अमेरिकाबाट मार्चमा डिपोर्ट हुने नेपालीको तथ्यांक सार्वजनिक, ९५ प्रतिशत पुरुष
प्रकाशित मिति : ८ बैशाख २०८३, मंगलबार
अमेरिकाबाट मार्चमा डिपोर्ट हुने नेपालीको तथ्यांक सार्वजनिक गरिएको छ । अध्यागमन विभागले खसोखासलाई दिएको जानकारीअनुसार मार्च महिनामा जम्मा ४३ जना नेपाली डिपोर्ट भएका छन् । जसमध्ये मात्र २ जना महिला रहेका छन् । विभागका अनुसार हालसम्मको समग्र डिपोर्टमा महिलाको संख्या अत्यन्त न्यून रहेको छ । पछिल्ला महिनाहरूमा भने डिपोर्टको संख्या तीव्र रूपमा बढेको थियो । चार्टर्ड उडानमार्फत ठूलो समूहमा एकै पटक नेपालीहरूलाई फर्काइएको देखिन्छ ।
जनवरी महिनामा १०१ जना डिपोर्ट भएका थिए, जसमध्ये मात्र ४ जना महिला थिए । फेब्रुअरी महिनामा चार्टर्ड विमानमार्फत ९५ जना फर्काइएका थिए, जसमध्ये मात्र ३ जना महिला थिए । यसअघि नोभेम्बर महिनामा ८० जना र डिसेम्बर महिनामा ९५ भन्दा बढी नेपाली अमेरिकाबाट डिपोर्ट भएका थिए ।
जनवरी २०२६ मा एकै पटक ८० जना नेपाली (७९ पुरुष र १ महिला) चार्टर्ड उडानमार्फत काठमाडौं ल्याइएका थिए । डिसेम्बर २०२५ मा एकै दिन ७५ जना (६९ पुरुष र ६ महिला) डिपोर्ट भएका थिए । नोभेम्बर महिनामा पनि ८० जना नेपाली डिपोर्ट भएका थिए ।
सन् २०२५ मा अमेरिकाबाट डिपोर्ट हुने नेपालीको मासिक संख्या जनवरीमा ६ जना ,फेब्रुअरीमा १८ जना ,मार्चमा ३२ जना, अप्रिलमा २६ जना ,मेमा ५८ जना,जुनमा ४२ जना,जुलाईमा १७ जना,अगस्टमा १६ जना,सेप्टेम्बरमा ५३ जना,अक्टोबरमा ३८ जना रहेको थियो ।
अमेरिकी अध्यागमन एजेन्सी आइस र होमल्यान्ड सिक्युरिटीका अनुसार गत एक वर्षमा ६ लाख ७५ हजारभन्दा बढी कागजात नभएका आप्रवासी डिपोर्ट भएका छन् भने २२ लाखभन्दा बढीले स्वेच्छिक रूपमा अमेरिका छोडेका छन् । यस नीतिले नेपाली समुदायलाई पनि ठूलो प्रभाव पारेको छ ।
डिपोर्ट भएकाहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले मानव बेचबिखन अनुसन्धान ब्यूरोलाई जिम्मा लगाउने गर्छ । ब्यूरोले सामान्य सोधपुछपछि उनीहरूलाई आफन्तको जिम्मा लगाउँछ । तर लिखित उजुरी परेमा गहन अनुसन्धान गरिन्छ । हालसम्म २ दर्जनभन्दा बढी उजुरी परेका छन् । अनुसन्धान मुख्य रूपमा नेपालका एजेन्टहरूमै सीमित रहेको छ । उजुरीको संख्या डिपोर्ट भएकाहरूको संख्याको तुलनामा निकै कम छ ।
अधिकांश डिपोर्ट भएकाहरू अवैध रूपमा मेक्सिको हुँदै अमेरिका प्रवेश गरेका थिए । केहीले पहिले नै डिपोर्ट अनुमति पाइसकेका थिए तर विभिन्न बहानामा बस्दै आएका थिए । केही डिपोर्ट भएकाहरू अमेरिकाको जघन्य अपराधमा संलग्न रहेको र ग्रीन कार्ड रद्द भएर डिपोर्ट भएको पनि देखिएको छ ।
अमेरिकास्थित नेपाली दूतावासले नेपाली नागरिकहरूलाई अमेरिकी भिसाको प्रावधान पूर्ण रूपमा पालना गर्न, कुनै धोखाधडी नगर्न, विवरण झुटो नबनाउन र भिसा उद्देश्यअनुसार मात्र प्रयोग गर्न बारम्बार अनुरोध गर्दै आएको छ ।यस्ता विभिन्न क्रियाकलापका कारण अमेरिकाले नेपालीहरूप्रति भिसा नीतिमा धेरै परिवर्तन गरिसकेको छ ।





