घरेलु यात्रा गर्ने ग्रीनकार्डवाहकलाई अमेरिकन इमिग्रेसन लयर एसोसिएसनका सुझाव र चेतावनी
प्रकाशित मिति : २३ श्रावण २०८३, शनिबार
(आधिकारिक होमल्याण्ड सेक्युरिटी तस्बिर/ ब्यारी बहलर)
अमेरिकामा कानुनी स्थायी बासिन्दा अर्थात् ग्रीनकार्डवाहकहरूले अन्य गैरनागरिकको तुलनामा धेरै कानुनी अधिकार पाउँछन्। तर ग्रीनकार्ड हुँदैमा उनीहरू गिरफ्तारी, सोधपुछ वा देशनिकालाको प्रक्रियाबाट पूर्ण रूपमा सुरक्षित भने हुँदैनन्। सामान्य ट्राफिक जाँच, विगतको आपराधिक अभिलेख वा कुनै कानुनी कागजातमा गलत तरिकाले हस्ताक्षर गरेको कारणसमेत अध्यागमनसम्बन्धी समस्या उत्पन्न हुन सक्ने भन्दै अमेरिकन इमिग्रेसन लयर एसोसिएसनले ग्रीनकार्डवाहकहरूलाई अमेरिकाभित्र यात्रा गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेको छ।
अमेरिकन इमिग्रेसन लयर एसोसिएसन अमेरिकाका सबै राज्य तथा विश्वका विभिन्न स्थानमा कार्यरत १७ हजारभन्दा बढी अध्यागमन कानुन व्यवसायीहरूको राष्ट्रिय व्यावसायिक संस्था हो। हालै अद्यावधिक गरिएको संस्थाको यात्रासम्बन्धी सूचनामा ग्रीनकार्डवाहकहरूले घरेलु यात्रा गर्नुअघि आफ्नो कानुनी अवस्थाबारे जानकारी राख्न र सम्भावित जोखिमको मूल्याङ्कन गर्न आग्रह गरिएको छ।
ग्रीनकार्ड सधैँ साथमा राख्नुपर्ने
सङ्घीय कानुनअनुसार १८ वर्ष वा सोभन्दा माथिका ग्रीनकार्डवाहकले आफ्नो ग्रीनकार्ड अर्थात् स्थायी बासिन्दा परिचयपत्र सधैँ साथमा राख्नुपर्ने व्यवस्था छ। अध्यागमन अधिकारीले मागेको अवस्थामा उक्त परिचयपत्र देखाउनुपर्ने हुन्छ।
ग्रीनकार्ड साथमा नराख्नु वा मागिएको अवस्थामा देखाउन असफल हुनु सङ्घीय अपराध मानिन सक्ने र त्यसका लागि १०० अमेरिकी डलरसम्म जरिवाना वा ३० दिनसम्म कैद हुन सक्ने व्यवस्था रहेको छ।
ग्रीनकार्डलाई यातायात सुरक्षा प्रशासनले स्वीकार गर्ने वैध पहिचानपत्रका रूपमा प्रयोग गर्न सकिने भएकाले घरेलु हवाई यात्राका लागि ग्रीनकार्डवाहकले अनिवार्य रूपमा छुट्टै वास्तविक परिचयपत्रयुक्त चालक अनुमतिपत्र लिनुपर्ने हुँदैन। आवश्यक परे राज्य सरकारले जारी गरेको रियल आईडी, चालक अनुमतिपत्र, उन्नत चालक अनुमतिपत्र वा वैध विदेशी राहदानी वैकल्पिक परिचयपत्रका रूपमा प्रयोग गर्न सकिन्छ।
यात्रा गर्दा आफ्नो अध्यागमन वकिलको फोन नम्बर मोबाइल फोनमा मात्र नराखी कागजमा समेत लेखेर साथमा राख्न संस्थाले सुझाव दिएको छ।
विमानस्थलमा अध्यागमनसम्बन्धी जोखिमबारे सचेत रहन आग्रह
अमेरिकन इमिग्रेसन लयर एसोसिएसनका अनुसार घरेलु हवाई यात्राका क्रममा यातायात सुरक्षा प्रशासनबाट सङ्कलन हुने यात्रुसम्बन्धी जानकारी अध्यागमन तथा भन्सार कार्यान्वयन निकायसँग साझा हुन सक्ने अवस्थाबारे ग्रीनकार्डवाहकहरू सचेत हुनुपर्छ।
