शरणार्थी शिविरमा १० हजारभन्दा बढीलाई साक्षर बनाएको साहित्य परिषद्, भूटानमा नयाँ नेतृत्व
प्रकाशित मिति : २७ बैशाख २०८३, आइतबार
भूटानी नेपाली साहित्यको संरक्षण र प्रवर्द्धनमा अग्रणी भूमिका खेल्ने साहित्य परिषद्, भूटानको अध्यक्षमा साहित्यसेवी तथा अभियन्ता खेम रिजाल निर्विरोध चयन हुनुभएको छ। शनिबार सम्पन्न भर्चुअल बैठकले नयाँ कार्यसमितिको घोषणा गरेको हो।
निर्वाचन समितिका संयोजक रूपनारायण पोख्रेलले घोषणा गर्नुभएअनुसार उपाध्यक्षमा तिलारूपा आचार्य (अधिकारी), महासचिवमा निल अधिकारी, कोषाध्यक्षमा खग्रेन्द्र भण्डारी (जन्तरे) र सदस्यमा भीम अधिकारी चयन हुनुभएको छ। परिषद्का ६३ सदस्यमध्ये प्रारम्भिक चरणमा पाँच जनाको उम्मेदवारी परेको र थप १५ दिन दिँदा पनि अन्य नआएपछि यिनैलाई जिम्मेवारी दिइएको हो। यो घोषणा भुट्नीलिट्रेचर डटकमको १७औँ स्थापना दिवसमा गरिएको थियो।
पोख्रेल, मनोज राई र प्रतिमान सिवा रहेको तीन सदस्यीय समितिले निष्पक्ष र पारदर्शी निर्वाचन सुनिश्चित गरेको थियो। पुनर्वासपछिको यो चौथो कार्यसमिति हो। यसअघि सन् २०१० देखि २०२६ सम्म भक्त घिमिरे, शिवालाल दहाल र गंगाराम लामिटारेको नेतृत्वमा तीन कार्यसमितिहरू सक्रिय थिए।
सन् १९९३ मार्च १७ मा झापाको बेलडाँगी–२ शरणार्थी शिविरमा ‘भाषा परिषद्, भूटान’का रूपमा स्थापित यो संस्थाले विस्थापनको कठिनाइमाझ नेपाली भाषा र साहित्य जोगायो। सन् २००३ देखि ‘साहित्य परिषद्, भूटान’ बनेपछि शरणार्थी शिविरमा १० हजारभन्दा बढी भुटानी नेपालीलाई साक्षर बनाउने ऐतिहासिक अभियान चलायो। यो अभियानले नेपाली पहिचानको जग बसाल्यो।
रिजालको नेतृत्वमा समितिले अष्ट्रेलिया, क्यानडा, न्यूजील्याण्ड, युरोप र दक्षिण एसियामा निर्देशनालय स्थापना गर्ने निर्णय गरेको छ। अमेरिकामा अमेरिकामा दर्ता भएको गैर-नाफामुखी संस्था भएकाले अमेरिकी सदस्यलाई समावेश गरिएको छ।
“यो नयाँ नेतृत्वले अग्रजहरूलाई सम्मान गर्दै अनुजहरूलाई समेटेर नेपाली भाषा साहित्यको प्रवर्द्धनमा क्रियाशील रहनेछ,” रिजालले भन्नुभयो। नयाँ समितिले प्रवासी भुटानी नेपाली साहित्यिक यात्रालाई नयाँ ऊर्जा, दृष्टि र समर्पणका साथ अघि बढाउने अपेक्षा गरिएको छ।





