नेपालमा भिसा दुरुपयोग र क्रिश्चियन धर्म प्रचार आरोपमा अमेरिकीलाई देशनिकाला गरिँदै


प्रकाशित मिति : २७ श्रावण २०८३, बुधबार

वैवाहिक भिसामा नेपाल बस्दै आएका ७२ वर्षीय कोरियाली मूलका अमेरिकी नागरिक पिटर उर्फ किम क्वाङ-सङलाई गैरकानुनी रूपमा क्रिश्चियन धर्मको प्रचारप्रसार गरेको तथा भिसाको सर्तविपरीत गतिविधि सञ्चालन गरेको आरोपमा नियन्त्रणमा लिएर देशनिकाला गर्ने प्रक्रिया अघि बढाइएको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक र प्रहरी चौकी नमोबुद्धको संयुक्त टोलीले उनलाई २०८३ साउन ६ गते नमोबुद्ध नगरपालिका–२ बाट नियन्त्रणमा लिएको थियो।

स्थानीय बालबालिकालाई शिक्षा र आवासीय सुविधा उपलब्ध गराउने नाममा क्रिश्चियन धर्म अपनाउन दबाब दिएको तथा वैवाहिक भिसाको दुरुपयोग गरी गैरकानुनी गतिविधि सञ्चालन गरेको भन्ने उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

बालबालिकामाथि धार्मिक दबाबको आरोप

अध्यागमन विभाग र जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको प्रारम्भिक अनुसन्धानअनुसार, पिटरले नमोबुद्ध नगरपालिका–२ मा रहेको ‘लाइट एन्ड साल्ट क्रिश्चियन स्कुल’मा २५ जना बालबालिकालाई अध्ययन गराउँदै आएका थिए। उक्त संस्थासँग सम्बद्ध छात्रावासमा २९ जना बालबालिका राखिएको अनुसन्धानबाट खुलेको छ।

अध्ययन र आवासको व्यवस्था गर्ने नाममा त्यहाँ रहेका बालबालिका तथा उनीहरूका अभिभावकलाई अनिवार्य रूपमा चर्च जान, दैनिक क्रिश्चियन प्रार्थना गर्न र धर्म परिवर्तन गर्न मानसिक दबाब दिने गरिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको अध्यागमन विभागको भनाइ छ।

पिटरले ३५ वर्षीया नेपाली महिलासँग विवाह गरेपछि वैवाहिक नातासम्बन्धी भिसाका आधारमा नेपालमा बसोबासको अनुमति लिएको विभागले जनाएको छ। उनीहरूका दुई सन्तान छन्। विवाहअघि र पछि पनि उनी विभिन्न समयमा व्यावसायिक तथा पर्यटक भिसामा नेपाल आउने-जाने गरेको अनुसन्धानमा उल्लेख छ।

नेपाली महिलासँग विवाह गरेपछि उनले श्रीमतीको नाममा विभिन्न व्यवसाय, इन्स्टिच्युट र विद्यालय दर्ता गरी सञ्चालन गर्दै आएको अनुसन्धानबाट खुलेको छ। तर, ती संस्थाको वित्तीय, प्रशासनिक र व्यवस्थापकीय नियन्त्रण भने उनकै हातमा रहेको अध्यागमन विभागको निष्कर्ष छ।

अनुसन्धानका क्रममा पिटरले यसअघि क्यानाडेली नागरिकसँग विवाह गरेको खुले पनि सम्बन्धविच्छेद भएको प्रमाण पेस नगरेको स्रोतले जनाएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपालको मुलुकी अपराध संहिता, २०७४ ले जबरजस्ती, प्रलोभन वा अनुचित प्रभावमा पारेर कसैलाई धर्म परिवर्तन गराउन निषेध गरेको छ। कानुनले यस्तो कार्यलाई फौजदारी कसुर मानेको छ।

अध्यागमन नियमावली, २०५१ अन्तर्गत वैवाहिक भिसा पारिवारिक सम्बन्धका आधारमा नेपालमा बसोबास गर्न दिइने भिसा हो। त्यसको उद्देश्यभन्दा बाहिर गएर गतिविधि गरेको पाइएमा विभागले भिसासम्बन्धी कारबाही गर्न सक्छ।

अमेरिका र विदेशी दातृ निकायबाट सहयोग

अनुसन्धान तथा पिटरको बयानअनुसार, उनी अमेरिकाबाट अवकाश प्राप्त व्यक्ति हुन् र मासिक पेन्सन पाउँछन्। नेपालमा सञ्चालित उनका गतिविधिको प्रमुख आर्थिक स्रोत अमेरिकाबाट आउने पेन्सन तथा विदेशी क्रिश्चियन दातृ निकायबाट प्राप्त सहयोग रहेको अनुसन्धानमा उल्लेख छ।