अध्यागमन तथा भन्सार कार्यान्वयन निकायले उक्त विवरणलाई अन्तिम देशनिकालाको आदेश भएका व्यक्तिहरूको अभिलेखसँग मिलान गर्न सक्ने र आवश्यक ठानेमा विमानस्थलमा पक्राउका लागि अधिकारी परिचालन गर्न सक्ने चेतावनी दिइएको छ। अमेरिकाका विभिन्न विमानस्थलमा अध्यागमन अधिकारीहरू उपस्थित हुने गरेको पनि सूचनामा उल्लेख छ।
यदि कुनै व्यक्तिविरुद्ध अन्तिम देशनिकालाको आदेश जारी भएको छ, पक्राउ पुर्जी छ वा विगतमा आपराधिक अभिलेख छ भने अध्यागमन वकिलसँग परामर्श नगरी हवाई यात्रा नगर्न सुझाव दिइएको छ।
अनुहार पहिचान प्रविधिबारे पनि सचेत हुनुपर्ने
अमेरिकी होमल्याण्ड सेक्युरिटीअन्तर्गत टीएसए, सीबीपी, आइस, युएससीआईएस निकायका हिचानसम्बन्धी प्रणालीलाई एकीकृत गर्ने प्रयास भइरहेको सूचनामा उल्लेख छ। सन् २०२६ को सुरुआतसम्म टीएसएले अनुहार पहिचान प्रविधि ६५ वटा विमानस्थलमा विस्तार गरेको बताइएको छ।
घरेलु हवाई यात्राका क्रममा अनुहार पहिचानबाट आफ्नो पहिचान प्रमाणित गर्ने प्रक्रियाबाट बाहिरिने विकल्प यात्रुसँग हुन सक्ने जनाइएको छ। त्यसका लागि यात्रुले अधिकारीलाई आफू अनुहार पहिचान प्रक्रियाबाट बाहिरिन चाहेको र म्यानुअल रूपमा परिचयपत्र प्रमाणीकरण गर्न चाहेको बताउन सक्छन्।
यदि अधिकारीले यस्तो अनुरोध अस्वीकार गरेमा सुपरभाइजर बोलाउन अनुरोध गर्न सकिने सुझाव दिइएको छ। यद्यपि, कानुनी रूपमा अमेरिकामा प्रवेश वा अन्य प्रक्रियाका क्रममा पहिले नै सङ्कलन गरिएका अनुहारका जैविक पहिचानसम्बन्धी विवरणहरू पछि अनुहार पहिचान प्रक्रियाबाट बाहिरिए पनि प्रणालीमा रहन सक्ने विषयमा पनि ध्यान दिनुपर्ने बताइएको छ।
पुरानो आपराधिक रेकर्डले पनि समस्या
ग्रीनकार्डवाहकहरूले आफ्नो विगतको आपराधिक अभिलेखलाई सामान्य रूपमा लिन नहुने चेतावनी दिइएको छ। पुरानो मादक पदार्थ सेवन गरी सवारी चलाएको अभियोग, सानातिना अपराध वा अभियोग स्वीकार गर्ने सम्झौतामार्फत मुद्दा टुंग्याइएको अवस्था पनि केही परिस्थितिमा अध्यागमनसम्बन्धी गम्भीर परिणाम निम्त्याउन सक्ने भएकाले कुनै पनि आपराधिक मुद्दामा सम्झौता गर्नुअघि अध्यागमन वकिलसँग परामर्श गर्न सुझाव दिइएको छ।
विशेषगरी अलाबामा, टेक्सास र फ्लोरिडाजस्ता राज्यहरूमा अध्यागमन नियन्त्रणसम्बन्धी कडा कानुनी व्यवस्था र कार्यान्वयनका कारण अतिरिक्त जोखिम हुन सक्ने बताइएको छ। केही अवस्थामा सामान्य ट्राफिक जाँचकै क्रममा अध्यागमनसम्बन्धी हिरासत वा गिरफ्तारीको अवस्था उत्पन्न हुन सक्ने भएकाले आफ्नो अध्यागमन अवस्थाबारे कुनै समस्या वा शंका भएमा ती राज्यमा यात्रा गर्नुअघि वकिलसँग परामर्श गर्न आग्रह गरिएको छ।
सीमाबाट १०० माइलसम्मको क्षेत्रमा थप अधिकार
अमेरिकाको सीमाबाट १०० माइलसम्मको क्षेत्रमा सीमा सुरक्षा गस्ती अधिकारीहरूलाई विशेष जाँच अधिकार हुने भएकाले यस क्षेत्रमा यात्रा गर्ने ग्रीनकार्डवाहकहरूले पनि थप सावधानी अपनाउनुपर्ने बताइएको छ।
