका लागि औसत वकिल शुल्क ५,००० देखि १५,००० डलरसम्म पर्न सक्छ। मुद्दा अत्यन्त जटिल भएमा योभन्दा बढी शुल्कसमेत लाग्न सक्छ। त्यसैगरी, शरण आवेदनका लागि सामान्यतया ३,००० देखि १०,००० डलरसम्म खर्च हुन सक्छ।
अन्य सामान्य अध्यागमन प्रक्रियामा परिवारमा आधारित ग्रिन कार्ड आवेदनका लागि २,५०० देखि ५,००० डलर र नागरिकता आवेदनका लागि ८०० देखि २,००० डलरसम्म वकिल शुल्क लाग्न सक्छ। यी शुल्क वकिलले उपलब्ध गराउने कानुनी सेवाका लागि मात्र हुन्। अमेरिकी सरकार वा अध्यागमन अदालतलाई बुझाउनुपर्ने सरकारी आवेदन तथा फारम शुल्क यसमा समावेश हुँदैन।





