अमेरिकी डुङ्गामा क्युवाको हमला: ४ जनाको मृत्यु, प्रतिरोधको तयारीमा अमेरिका


प्रकाशित मिति : १३ फाल्गुन २०८२, बुधबार

फोटो : एपी/रासस

अमेरिकी डुङ्गामा क्युवाले आक्रमण गरेको छ। आक्रमणमा परेर ४ जनाको मृत्यु भएको छ भने डुङ्गामा सवार अन्य ६ जना घाइते भएका छन्। घाइतेहरूलाई उद्धार गरी उपचारका लागि लगिएको क्युवा सरकारको गृह मन्त्रालयले जनाएको छ।

अमेरिकामा दर्ता गरिएको तीव्र गतिको डुङ्गा क्युवाको समुद्री सीमाभित्र प्रवेश गरेपछि सीमा सुरक्षाकर्मीले गोली चलाएको क्युवा सरकारको दाबी छ।

क्युवाको गृह मन्त्रालयले जारी गरेको वक्तव्यअनुसार, सो डुङ्गामा सवार व्यक्तिहरूले पहिचानका लागि नजिकिएको तटरक्षक जहाजमाथि पहिले गोली प्रहार गरेका थिए। त्यसपछि दोहोरो झडप भएको हो।

मन्त्रालयका अनुसार फ्लोरिडामा दर्ता भएको उक्त डुङ्गा क्युवाको उत्तरी तट नजिकैको एक टापु आसपास देखिएको थियो। सीमा सुरक्षा टोलीले सो डुङ्गालाई रोक्न खोज्दा डुङ्गाबाट गोली चलाइएको र त्यस क्रममा क्युवाली कमान्डर घाइते भएका थिए।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले घटनाबारे प्रतिक्रिया दिँदै डुङ्गामा सवार व्यक्तिहरू कुन देशका हुन् भन्ने अझै स्पष्ट नभएको बताएका छन्। उनले अहिले तथ्य सङ्कलन भइरहेको र प्राप्त तथ्यका आधारमा मात्रै निर्णय लिइने बताएका छन्। साथै, उक्त डुङ्गामा अमेरिकी सरकारी कर्मचारी नरहेको पनि स्पष्ट पारेका छन्।

रुबियोले यस प्रकारको समुद्री गोलीकाण्ड अत्यन्त असामान्य भएको उल्लेख गर्दै अमेरिकी तटरक्षक निकाय घटनास्थल आसपास पुगेको जानकारी दिएका छन्। उनले घटनाको स्वतन्त्र अनुसन्धान गरिने र क्युवा सरकारद्वारा उपलब्ध गराइने सूचनामा मात्रै भर नपर्ने बताएका छन्।

यो घटना अमेरिका र क्युवाबिच बढ्दो तनावका बिच भएको हो। क्युवा हाल गहिरिँदै गएको इन्धन सङ्कटबाट गुज्रिरहेको छ। अमेरिकाले भेनेजुएलाबाट हुने तेल आपूर्तिमा अवरोध सिर्जना गरेपछि सो सङ्कट थप जटिल बनेको बताइएको छ।

घटनापछि फ्लोरिडाका केही अमेरिकी सांसदहरूले कडा प्रतिक्रिया जनाएका छन्। उनीहरूले पूर्ण अनुसन्धानको माग गर्दै पीडितमध्ये कोही अमेरिकी नागरिक वा कानुनी बासिन्दा थिए कि थिएनन् भन्ने विषय स्पष्ट गर्न आग्रह गरेका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकी उपराष्ट्रपति जेडी भान्सले ह्वाइट हाउसले घटनालाई नजिकबाट निगरानी गरिरहेको बताएका छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com