अमेरिकाभित्र यात्रा गर्ने कागजातविहीन आप्रवासीका लागि ६ सुझाव
प्रकाशित मिति : १९ श्रावण २०८३, मंगलबार
Photo by Andres Molina on Unsplash
अमेरिकाभित्र यात्रा गर्ने कागजातविहीन आप्रवासीहरूका लागि पछिल्लो समय जोखिम उल्लेख्य रूपमा बढेको छ। अमेरिकन इमिग्रेसन लयर्स एसोसिएसनले जारी गरेको नयाँ फ्लायरअनुसार नयाँ सङ्घीय नीतिहरू र विभिन्न राज्यका कडा कानुनका कारण आन्तरिक यात्राका क्रममा पक्राउ पर्ने वा अध्यागमन हिरासतमा पर्न सक्ने सम्भावना बढेको छ। हवाईजहाज, बस, रेल वा आफ्नै सवारीसाधनबाट नजिकका सहरहरूमा यात्रा गर्दा पनि अध्यागमन अधिकारीहरूसँग सामना हुन सक्ने भएकाले यात्रा गर्नुअघि अध्यागमन वकिलसँग परामर्श लिन आग्रह गरिएको छ।
विमानस्थलहरूमा यातायात सुरक्षा प्रशासन टीएसएले आन्तरिक उडान गर्ने यात्रुहरूको विवरण अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्तन निकायसँग आदानप्रदान गरिरहेको छ। उक्त निकायले ती विवरणलाई अन्तिम देशनिकाला आदेश भएका व्यक्तिहरूको अभिलेखसँग तुलना गरी विमानस्थलमै आफ्ना अधिकारी परिचालन गरेर पक्राउ गर्ने गरेको छ।
विशेष गरी अन्तिम देशनिकाला आदेश भएका, निवेदन विचाराधीन रहेका वा आपराधिक पृष्ठभूमि भएका व्यक्तिहरू उच्च जोखिममा रहेको बताइएको छ। यदि यीमध्ये कुनै पनि कुरा लागू हुन्छ भने पहिले आफ्नो वकिलसँग परामर्श नगरी हवाई यात्रा नगर्न सुझाव दिइएको छ।
होमल्याण्ड सेक्युरिटीले टीएसए, आईस, सीबीपी र युएससीआईएसका बायोमेट्रिक डेटाबेसहरूलाई अनुहार पहिचान प्रविधि समेत समेटेर एउटै एकीकृत प्लेटफर्ममा एकीकृत गर्दैछ। सन् २०२६ को सुरुदेखि टीएसएले ६५ वटा विमानस्थलमा अनुहार पहिचान प्रविधि विस्तार गरे पनि आन्तरिक उडानका यात्रुले यो प्रक्रियाबाट बाहिरिने अधिकार प्रयोग गर्न सक्छन्।
त्यसका लागि उनीहरूले “म अनुहार पहिचान प्रक्रियाबाट बाहिरिन चाहन्छु। मेरो परिचयपत्रको म्यानुअल रूपमा प्रमाणीकरण गरियोस्।” भन्न सक्नेछन्।यदि एजेन्टले अस्वीकार गरेमा सुपरभाइजरलाई बोलाउन आग्रह गर्न सुझाव दिइएको छ । यद्यपी कानुनी प्रवेशको समयमा लिइएका पहिलेका अनुहार पहिचान स्क्यानहरू तपाईंले पछि यो कार्यक्रममा सहभागी नभएतापनि प्रणालीमा रहन सक्छन्।
यसैगरी, अमेरिकी सीमाबाट १०० माइलभित्रका क्षेत्रमा अमेरिकी भन्सार तथा सीमा सुरक्षा निकायलाई बिना अदालतको अनुमति बस र रेलमा चढेर जाँच गर्ने कानुनी अधिकार छ। यो क्षेत्रभित्र फ्लोरिडा, मिसिगन, एरिजोना, क्यालिफोर्निया, टेक्सस र न्यू मेक्सिकोलगायतका राज्यहरू तथा अमेरिकाको करिब दुई तिहाइ जनसङ्ख्या पर्छ।
अधिकारीहरूले कानुनी हैसियतबारे सोधपुछ गर्दा जवाफ नदिने अधिकार यात्रुसँग भए पनि त्यसका कारण सवारीसाधनबाट ओरालिनुपर्ने जोखिम रहन्छ। साथै, अलाबामा, टेक्सस र फ्लोरिडाजस्ता उच्च जोखिम मानिएका केही राज्यमा सामान्य ट्राफिक जाँचका क्रममा समेत अध्यागमन हिरासतमा पर्न सक्ने कानुनी जोखिम बढी रहेको उल्लेख गरिएको छ।
जोखिमबाट बच्नका लागि यात्रा गर्नुअघि अनिवार्य रूपमा आफ्नो अध्यागमन वकिलसँग सल्लाह लिन, यात्राको योजना र वकिलको सम्पर्क नम्बर कुनै विश्वासिलो व्यक्तिलाई उपलब्ध गराउन तथा आफू हिरासतमा परेमा बालबालिकाको हेरचाह कसले गर्ने भन्ने व्यवस्था पहिले नै मिलाउन सुझाव दिइएको छ। यात्राका क्रममा मोबाइल फोन जफत हुन सक्ने भएकाले वकिलको नम्बर कण्ठ गर्न वा लेखेर सुरक्षित राख्न सुझाव दिइएको छ ।
आफ्नो कानुनी हैसियत वा प्रक्रियामा रहेका आवेदनहरू पुष्टि गर्ने कागजातसहित अध्यागमनसम्बन्धी महत्त्वपूर्ण कागजातहरूको भौतिक प्रतिलिपिहरू साथमा राख्न तथा हवाई यात्रा गर्नुअघि आफ्ना विद्युतीय उपकरणहरू सुरक्षित राख्न सुझाव दिइएको छ ।
यदि यात्राका क्रममा अधिकारीहरूले रोकेमा वा सोधपुछ गरेमा शान्त रहन र कुनै पनि प्रकारको शारीरिक प्रतिवाद नगर्न अमेरिकन इमिग्रेसन लयर्स एसोसिएसनले सल्लाह दिएको छ। परिचयका लागि राहदानी देखाउन सकिए पनि भिसाको प्रकार खुलाउन आवश्यक छैन।
अधिकारीहरूसँग कुरा गर्दा मौन रहने अधिकार प्रयोग गर्दै “म आफ्नो मौन रहने अधिकार प्रयोग गर्दैछु।” तथा वकिलको माग गर्दै “म वकिलसँग कुरा गर्न चाहन्छु।” भन्न सकिने उल्लेख गरिएको छ। वकिलको सल्लाहबिना कुनै पनि अध्यागमनसम्बन्धी फाराममा हस्ताक्षर नगर्न चेतावनी दिइएको छ, किनकि त्यसो गर्दा अदालतमा आफ्नो मुद्दा बहस गर्ने अधिकार स्थायी रूपमा गुम्न सक्छ।
यो जानकारी सामान्य सचेतनाका लागि मात्र भएकाले यात्रा गर्नुअघि मान्यता प्राप्त अध्यागमन वकिलसँग परामर्श लिन आग्रह गरिएको छ।





