ट्रम्प प्रशासनद्वारा नेपाली लगायत १ लाखको भिसा रद्द, मुख्य कारण ४ वटा
प्रकाशित मिति : पुस २७, २०८२ सोमबार
अमेरिकी विदेश मन्त्रालयका अनुकार राष्ट्रपति डोनल्ड ट्रम्पले गत वर्ष कार्यभार सम्हालेयता हालसम्म १ लाखभन्दा बढीको भिसा रद्द गरिएको छ। ट्रम्प प्रशासनले अख्तियार गरेको कडा आप्रवासन नीतिका कारण यो संख्याले नयाँ रेकर्ड कायम गरेको मन्त्रालयले जनाएको छ।
ट्रम्प ह्वाइट हाउस फर्किएपछि सुरु गरिएको व्यापक आप्रवासन धरपकडका कारण वैध भिसा भएका कतिपय व्यक्तिहरूलाई समेत अभूतपूर्व संख्यामा देशनिकाला गरिएको छ। यसका साथै प्रशासनले भिसा प्रदान गर्ने प्रक्रियामा सामाजिक सञ्जालको सुक्ष्म परीक्षण र विस्तृत जाँच जस्ता कडा नीतिहरू पनि लागू गरेको छ।
विदेश मन्त्रालयले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेको तथ्यांक अनुसार रद्द गरिएका १ लाख भिसाहरू मध्ये करिब ८,००० विद्यार्थी भिसा र २,५०० विशेष दक्ष भिसा रहेका छन्। यी भिसाहरू विशेषगरी आपराधिक गतिविधिमा संलग्न भई अमेरिकी सुरक्षा निकायको सम्पर्कमा आएका व्यक्तिहरूको रद्द गरिएको हो। मन्त्रालयले अमेरिकालाई सुरक्षित राख्न यस्ता तत्वहरूलाई देशनिकाला गर्ने कार्य जारी राख्ने स्पष्ट पारेको छ।
विदेश मन्त्रालयका उप प्रवक्ता टमी पिगोटले खसोखासलाई यसबारे प्रतिक्रिया दिँदै भनेका छन्, “अमेरिकी नागरिकको सुरक्षा र अमेरिकी सार्वभौमसत्ताको रक्षा गर्नु नै ट्रम्प प्रशासनको सबैभन्दा उच्च प्राथमिकता हो। एक वर्षभन्दा कम समयमा, विदेश मन्त्रालयले विदेशी नागरिकहरूका १ लाखभन्दा बढी भिसाहरू रद्द गरेको छ, जसले एक नयाँ रेकर्ड कायम गरेको छ। यो सन् २०२४ यता भिसा खारेजीमा १५०% भन्दा बढीको वृद्धि हो।”
विदेश मन्त्रालयले कुटपिट, चोरी, र मादक पदार्थ सेवन गरी सवारी चलाउने जस्ता अपराधमा आरोपित वा दोषी ठहरिएका हजारौँ विदेशी नागरिकहरूको भिसा रद्द गरेको छ। विदेश मन्त्रालयको भर्खरै सुरु गरिएको ‘कन्टिन्युअस भेटिङ सेन्टर’ ले अमेरिकी भूमिमा रहेका सबै विदेशी नागरिकहरूले हाम्रा कानुनहरूको पालना गरेको सुनिश्चित गर्न काम गर्छ र अमेरिकी नागरिकहरूका लागि खतरा बन्न सक्ने व्यक्तिहरूको भिसा तुरुन्तै रद्द गरिन्छ,” पिगोटले खसोखासलाई बताए।
उनले थपे, “ट्रम्प प्रशासनले ‘अमेरिका फर्स्ट’ नीतिलाई निरन्तरता दिनेछ र सार्वजनिक सुरक्षा वा राष्ट्रिय सुरक्षामा जोखिम पुर्याउने विदेशी नागरिकहरूबाट हाम्रो राष्ट्रको रक्षा गर्नेछ।”
यस वर्ष जारी गरिएका निर्देशनहरूमा वासिङ्टनले अमेरिकाप्रति शत्रुतापूर्ण वा राजनीतिक सक्रियताको इतिहास भएको मान्ने आवेदकहरूप्रति सतर्क रहन भिसा अधिकारीहरुलाई निर्देशन दिइएको छ ।
प्यालेस्टाइनको समर्थन गर्ने वा गाजा युद्धमा इजरायलको आलोचना गर्ने विद्यार्थी भिसा र ग्रीन कार्ड बाहकहरूलाई समेत देशनिकाला गर्न सकिने अधिकारीहरूले बताएका छन्। उनीहरूलाई अमेरिकी विदेश नीतिका लागि खतरा र हमास समर्थकको आरोप लगाइएको छ।
