ट्रम्प प्रशासनद्वारा विदेशमा रहेका हजारौं धार्मिक कामदारको प्रतीक्षा अवधि घटाउने नियम घोषणा
प्रकाशित मिति : पुस २९, २०८२ बुधबार
अमेरिकी सरकारको डिपोर्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले विदेशमा रहेका हजारौं धार्मिक कामदारहरूको प्रतिक्षा अवधि घटाउने नयाँ नियम लागू गरेको छ। यस अन्तर्गत अब उनीहरूलाई अमेरिकामा फर्किनुअघि अनिवार्य रूपमा एक वर्ष विदेशमा बस्नुपर्ने आवश्यकता हटाइएको छ।
नयाँ नियम तत्काल लागू हुने गरी अन्तरिम अन्तिम नियमको रूपमा जारी गरिएको हो। यसले धार्मिक भिसा आर वानमा पाँच वर्ष पूरा गरेका पुजारी, भिक्षु, नन, रबाइ लगायतका धार्मिक कामदारहरूलाई एक वर्ष बाहिर बस्नुपर्ने नियमबाट मुक्त गरेको छ। अब उनीहरूले आवश्यकताअनुसार पुनः प्रवेशको लागि आवेदन दिन सक्नेछन्।
आफूहरु धार्मिक स्वतन्त्रता र अभिव्यक्तिको अधिकार जोगाउन प्रतिबद्ध रहेको होमल्याण्ड सेक्युरिटी प्रवक्ताले विज्ञप्तिमा भनेका छन्। पादरी, पुजारी, नन र रबाइहरू अमेरिकी समाजको सामाजिक र नैतिक आधार भएको र यी संस्थाहरूलाई निरन्तर सहयोग पुर्याउन आफूहरु प्रतिवद्ध रहेको प्रवक्ताको भनाई छ ।
यो नियम राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेश अन्तर्गत ल्याइएको कदम हो, जसले अमेरिकाभरका धार्मिक समुदायहरूसँग सरकारको सहकार्यलाई मजबुत बनाउने उद्देश्य राखेको छ ।
धार्मिक कामदारका लागि रोजगारमा आधारित चौथो श्रेणी ग्रिनकार्डको माग उच्च रहँदा पछिल्ला वर्षहरूमा आवेदन प्रक्रियामा निकै ढिलाइ भएको थियो। सन् २०२३ मा परराष्ट्र मन्त्रालयका परिवर्तनहरूले केही देशका आवेदकहरूका लागि प्रतीक्षा समय झन् बढाएको थियो, जसका कारण धेरै धार्मिक कामदार आफ्ना पाँच वर्षको अवधि सकिएपछि देश छोड्न बाध्य भएका थिए।
यस नयाँ नियमले अब धार्मिक संस्थाहरू लामो समय आफ्नो प्रमुख कर्मचारीबिहीन नहुने होमल्याण्ड भनाइ छ। युएससीआईएसले यस नियमबारे टिप्पणी पठाउनको लागि फेडरल रजिष्ट्ररमा प्रकाशित मितिदेखि ६० दिनभित्र सुझाव संकलन गर्ने जनाएको छ।





