ग्रिनल्यान्ड विवाद: ट्रम्पले वार्ताको प्रस्ताव गरेपनि युरोपेली संसदद्वारा व्यापार सम्झौता निलम्बन


प्रकाशित मिति : माघ ७, २०८२ बुधबार

फोटो: एपी/रासस

युरोपेली संसद्ले ग्रिनल्यान्ड विवादका कारण अमेरिकासँगको महत्त्वपूर्ण व्यापार सम्झौताको अनुमोदन प्रक्रिया निलम्बन गरेको छ।

गत जुलाईमा भएको उक्त सहमतिलाई संसद्ले अहिले रोकिदिएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डलाई आफ्नो नियन्त्रणमा लिनुपर्ने माग राखेपछि त्यसको विरोधस्वरूप युरोपले यो कदम चालेको हो।

ट्रम्पले स्विट्जरल्यान्डको दाभोसमा आयोजित विश्व आर्थिक मञ्च लाई सम्बोधन गरिरहेका बेला फ्रान्सको स्ट्रासबर्गमा यो निर्णय सार्वजनिक गरिएको हो। ग्रिनल्यान्ड किन्ने ट्रम्पको इच्छाका कारण अमेरिका र युरोपबीच पुनः व्यापारिक तनाव चर्किएको छ। यस तनावले वित्तीय बजारमा हलचल ल्याउनुका साथै सम्भावित ‘व्यापार युद्ध’ र अमेरिकी वस्तुहरूमाथि प्रतिशोधात्मक शुल्क लाग्न सक्ने चर्चा बढाएको छ।

तर, यो निर्णयको केही घण्टापछि ट्रम्पले सामाजिक सञ्जालमार्फत ग्रिनल्यान्डको भविष्यबारे ‘फ्रेमवर्क’ सम्झौता भएको दाबी गरे। साथै, उनले आठ नेटो सदस्य राष्ट्रहरूमाथि लगाउने भनिएको नयाँ भन्सार शुल्कको धम्की फिर्ता लिएको बताए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसअघि जुलाईमा स्कटल्यान्डस्थित ट्रम्पको टर्नबेरी गल्फ कोर्समा भएको वार्तापछि अमेरिका-युरोप व्यापार तनाव केही मत्थर भएको थियो। उक्त सम्झौताअनुसार धेरै युरोपेली सामानमा लाग्ने अमेरिकी शुल्क ३० प्रतिशतबाट घटाएर १५ प्रतिशत कायम गरिएको थियो।

बदलामा युरोपले अमेरिकामा लगानी बढाउने र अमेरिकी निर्यातलाई सहज बनाउने सुधारहरू गर्ने सहमति जनाएको थियो। यद्यपि, यो सम्झौता पूर्ण रूपमा लागू हुन युरोपेली संसद्को औपचारिक स्वीकृति अनिवार्य थियो।

संसद्को पछिल्लो कदमसँगै युरोपेली सङ्घले गत वर्ष ट्रम्पको “लिबरेसन डे” शुल्कको जवाफमा घोषणा गरेको करिब १०९ अर्ब डलर बराबरका अमेरिकी सामानमा प्रतिशोधात्मक शुल्क लागू हुने जोखिम पुनः बढेको छ। सम्झौता अन्तिम चरणमा पुगेका कारण रोकिएका ती शुल्कहरू अब फेब्रुअरी ७ देखि लागू हुन सक्नेछन्।

ट्रम्पको पछिल्लो घोषणापछि युरोपेली नेताहरूले यो नयाँ विकसित परिस्थितिमा व्यापार सम्झौता जोगिन्छ या जोगिँदैन भन्नेबारे तत्काल टिप्पणी गर्न अस्वीकार गरेका छन्। उनीहरूले यसको प्रभाव बुझ्न “केही समय लाग्ने” बताएका छन्।

दाभोसको भाषणमा ट्रम्पले ग्रिनल्यान्ड किन्ने चासो दोहोर्‍याए पनि त्यसमा बल प्रयोग नगर्ने स्पष्ट पारेका थिए। उनले ग्रिनल्यान्ड अमेरिका र विश्व सुरक्षाका लागि रणनीतिक रूपमा महत्त्वपूर्ण भएको दाबी गर्दै तत्काल वार्ताका लागि आह्वान गरे।

अमेरिका र २७ सदस्यीय युरोपेली सङ्घ एक-अर्काका सबैभन्दा ठूला व्यापारिक साझेदार हुन्। सन् २०२४ को तथ्याङ्कअनुसार यी दुईबीच १.६ ट्रिलियन पाउन्डभन्दा बढीको वस्तु तथा सेवाको व्यापार भएको थियो, जुन विश्व व्यापारको करिब एक-तिहाइ हिस्सा हो।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com