विकासको उज्यालोमा रित्तिएका गाउँ


प्रकाशित मिति : २६ बैशाख २०८३, शनिबार

एआईबाट जेनेरेट गरिएको तस्वीर

हिजोआज म युट्युब धेरै हेर्न थालेको छु। विशेष गरेर ट्राभल भ्लगहरू त झन् मेरो रोजाइमै पर्छन्। कहिलेकाहीँ त म साथीभाइसँग ठट्टैमा भन्छु, “आधा संसार त मैले युट्युबमै घुमिसकेँ।”

साँचो भन्नुपर्दा, त्यो केवल ठट्टा मात्र थिएन। युट्युबका ती भिडियोहरूले मलाई संसारका धेरै ठाउँहरूमा पुर्‍याएका छन्, कहिले समुद्र किनार, कहिले हिमाल, कहिले शहरका भीडभाड, त कहिले गाउँको शान्त जीवनतिर।

यस्तै हेर्ने क्रममा एक दिन एउटा भिडियोले मलाई रोकेको थियो। एकजना युट्युबर भिडियो खिच्दै-खिच्दै एउटा गाउँमा पुगेका थिए। गाउँसम्म सडक पुगिसकेको रहेछ। जसोतसो बाटो पीच पनि भइसकेको थियो। हेर्दा लाग्थ्यो, विकासले त्यो दुर्गम बस्तीलाई छोइसकेको छ। त्यो उनको दोस्रो भ्रमण रहेछ, र यसपटक बाटो पीच भएको देख्दा उनी आफैं पनि दंग थिए। क्यामेरामा गाउँका दृश्यहरू कैद गर्दै उनी अघि बढिरहेका थिए।

पहिलो नजरमा त्यो दृश्य आशावादी थियो। जस्तो लाग्थ्यो, अब त्यो गाउँ पनि आधुनिकतासँग जोडिँदै छ।

तर, त्यो दृश्यको गहिराइ भने त्यतिमै सीमित थिएन।

यत्तिकैमा उनले देखे, बाटोको डिलमा बसेर एकजना वृद्ध बाजे बाख्रा चराइरहेका थिए। वरिपरि सुनसान, गाउँमा निस्तब्धता, र त्यसबीच एक्लै ती बाजे। त्यो दृश्य आफैंमा एउटा कथाजस्तै लाग्थ्यो। यस्तो लाग्थ्यो, मानौं त्यो दृश्यले शब्द बिना नै धेरै कुरा भनिरहेको छ।

त्यहाँ एउटा शान्ति थियो, तर त्यो शान्ति जीवन्त होइन, खालीपनबाट आएको शान्ति जस्तो।

युट्युबरले क्यामेरा बाजेतिर तेर्स्याए र सोधे,

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

“बाजे, कस्तो हुनुहुन्छ?”

बाजेले हल्का मुस्कानसहित भने,

“ठिकै छु भन्नुपर्‍यो बाबु।”

युट्युबरले फेरि उत्साहका साथ सोधे,

“अब त यहाँसम्म सडक पनि आइपुगेको रहेछ। तपाईंहरू धेरै खुसी हुनुभएको होला नि?”

बाजे केहीबेर चुप लागेर बसे। अनुहारमा एकाएक गम्भीरता झल्कियो। समयजस्तै थामिएझैं लाग्यो। अनि बिस्तारै बोले,

“खुसी भन्नु कि बेखुसी भन्नु, बाबु? बाटो त आयो, गाडी पनि आयो। तर त्यही गाडी चढेर गाउँका युवाहरू सबै सहर झरे, कति विदेश गए। अहिले त हामी जस्ता बुढाबुढी मात्रै बाँकी छौँ। चाडपर्व पनि खल्लो हुन थाल्यो। कतिपय ठाउँमा त मान्छे मरेपछि मलामी जानसमेत अर्को गाउँलाई गुहार्नुपर्ने अवस्था छ।”

उनको आवाजमा कुनै रिस थिएन, कुनै गुनासोको चर्कोपन पनि थिएन। तर त्यहाँ एउटा गहिरो थकान थियो, समयसँग हार खाएको जस्तो अनुभूति थियो।

बाजेका ती शब्दहरू केवल गुनासा थिएनन्। ती शब्दहरूमा एउटा समयको पीडा थियो, एउटा गाउँको मात्र होइन, आजका हजारौँ गाउँहरूको साझा कथा थियो। त्यहाँ सुनसान भविष्य थियो, र बदलिँदो समाजको तीतो यथार्थ थियो।

