अमेरिकी रक्षा मन्त्रीले किन दिए एआई निर्माता कम्पनीलाई कालोसूचीमा राख्ने चेतावनी ?


प्रकाशित मिति : १२ फाल्गुन २०८२, मंगलबार

अमेरिकी रक्षा मन्त्री पीट हेगसेथ

अमेरिकाका रक्षा मन्त्री पिट हेगसेथले कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधि सैन्य प्रयोजनमा प्रयोग गर्न अनुमति नदिए आपूर्ति शृङ्खलाबाट हटाइने अर्थात कालोसूचीमा राख्ने चेतावनी दिएका छन्।

रक्षा मन्त्रालयमा मन्त्री हेगसेथ र एआई विकास गर्ने कम्पनी ‘एन्थ्रोपिक’ का प्रमुख डारियो आमोदेईबीच भएको बैठकमा यस्तो चेतावनी दिइएको स्रोतले जनाएको छ। रक्षा मन्त्रालयका वरिष्ठ अधिकारीका अनुसार कम्पनीलाई शुक्रबार साँझसम्म आफ्नो धारणा स्पष्ट गरी सहयोग गर्न समय दिइएको छ।

एन्थ्रोपिकले भने विज्ञप्ति जारी गर्दै राष्ट्रिय सुरक्षासम्बन्धी सरकारी कार्यमा आफ्ना प्रणालीहरू जिम्मेवारीपूर्वक र विश्वसनीय रूपमा प्रयोग हुन सक्ने सीमाभित्र रहेर सहयोग गर्न सकारात्मक संवाद जारी रहेको जनाएको छ।

आमोदेईले कम्पनीले स्वीकार नगर्ने केही स्पष्ट ‘सीमारेखा’ राखेको स्रोतको भनाइ छ। ती सीमामा मानवीय हस्तक्षेपबिना कृत्रिम बुद्धिमत्ताले अन्तिम सैन्य लक्ष्य निर्धारण गर्ने, स्वतः सञ्चालन हुने घातक कारबाहीमा संलग्न हुने र व्यापक आन्तरिक निगरानीमा प्रयोग गरिने विषयलाई अस्वीकार गरिएको बताइएको छ।

तर, रक्षा मन्त्रालयका अधिकारीले हालको विवाद स्वतः हतियार प्रणाली वा सामूहिक निगरानीसँग प्रत्यक्ष सम्बन्धित नभएको बताएका छन्। उनका अनुसार मन्त्रालयको धारणा एन्थ्रोपिकका उत्पादनहरू कानुनी प्रयोगका सबै क्षेत्रमा उपलब्ध हुनुपर्छ भन्ने हो।

यदि कम्पनीले असहयोग गरेमा रक्षा उत्पादन ऐन अन्तर्गत कारबाही प्रक्रिया अघि बढाइने चेतावनी दिइएको छ। त्यसो भएमा राष्ट्रिय सुरक्षाका आधारमा कम्पनीलाई मन्त्रालयको प्रयोगका लागि प्रविधि खुला गर्न बाध्य पार्न सकिनेछ। साथै, एन्थ्रोपिकलाई आपूर्ति शृङ्खलामा ‘जोखिम’ का रूपमा वर्गीकृत गरिने पनि जनाइएको छ।

एन्थ्रोपिक कृत्रिम बुद्धिमत्ता एआई संवाद प्रणाली “क्लाउड” निर्माण गर्ने कम्पनी हो। यसले आफूलाई सुरक्षित र जिम्मेवार एआई विकासमा केन्द्रित कम्पनीका रूपमा प्रस्तुत गर्दै आएको छ। गत वर्ष सार्वजनिक गरिएको एक प्रतिवेदनमा केही ह्याकरहरूले यसको प्रविधि दुरुपयोग गरी जटिल साइबर आक्रमण गरेको उल्लेख गरिएको थियो।

यसैबीच, अमेरिकी सेनाले भेनेजुएलाका पूर्व राष्ट्रपति निकोलस मदुरोलाई पक्राउ गर्ने कारबाहीका क्रममा एन्थ्रोपिकको प्रणाली प्रयोग गरेको भन्ने विवरण सार्वजनिक भएपछि कम्पनीको छविमाथि प्रश्न उठेको थियो। स्रोतका अनुसार उक्त प्रविधि अर्को साझेदार कम्पनीमार्फत प्रयोग गरिएको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

रक्षा मन्त्रालयको अडान एन्थ्रोपिकले आफ्ना उत्पादनहरू कसरी प्रयोग गर्ने भन्ने विषयमा अन्तिम निर्णय गर्ने एकल अधिकार राख्न पाउँदैन भन्ने छ। विश्लेषकहरूका अनुसार दुवै पक्षबीच विश्वासमा आएको दरार नै हालको विवादको मुख्य कारण हो।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com