अध्यागमन विभागले तयार पारेको विवरणअनुसार पिटरले काभ्रेको बनेपा र नमोबुद्ध क्षेत्रमा ‘लाइट एन्ड साल्ट क्रिश्चियन स्कुल’ सञ्चालन गर्दै आएका थिए। उक्त विद्यालय सुरुमा अर्का कोरियाली मिसनरीले स्थापना गरेको भए पनि, सन् २०२२ मा सहकर्मी मिसनरी इ ये–शिन र त्यसअघि उनकी पहिलो पत्नीको मृत्यु भएपछि विद्यालय तथा मिसनको सम्पूर्ण जिम्मेवारी पिटरले सम्हाल्दै आएको अनुसन्धानमा उल्लेख छ।

सन् २०२३ अगस्टमा अमेरिकास्थित ‘न्युयोर्क प्योङकाङ चर्च’बाट आएको आठ सदस्यीय मिसन टोलीले विद्यालय तथा मिसन सञ्चालनका लागि १५ हजार अमेरिकी डलर, अर्थात् त्यतिबेलाको विनिमयदरअनुसार करिब २० लाख रुपैयाँ, सहयोग गरेको विवरण अनुसन्धानमा समावेश छ। उक्त रकमबाट विद्यालयमा सोलार प्रणाली जडान, ५५ इन्चको टेलिभिजन खरिद तथा कक्षाकोठा मर्मत गरिएको बताइएको छ।

नेपालको अध्यागमन विभाग । फोटो: खसोखास

काभ्रे बाहिर पनि सञ्जाल

प्रहरी तथा अध्यागमनको अनुसन्धानले पिटरको गतिविधि काभ्रेपलाञ्चोकमा मात्र सीमित नरहेको देखाएको छ। उनले बनेपामा कोरियाली भाषा इन्स्टिच्युट सञ्चालन गरी नेपाली युवालाई आकर्षित गर्ने तथा धार्मिक गतिविधिसँग जोड्ने काम गरेको अनुसन्धानबाट खुलेको छ।

बनेपाको सियोन चर्चसँगको सहकार्यमा उनले पहाडी क्षेत्रमा ‘महिमा (सोमाङ) चर्च’ सञ्चालनमा सहयोग गरेको आरोप छ। सिन्धुलीका एक दम्पतीमार्फत अप्रिल २०२२ मा ‘न्यू लाइफ चर्च’ स्थापना गरी त्यहाँ आबद्ध पास्टरहरूलाई आर्थिक सहायता उपलब्ध गराउँदै आएको पनि अनुसन्धानमा उल्लेख छ।

दोलखाको चरीकोटस्थित ‘चरीकोट बहिरा स्कुल’सँग सन् २०१४ देखि जोडिएर उनले ३० भन्दा बढी आवासीय बहिरा विद्यार्थीलाई सहयोग गर्ने नाममा कोरियाली मिसनरीहरूसँग मिलेर सांकेतिक भाषामार्फत धार्मिक आराधना र बप्तिस्मासम्बन्धी गतिविधि सञ्चालन गरेको आरोप छ।

कानुनी कारबाही तथा देशनिकालाको डरका कारण दोलखामा उक्त गतिविधि गोप्य रूपमा सञ्चालन गरिएको कुरा उनको आफ्नै प्रतिवेदनमा उल्लेख रहेको अनुसन्धान अधिकारीहरूले बताएका छन्।

छ वर्ष नेपाल प्रवेशमा रोकको निर्णय

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार पिटरमाथि जबरजस्ती धर्म परिवर्तन गराएको आरोप तथा भिसाका सर्त उल्लंघन गरेको विषयमा अनुसन्धान गरिएको हो।

अध्यागमन विभागले आरोपको गम्भीरता, भिसाको दुरुपयोग र नेपालमा यसअघिका गतिविधिलाई आधार मान्दै उनलाई देशनिकाला गर्ने निर्णय गरेको जनाएको छ। विभागले उनलाई छ वर्षसम्म नेपाल प्रवेशमा रोक लगाउने निर्णयसमेत गरेको छ।

नेपालमा विगतमा पनि पर्यटक वा अन्य उद्देश्यका भिसामा आएका विदेशी नागरिक धार्मिक प्रचारप्रसारमा संलग्न रहेको आरोपमा पक्राउ तथा देशनिकाला भएका उदाहरण छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com