युट्युबरले ती शब्दहरू कति बुझे, त्यो त थाहा भएन। क्यामेराले दृश्य कैद गर्‍यो होला, तर पीडाको गहिराइ कति कैद भयो, त्यो अनिश्चित नै रह्यो। तर मलाई भने बाजेका ती केही वाक्यले मनभित्र गहिरो प्रश्नहरू छोडेर गए, त्यस्ता प्रश्नहरू, जसको उत्तर सजिलै पाइँदैन।

उहिले बाजेको पालामा जंगल फाँडेर, पसिना बगाएर, दुख गरेर खेतीयोग्य जमिन बनाइएको थियो। पाखा-पखेरामा ढुंगा फोरेर, माटो सम्याएर बारी बनाइन्थ्यो। त्यो केवल खेती मात्र थिएन, त्यो जीवन बनाउने प्रयास थियो, अस्तित्व टिकाउने संघर्ष थियो।

तर आज, तिनै छोरानातिको पालामा, त्यो जमिन फेरि जंगलमा परिणत हुँदै गएको छ। जहाँ कहिले अन्न फल्थ्यो, त्यहाँ आज झारपात उम्रिएको छ। जहाँ कहिले मान्छेका पाइला पर्थे, ती बाटाहरू आज सुनसान छन्।

समयले जस्तो उल्टो दिशा समातेको जस्तो लाग्छ।

जहाँ विकास अगाडि बढ्नुपर्ने थियो, त्यहाँ जीवन नै पछि हटिरहेको छ।

यो कुनै एक गाउँको कथा होइन। नेपालको हिमाली र पहाडी भूभागमा यस्तो दृश्य दिनप्रतिदिन सामान्य बन्दै गएको छ। मानिसहरू गाउँ छाडेर सहरतिर बसाइँ सर्दै छन्। धेरै विदेश गइरहेका छन्। गाउँ रित्तिँदै छन्, घरहरू खण्डहर बन्दै छन्, खेतबारी बाँझिँदै गएका छन्।

हामीले यो दृश्य केवल देखेका मात्र छैनौँ, हामी यसलाई भोगिरहेका छौँ, महसुस गरिरहेका छौँ।

म धेरैपटक सोच्थेँ, किन यस्तो भइरहेको छ? किन युवाहरू आफ्नै उर्वर माटो छाडेर विदेशिन बाध्य छन्? किन आफ्नै गाउँ, आफ्नै घर, आफ्नै खेतभन्दा परको भूमिमा पसिना बगाउन बाध्य भइरहेका छन्?

मनभित्र कहिलेकाहीँ यस्तो भावना उठ्थ्यो, अब ढिलो गर्नु हुँदैन। युवाहरू गाउँ फर्किनुपर्छ। खेत बाँझो रहनु हुँदैन। आफ्नो माटोलाई जोगाउनुपर्छ। गाउँलाई फेरि बस्ती, खेतलाई फेरि उत्पादन, र जीवनलाई फेरि आशामा फर्काउनुपर्छ।

तर, वास्तविकता त्यति सरल थिएन।

भावनाले मात्रै पेट भरिँदैन, र चाहनाले मात्रै जीवन चल्दैन।

यस्तै सोचहरूले मन डुलिरहेका बेला, एक दिन मेरो भेट एकजना भाइसँग भयो। देशको अवस्थाप्रति चासो राख्ने, सोच्ने मान्छे रहेछन्। त्यसैले कुरा छिट्टै मिल्यो। हामी लामो समयसम्म गाउँ, कृषि, पलायन, र भविष्यबारे कुरा गर्दै बस्यौँ।

त्यही क्रममा उनले आफ्नो जीवनको एउटा कथा सुनाए, जुन सुन्दा मलाई यथार्थ अझ नजिकबाट छाम्न पाएँ।

अंशबण्डामा उनलाई केही खेतीयोग्य जमिन परेको रहेछ। उनले पनि सोचे, आफ्नै गाउँमा केही गर्नुपर्छ। त्यसैले आलु खेती सुरु गरे।

पहिलो चरणमा पाँच हजार खर्च भयो, जोत्न, मल हाल्न, बिउ किन्न। त्यसपछि फेरि पाँच हजार गोडमेल र झार उखेल्नमा। आलु राम्रोसँग हुर्कियो। मेहनत खेर गएको थिएन। हेर्दा मन खुसी हुने गरी बाली सप्रिएको थियो।

तर जब पाँच महिनापछि खन्ने बेला आयो, फेरि मजदुरी र अन्य खर्च गरेर पन्ध्र हजार रुपैयाँ लाग्यो।

सबै हिसाब गर्दा करिब तीस हजारको उत्पादन भयो। सुनिँदा लाग्थ्यो, मेहनत सफल भयो।

तर जब खर्च कटाइयो, वास्तविकता अर्कै थियो।

पच्चिस हजार खर्च, तीस हजार आम्दानी, अन्त्यमा बाँकी जम्मा पाँच हजार।

पाँच महिनाको समय, पसिना, मेहनत, प्रतीक्षा… अनि हातमा आउने रकम, पाँच हजार।

अब प्रश्न उठ्छ,

के यो मेहनतको उचित मूल्य हो?

