अमेरिका: विद्यार्थीको मजाकले लियो शिक्षकको ज्यान


प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार

अमेरिकाको जर्जिया राज्यमा एक हाईस्कुल शिक्षकको विद्यार्थीहरूले गरेको ‘टोइलेट पेपर प्र्याङ्क’ (मजाक) का क्रममा ज्यान गएको छ। अधिकारीहरूका अनुसार, शिक्षकको आफ्नै घरबाहिर विद्यार्थीहरूले रमाइलोका लागि गरिरहेको सो क्रियाकलापका क्रममा उक्त दुर्घटना भएको हो।

४० वर्षीय शिक्षक जेसन ह्युजेस आफ्ना विद्यार्थीहरूलाई रंगेहात समातेर अचम्ममा पार्न घरबाहिर निस्केका थिए। विद्यार्थीहरू भने मजाकका रूपमा उनको घर वरपरका रूखहरूमा टोइलेट पेपर फालिरहेका थिए।

त्यस समयमा वर्षा भइरहेकाले भुइँ चिप्लो थियो, जसका कारण ह्युजेस चिप्लिएर लड्न पुगे। सोही समयमा घटनास्थलबाट भाग्न खोज्दै गरेका विद्यार्थीहरू सवार दुईवटा गाडीमध्ये एउटाले उनलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

गाडी चलाइरहेका विद्यार्थीमाथि ‘भेहिकुलर होमिसाइड’ (सवारी ज्यान मुद्दा) को आरोप लगाइएको छ। यद्यपि, शिक्षकको परिवारले भने ती विद्यार्थीहरूमाथि लगाइएका सबै आरोपहरू फिर्ता लिन आग्रह गरेको छ।

ह्युजेसकी पत्नी लौरा ह्युजेस का अनुसार  जेसन विद्यार्थीहरूमाझ निकै लोकप्रिय थिए।  उनले भनिन्: “मेरो पतिलाई यो मजाकबारे पहिले नै जानकारी थियो र उनी विद्यार्थीहरूलाई रंगेहात समात्न निकै उत्साहित भएर पर्खिरहेका थिए।” उनी आफैं पनि एक शिक्षिका हुन् ।

गाडी चलाइरहेका १८ वर्षीय विद्यार्थी जेडन रायन वालस र अन्य दुई साथीहरूले दुर्घटनालगत्तै ह्युजेसलाई बचाउने र प्राथमिक उपचार दिने प्रयास गरेका थिए। उनलाई तत्काल अस्पताल पुर्‍याइए तापनि चिकित्सकहरूले बचाउन सकेनन्।

प्रहरीले वालससहित घटनामा संलग्न पाँचजना १८ वर्षीय विद्यार्थीहरूमाथि निजी सम्पत्तिमा अनधिकृत प्रवेश (क्रिमिनल ट्रेसपास) र फोहोर फालेको (लिटरिङ) अभियोग पनि दर्ता गरेको छ।

तर, ह्युजेसको परिवारले भने ती विद्यार्थीहरूको भविष्य बिग्रन नदिन र उनीहरूमाथि लगाइएका सबै कानुनी आरोपहरू हटाउन पूर्ण समर्थन गर्ने बताएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com