भिसा रद्द हुनेमा नेपालीहरु समेत रहेका छन् । तर कति नेपालीहरु छन् भन्ने विवरण प्राप्त भएको छैन । यसबारे खसोखासले अमेरिकी विदेश मन्त्रालयसँग थप जानकारी मागेपनि यो समाचार तयार पार्दासम्म जानकारी प्राप्त भएको छैन ।
यस अगाडि अमेरिकाका कलेजमा २ महिनाको अवधिमा ८२१ जना नेपाली विद्यार्थीहरु घटेको रिपोर्ट खसोखासले प्रकाशित गरेको थियो । अमेरिकी सरकारको सेभिज तथ्यांक अनुशार अक्टोबरमा अमेरिकामा कलेजमा अध्ययनरत नेपाली विद्यार्थीहरुको संख्या ३५ हजार २ सय ७३ रहेकोमा डिसेम्बरमा यो संख्यामा उच्च गिरावट आई ३४ हजार ४ सय ५२ कायम भएको थियो ।
त्यस्तै गत अगस्तमा खसोखासले प्रकाशित गरेको रिपोर्ट अनुशार त्यस अगाडिका ४ महिनामा अमेरिकाका शिक्षणसंस्थाबाट २ हजार भन्दा बढी नेपाली विद्यार्थीको सेभिज समाप्त वा खारेज भएको अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको तथ्यांकले देखाएको थियो ।
अध्यागमन एजेन्सी आइसको सेभिज रेकर्ड अनुशार अप्रिलमा अमेरिकामा विभिन्न शिक्षण संस्थामा अध्ययनरत ३२ हजार ७० जना नेपाली विद्यार्थीहरुको सेभिज रेकर्ड सकृय रहेकोमा अगस्तको सुरुसम्म २ हजार ४९ जना नेपाली विद्यार्थीहरुको सेभिज रेकर्ड खारेज वा समाप्त भई ३० हजार १९ मा झरेको थियो ।
सेभिज रेकर्ड अमेरिकाको सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीहरू र आगन्तुकहरूलाई ट्र्याक गर्न प्रयोग गर्ने एक डेटाबेस प्रणाली हो। यो प्रणालीले विद्यार्थी भिसा प्राप्त गरेका विद्यार्थीहरू र आगन्तुकहरूको जानकारी राख्छ। यो रेकर्ड खारेज गरिनुको अर्थ उनीहरूको भिसा स्थिति मान्य नरहनु हो। जसका कारण उनीहरूले अमेरिकामा कानुनी रूपमा बस्ने वा अध्ययन गर्ने अनुमति गुमाउन सक्छन्।
अप्रिल र मे महिनामा अमेरिकी सरकारको विदेश मन्त्रालय र डिपार्टमेन्ट अफ होमल्याण्ढ सेक्युरिटीले ब्यापक रुपमा नेपाली विद्यार्थीहरुको भिसा खारेज गरेको थियो । उक्त अवधिमा अमेरिकामा झण्डै १०० नेपाली विद्यार्थीहरूको भिसा र सेभिज रद्द भएको कानुन व्यवसायीहरूले अनुमान गरेका थिए । केही नेपाली विद्यार्थीहरूको भिसा दूतावासले रद्द गरेर विद्यार्थीहरूलाई इमेलमार्फत सूचना पठाएको थियो भने केही नेपाली विद्यार्थीहरूको सेभिज रेकर्ड रद्द भएको जानकारी कलेजले इमेलमार्फत दिएको थियो ।
सेभिज खारेज केबल अमेरिकी सरकारको विदेश मन्त्रालय वा डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले भिसा रद्द गरेका कारणमात्र हुँदैन । विद्यार्थीहरुले आफै पढाई छाडेका कारण, पढाई सकेका कारण, भिसा वा स्टाटस परिवर्तन गरेका कारणपनि सेभिज समाप्त वा खारेज हुन्छ । त्यसैले ट्रम्प प्रशासनको पछिल्लो निशानामा परेर कतिजना नेपाली विद्यार्थीहरुको सेभिज खारेज भयो भन्ने यकिन विवरण नभएपनि सेभिज खारेजीको यो संख्याले उल्लेख्य संख्यामा नेपाली विद्यार्थीहरुको भिसा रद्द भएको देखाएको छ ।





