अमेरिकाको वर्तमान राजनीतिक अवस्थाबारे मिश्रित भावना सार्वजनिक गरेपछि खेलाडीमाथि खनिए ट्रम्प
प्रकाशित मिति : माघ २६, २०८२ सोमबार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प । तस्वीर : जोस लुइस मगाना/एपी-रासस
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मिलानो–कोर्टिना शीतकालीन ओलम्पिकमा सहभागी अमेरिकी फ्रीस्टाइल स्की खेलाडी हन्टर हेसको आलोचना गरेका छन्। हेसले अमेरिकाको वर्तमान राजनीतिक अवस्थाबारे आफ्नो मिश्रित भावना सार्वजनिक गरेपछि ट्रम्पले सामाजिक सञ्जालमार्फत उनलाई निशाना बनाएका हुन्।
ट्रम्पले आफ्नो पोस्टमा हेसले वर्तमान ओलम्पिकमा देशको प्रतिनिधित्व नगर्ने बताएका भन्दै उनलाई “हार्ने व्यक्ति” भनेर टिप्पणी गरेका थिए। उनले यस्तो सोच भएका व्यक्तिले टोलीमा सहभागी हुनु दुःखद भएको समेत बताएका छन्।
त्यसअघि आयोजित पत्रकार सम्मेलनमा हेसले अमेरिकाको प्रतिनिधित्व गर्नु अहिले आफूलाई केही कठिन लागेको बताएका थिए। उनले आफूले देशभन्दा पनि आफ्ना परिवार, साथीभाइ र अमेरिकाका सकारात्मक पक्षहरूको प्रतिनिधित्व गरिरहेको महसुस हुने बताएका थिए। झण्डा लगाएको मात्रले देशमा भइरहेका सबै गतिविधिको समर्थन नगर्ने उनको भनाइ थियो।
हेसको अभिव्यक्तिपछि ट्रम्प प्रशासनका दूत तथा केनेडी सेन्टरका प्रमुख रिच ग्रेनेल, टेनेसीका सांसद टिम बर्चेट र युट्युबरबाट बक्सर बनेका जेक पल लगायतले पनि सामाजिक सञ्जालमा आलोचना गरेका छन्। केही रुढीवादी व्यक्तित्वहरूले पनि अमेरिकी खेलाडीहरूले राजनीतिक विषयमा बोल्न नहुने धारणा सार्वजनिक गरेका छन्।
यसैबीच, अमेरिकी राष्ट्रिय च्याम्पियन फिगर स्केटर एम्बर ग्लेनले एलजीबीटीक्यू समुदायका विषयमा आफ्नो धारणा सार्वजनिक गरेपछि सामाजिक सञ्जालमा घृणा र धम्की आएको बताएकी छन्। उनले अभिव्यक्ति स्वतन्त्रता प्रयोग गर्दा यस्तो प्रतिक्रिया आउनु निराशाजनक भएको बताउँदै केही समय सामाजिक सञ्जालबाट टाढा रहने निर्णय गरेको जानकारी दिएकी छन्। उनले आफूले विश्वास गर्ने विषयमा आवाज उठाउन भने नछाड्ने बताएकी छन्।
त्यस्तै, अमेरिकी अल्पाइन स्की खेलाडी मिकाएला शिफ्रिनले पनि राजनीतिक तनावबारे प्रतिक्रिया दिँदै नेल्सन मन्डेलाको भनाइ उद्धृत गर्दै समावेशिता, विविधता र आपसी सम्मानका मूल्यहरूलाई प्रतिनिधित्व गर्न चाहेको बताएकी छन्।