यस क्षेत्रमा फ्लोरिडा, मिशिगन, न्यु इङ्ग्ल्यान्डका राज्यहरू तथा एरिजोना, क्यालिफोर्निया र टेक्सासलगायतका राज्यका ठूलो भूभाग पर्न सक्छन्। यस्तो क्षेत्रमा सीमा सुरक्षा गस्तीले केही परिस्थितिमा वारेन्टबिना बस वा रेलमा चढेर यात्रुहरूको जाँच गर्न सक्ने उल्लेख छ।
अधिकारीले रोकेमा शान्त रहन र अधिकार प्रयोग गर्न आग्रह
अध्यागमन वा अन्य अधिकारीले रोकेमा, सोधपुछ गरेमा वा नियन्त्रणमा लिएमा ग्रीनकार्डवाहकहरूले शान्त रहन र भाग्ने, विवाद गर्ने वा शारीरिक प्रतिरोध गर्ने काम नगर्न सुझाव दिइएको छ।
अधिकारीले कानुनी रूपमा ग्रीनकार्ड मागेको अवस्थामा ग्रीनकार्ड देखाउनुपर्ने हुन्छ। तर अनुहार पहिचान प्रक्रियाबाट बाहिरिन चाहने व्यक्तिले आफू त्यस प्रक्रियाबाट बाहिरिन चाहेको र म्यानुअल रूपमा परिचयपत्र प्रमाणीकरण गर्न चाहेको स्पष्ट रूपमा बताउन सक्छ।
सोधपुछका क्रममा व्यक्तिले आफ्नो मौन रहने अधिकार प्रयोग गर्न सक्छ। त्यसका लागि आफू मौन रहने अधिकार प्रयोग गरिरहेको स्पष्ट रूपमा बताउन र त्यसपछि थप प्रश्नको जवाफ नदिन सुझाव दिइएको छ।
त्यसपछि आफू वकिलसँग कुरा गर्न चाहेको स्पष्ट रूपमा बताउन र कानुनी प्रतिनिधिसँग कुरा नगरी थप प्रश्नको उत्तर नदिन आग्रह गरिएको छ।
कुनै पनि कागजातमा हतारमा हस्ताक्षर नगर्न सुझाव
अध्यागमन अधिकारीहरूले कुनै कागजातमा हस्ताक्षर गर्न आग्रह गरेमा ग्रीनकार्डवाहकहरूले त्यसलाई बुझेर मात्र हस्ताक्षर गर्नुपर्ने बताइएको छ। विशेषगरी स्वैच्छिक प्रस्थानसम्बन्धी कागजातमा हतारमा हस्ताक्षर नगर्न अत्यन्तै महत्त्वपूर्ण रहेको सूचनामा उल्लेख छ।
यस्ता कागजातमा हस्ताक्षर गर्दा व्यक्तिको अध्यागमन मुद्दामा उपलब्ध कानुनी अधिकारमा गम्भीर असर पर्न सक्छ। त्यसैले कुनै पनि कागजातमा हस्ताक्षर गर्नुअघि अध्यागमन वकिलसँग परामर्श गर्नु सुरक्षित हुने बताइएको छ।
यात्रुअघि आफ्नो अध्यागमन अवस्था जाँच्न सुझाव
अमेरिकन इमिग्रेसन लयर एसोसिएसनले ग्रीनकार्डवाहकहरूलाई घरेलु यात्रा गर्नुअघि आफ्नो अध्यागमन अभिलेख, कुनै पुरानो आपराधिक मुद्दा, देशनिकालाको आदेश, पक्राउ पुर्जी वा अन्य कानुनी समस्या छ कि छैन भन्ने विषयमा जानकारी लिन सुझाव दिएको छ।
विशेषगरी विगतमा पक्राउ परेको, आपराधिक मुद्दा चलेको, अदालतबाट कुनै आदेश भएको वा अध्यागमनसम्बन्धी समस्या रहेको व्यक्तिले यात्रा गर्नुअघि योग्य अध्यागमन वकिलसँग आफ्नो अवस्थाबारे परामर्श गर्नु महत्त्वपूर्ण हुने बताइएको छ।
यो जानकारी सामान्य सूचनाका लागि मात्र हो र यसलाई कानुनी सल्लाहका रूपमा लिनु हुँदैन। आफ्नो व्यक्तिगत अवस्थाका आधारमा कुनै निर्णय गर्नुअघि योग्य तथा अनुमतिप्राप्त अध्यागमन वकिलसँग परामर्श गर्नुपर्छ।





