अमेरिकी विदेश मन्त्रालयद्वारा १ लाख ७५ हजारभन्दा बढी भिसा रद्द, के के छन् कारण?
प्रकाशित मिति : २५ श्रावण २०८३, सोमबार
अमेरिकी विदेश मन्त्रालयले ट्रम्प प्रशासनका बेला विदेशी नागरिकलाई जारी गरिएका १ लाख ७५ हजारभन्दा बढी भिसा रद्द गरेको जनाएको छ। मन्त्रालयले भिसा सर्त उल्लंघन, आपराधिक गतिविधि, ठगी, राष्ट्रिय सुरक्षासम्बन्धी चिन्ता तथा अमेरिकी नागरिकविरुद्ध हिंसालाई समर्थन गरेका आरोपका आधारमा भिसा रद्द गरिएको बताएको छ।
सोमबार मन्त्रालयले अधिकांश भिसा रद्द गर्ने निर्णय कानून कार्यान्वयन निकायसँगको सम्पर्क वा घटनापछि भएको जनाएको छ। मन्त्रालयका अनुसार आक्रमण, मादक पदार्थ सेवन गरी सवारी चलाउने, चोरी तथा लागुऔषधसम्बन्धी अपराध भिसा रद्दका प्रमुख कारण थिए।
मन्त्रालयले लापरवाहीपूर्वक सवारी चलाउने, यौन दुर्व्यवहार, बालबालिकामाथि दुर्व्यवहार, ठगी र हिनामिनासँग सम्बन्धित घटनाका कारण पनि उल्लेख्य संख्यामा भिसा रद्द भएको जनाएको छ।
विदेश मन्त्रालयले यसलाई आफ्नो निरन्तर भिसा अनुगमन प्रक्रियाको परिणाम भनेको छ। उक्त प्रक्रियामार्फत भिसा प्राप्त व्यक्तिले भिसाका सर्त पालना गरिरहेका छन् कि छैनन् र उनीहरूले अमेरिकी नागरिकको सुरक्षामा जोखिम त सिर्जना गरेका छैनन् भन्ने समीक्षा गरिने मन्त्रालयले जनाएको छ।
तथ्यपत्रमा बलात्कार, अपहरण, मानव तस्करी, नाबालिगको यौन शोषण तथा बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्री राखेको आरोप लागेका व्यक्तिका भिसा रद्द गरिएको उदाहरण उल्लेख गरिएको छ। उत्तर अफ्रिकास्थित एक अमेरिकी दूतावासले आफ्ना बच्चाले अमेरिकी नागरिकता पाउन भन्ने मुख्य उद्देश्यले अमेरिका गई सुत्केरी हुने व्यक्तिका १०० भन्दा बढी भिसा रद्द गरेको पनि मन्त्रालयले जनाएको छ।
मन्त्रालयले रद्द गरिएका भिसाको देशगत विवरण, प्रभावित भिसाको श्रेणी तथा तीमध्ये कति व्यक्तिलाई अमेरिकाबाट हटाइएको छ भन्ने विवरण भने सार्वजनिक गरेको छैन।
विदेशमन्त्री मार्को रुबियोले क्युबा र इरान सरकारसँग सम्बन्ध रहेको आरोप लागेका व्यक्तिसहित केही विदेशी नागरिकलाई विदेश नीतिसम्बन्धी आधारमा देशनिकाला गर्न मिल्ने ठहर गरेको मन्त्रालयले जनाएको छ। विज्ञप्तिमा अमेरिकी राष्ट्रपतिविरुद्ध हिंसाको चाहना व्यक्त गरेको आरोप लागेका एक कुवेती नागरिकको समेत उदाहरण दिइएको छ।
“अमेरिकी भिसा अधिकार होइन, विशेषाधिकार हो,” मन्त्रालयले भनेको छ। अमेरिकी जनताको सुरक्षामा खतरा पुर्याउने वा भिसा प्रणालीको दुरुपयोग गर्ने व्यक्तिको पहिचान, अनुसन्धान र भिसा रद्द गर्ने काम निरन्तर जारी रहने पनि मन्त्रालयले जनाएको छ।





