मिनेसोटाका डेमोक्र्याटिक नेताहरू विरुद्ध ट्रम्प प्रशासन कठोर


प्रकाशित मिति : माघ ६, २०८२ मंगलबार

अमेरिकाको मिनेसोटा राज्यका डेमोक्र्याटिक नेताहरू विरुद्ध संघीय सरकारले समन जारी गरेको छ। संघीय आप्रवासन अधिकारीहरूको कार्यमा बाधा पुर्‍याउन षड्यन्त्र गरेको आरोप लगाउँदै न्याय मन्त्रालयले उक्त समन जारी गरेको हो।

समन अदालत वा कानुन कार्यान्वयन गर्ने निकायले जारी गर्ने एक औपचारिक कानुनी आदेश हो। यसले कुनै व्यक्ति, संस्था वा कार्यालयलाई तोकिएको मितिमा अदालतमा उपस्थित हुन, प्रमाणका रूपमा कागजात बुझाउन वा बयान दिन बाध्य बनाउँछ।

मिनेसोटाका गभर्नर टिम वाल्ज, राज्यका महान्यायाधिवक्ता किथ एलिसन र मिनियापोलिसका मेयर जेकब फ्रे का कार्यालयहरूमा समन पठाइएको छ। यो कदम अमेरिकी महान्यायाधिवक्ता पाम बन्डी मिनेसोटा भ्रमणमा रहेकै समयमा चालिएको हो। सो क्षेत्रमा हाल व्यापक विरोध प्रदर्शन भइरहेका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘आइस’ (इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्ट) का एक एजेन्टको गोली लागी ३७ वर्षीया प्रदर्शनकारी रेनी गुडको मृत्यु भएको घटनाप्रति “गहिरो दुःख” व्यक्त गरेका छन्। उनले यसलाई “दुर्भाग्यपूर्ण त्रासदी” को संज्ञा दिएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यद्यपि, गभर्नर वाल्जले यो अनुसन्धानलाई “पक्षपाती र ध्यान भड्काउने प्रयास” भएको बताएका छन्। उनले न्याय मन्त्रालयले गुडको मृत्युमा न्याय खोज्नुको सट्टा राजनीति गरिरहेको आरोप लगाए। मेयर फ्रे र महान्यायाधिवक्ता एलिसनले पनि ट्रम्प प्रशासनले न्याय प्रणालीलाई राजनीतिक हतियार बनाएर आफूहरूलाई निशाना बनाएको दाबी गरेका छन्।

महान्यायाधिवक्ता पाम बन्डीले ‘आइस’ विरुद्धको प्रदर्शनका क्रममा एउटा चर्चमा आक्रमण भएपछि कडा प्रतिक्रिया दिएकी छिन्। उनले राज्यका नेताहरूले “कानुनहीनता रोक्न जिम्मेवार ढंगले काम नगरे” कानुनी कारबाही भोग्नुपर्ने चेतावनी दिइन्।

न्याय मन्त्रालयले उक्त घटनालाई “धार्मिक स्थलको अपमान” भन्दै नागरिक अधिकार उल्लंघनको कोणबाट अनुसन्धान गर्ने बताएको छ।

७ जनवरीमा आइस एजेन्टको गोलीबाट रेनी गुडको मृत्यु भएपछि मिनेसोटामा तनाव चुलिएको छ। ट्रम्प प्रशासनले उक्त एजेन्टले आत्मरक्षामा गोली चलाएको दाबी गरेको छ।

स्थिति नियन्त्रणमा लिन हालैका हप्ताहरूमा करिब ३,००० संघीय अधिकारीहरू मिनेसोटामा खटाइएको छ भने थप १,५०० सैनिक तयारी अवस्थामा राखिएको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com