अमेरिकामा केही एसाइलम आवेदन अब युएससीआईएसमा अन्तर्वार्ताबिनै अदालत रिफर गरिने


प्रकाशित मिति : ११ श्रावण २०८३, सोमबार

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले युएससीआईएसलाई केही एसाइलम (शरण) आवेदनहरू पहिलो अन्तर्वार्ता नगरीकन नै सीधा अध्यागमन अदालतमा पठाउन सक्ने गरी नियम परिवर्तनको घोषणा गरेको छ। यो अन्तरिम अन्तिम नियम जुलाई २८ मा फेडरल रजिस्टरमा प्रकाशित हुने तय भएको छ र प्रकाशित हुनेबित्तिकै लागू हुनेछ। यो परिवर्तन प्रक्रियालाई द्रुत बनाउन र आर्थिक वर्ष २०२५ को अन्त्यसम्म १ दशमलव ४ मिलियन नाघेको एसाइलम केसको चाप घटाउने उद्देश्यले ल्याइएको युएससीआईएसले जनाएको छ।

हालको व्यवस्थाअनुसार अमेरिकाभित्र रहेका र देशनिकालाको प्रक्रियामा नरहेका व्यक्तिहरूले दायर गर्ने एसाइलम आवेदन युएससीआईएसको प्रारम्भिक अधिकार क्षेत्रभित्र पर्छ। यसअघि एसाइलम अधिकारीहरूले प्रायः प्रत्यक्ष अन्तर्वार्ता लिएर मात्र एसाइलम स्वीकृत गर्ने वा मुद्दा अध्यागमन न्यायाधीशकहाँ पठाउने निर्णय गर्थे। तर नयाँ नियम लागू भएसँगै एसाइलम अधिकारीहरूले लिखित अभिलेख र पृष्ठभूमि जाँचका आधारमा मात्र पनि केही आवेदनहरूलाई अध्यागमन न्यायाधीशकहाँ रिफर गर्न सक्नेछन्।

यो परिवर्तन विशेष गरी कानुनी रूपमा अमेरिकामा बस्ने आधार नभएका र निश्चित वैधानिक रोक वा अयोग्यताअन्तर्गत पर्ने आवेदकहरूलाई लक्षित गरेर ल्याइएको हो। यसमा अमेरिका प्रवेश गरेको एक वर्षभित्र शरण आवेदन नदिएका र त्यसको अपवाद प्रमाणित गर्न नसकेका, आपराधिक पृष्ठभूमि भएका, यातना तथा उत्पीडनमा संलग्न वा राष्ट्रिय सुरक्षासम्बन्धी रोक लागेका, तथा गम्भीर अपराध वा वाचलिस्टसँग सम्बन्धित नकारात्मक विवेकाधीन कारक (डिस्क्रेशनरी फ्याक्टर्स) भएका आवेदकहरू पर्छन्।

होमल्याण्ड सेक्युरिटीका अधिकारीहरूले हाल चलिरहेका ४४४,००० भन्दा बढी मुद्दाहरू अमेरिका प्रवेश गरेको एक वर्षभन्दा पछि दायर गरिएका आवेदनहरू रहेको अनुमान गरेका छन्, जुन कुल सकारात्मक एसाइलम ब्याकलगको करिब ३१ प्रतिशत हो। साथै, हरेक वर्ष दायर हुने करिब १३२,१६७ नयाँ आवेदनहरू पनि यी मापदण्डअन्तर्गत बिनाअन्तर्वार्ता सीधा अदालत पठाइन सक्ने अनुमान गरिएको छ। अर्कोतर्फ युएससीआईएसले एसाइलम आवेदन स्वीकृत वा अस्वीकृत गर्नुअघि, कानुनी हैसियत कायम राख्ने वा सम्भावित रूपमा बलिया दाबी भएका आवेदकहरूका लागि भने प्रत्यक्ष अन्तर्वार्ता जारी नै राख्नेछ।

“धेरै समयदेखि एसाइलम प्रणालीलाई ढिलाइ गर्न र वर्क परमिट लिन प्रयोग गरिएको छ, वास्तविक संरक्षणका दाबीका लागि होइन,” युएससीआईएसका निर्देशक जोसेफ एड्लोले भने, “अमेरिकाको एसाइलम प्रणाली उत्पीडनको वास्तविक डर बोकेका व्यक्तिहरूको संरक्षणका लागि हो, र यो नियमले स्रोतहरूलाई तिनै दाबीहरूको समयमै निरूपणतर्फ केन्द्रित गर्न मद्दत गर्नेछ।” यस्तै होमल्याण्ड सेक्युरिटीका जनरल काउन्सेल जेम्स पर्सिभलले नियोजित ढिलाइ कानुन कार्यान्वयनका लागि ठूलो बाधा भएको भन्दै यो नियमले कार्यदक्षता बढाउने प्रशासनिक निर्देशनसँग मेल खाने बताएका छन्।

यस नियमले रिफरल पत्रमा आवेदकको विश्वसनीयताबारे मूल्याङ्कन राख्नुपर्ने अनिवार्यतालाई पनि हटाएको छ, जसले अधिकारीहरूलाई प्रारम्भिक योग्यतासम्बन्धी मुद्दामा मात्र केन्द्रित हुन मद्दत गर्नेछ। यसका साथै अब अधिकारीहरूले कुनै आवेदक शरणार्थीको कानुनी परिभाषामा पर्छ कि पर्दैन भन्ने प्रारम्भिक निर्णय नगरीकन पनि विवेकाधीन रूपमा मुद्दा अदालत पठाउन सक्नेछन्। यो नीति तत्काल लागू हुने भए तापनि संघीय रजिस्टरमा प्रकाशित भएको ६० दिनसम्म सार्वजनिक टिप्पणी र सुझावहरू स्वीकार गरिने होमल्याण्ड सेक्युरिटीले जनाएको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com