के यस्तो परिणामले युवालाई गाउँमै रोक्न सक्छ?

त्यो कथा केवल एउटा व्यक्तिको थिएन। त्यो त एउटा यथार्थ थियो, पहाडको, गाउँको, हाम्रो समाजको।

पहाडमा खेती गरेर मात्र जीवन धान्न गाह्रो छ। सिँचाइको कठिनाइले उत्पादन कम, लागत बढी, बजार टाढा, ढुवानी कठिन। यही यथार्थले मानिसहरूलाई गाउँ छोड्न बाध्य बनाइरहेको छ। कसैले रहरले गाउँ छोडेको होइन; धेरैले बाध्यताले छोडेका हुन्।

आज गाउँहरू रित्तिँदै छन्। घरहरूमा ताला झुन्डिएका छन्। आँगन सुनसान छन्। चौतारीमा गफिने मान्छे छैनन्। मेलापात, रोपाइँ, कटाइँ, चाडपर्व, सबैको रौनक हराउँदै गएको छ।

यो केवल भौतिक परिवर्तन होइन, यो हाम्रो समाजको आत्मामा आएको परिवर्तन हो।

गाउँ खाली हुनु भनेको केवल घर रित्तिनु होइन, त्यो त सम्बन्ध रित्तिनु हो।

खेत बाँझो हुनु भनेको केवल उत्पादन घट्नु होइन, त्यो त पुस्तौँको पसिना ओझेलमा पर्नु हो।

यदि हामीले समयमै सोच्न सकेनौँ भने, भोलि हाम्रो पुस्ताले गाउँलाई केवल कथामा सुन्नेछ, खेतलाई केवल तस्वीरमा देख्नेछ, र चाडपर्वको रौनकलाई केवल सम्झनामा खोज्नेछ।

त्यसैले प्रश्न अझै उहीँ छ,

विकास भनेको केवल सडक पुर्‍याउनु हो?

कि गाउँमा जीवन टिकाइराख्नु पनि हो?

यसको उत्तर खोज्न अब ढिलो गर्नु हुँदैन।

नेपालको तराई, पहाड र हिमाल, तीनै भूभागको आफ्नै विशेषता छ। त्यसैले विकासको योजना पनि त्यही अनुसार, प्राथमिकताको आधारमा हुनुपर्छ।

तराई भूभागमा कृषि र त्यससँग सम्बन्धित योजनालाई प्राथमिकता दिँदै आधुनिक कृषि विस्तार गरेर धेरै उत्पादन गर्न सकिन्छ।

पहाडी अधिकांश भूभाग भौगोलिक हिसाबले खेतीयोग्य जमिनभन्दा पशुपालनका लागि बढी उपयुक्त हुन्छ। त्यसकारण अधिकांश भूभागमा पशुपालनलाई प्राथमिकता दिँदै घाँसे मैदान विकास गरी पशुपालन तथा डेरी उद्योग विस्तार गर्न सकिन्छ।

हिमाली क्षेत्रमा पर्यटन, पर्वतारोहण, स्की तथा अन्य गतिविधिहरूलाई प्राथमिकता दिन सकिन्छ।

यी कुनै ठूलो सिद्धान्त होइनन्, यी हाम्रो भौगोलिक यथार्थसँग मिल्ने सामान्य तर आवश्यक सोच हुन्।

सायद, विकास भनेको यही हुनुपर्छ,

जहाँ बाटो पनि पुग्छ,

तर मानिस पनि त्यहीँ रोकिन्छ।

हामीले बनाएको सडकले मानिसलाई गाउँबाट बाहिर लैजान मात्रै होइन, गाउँमै बस्न प्रेरित गर्न सके, त्यसैलाई साँचो विकास भन्न सकिन्छ।

नत्र,

बाटो त पुग्ला…

तर गाउँ भने बिस्तारै हराउँदै जानेछ।

पासाङ नुरु शेर्पा न्युयोर्क निवासी लेखक तथा गीतकार हुन् ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com