अमेरिकामा दन्त चिकित्सक दम्पती हत्याको आरोपमा पूर्वपति पक्राउ


प्रकाशित मिति : पुस २५, २०८२ शनिबार

अमेरिकामा एक दम्पतीको हत्या आरोपमा प्रहरीले महिलाका पूर्वपतिलाई पक्राउ गरेको छ। ओहायो राज्यको कोलम्बसस्थित आफ्नै घरमा स्पेन्सर टेपे र मोनिक टेपे मृत फेला परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो।

घटना भएको १० दिनपछि प्रहरीले यसमा सफलता प्राप्त गरेको जनाएको छ। संदिग्धको पहिचान नहुँदासम्म यो घटनाले स्थानीयवासीलाई स्तब्ध बनाएको थियो। घटना हुँदा उनीहरूका दुई साना छोराछोरी घरभित्रै थिए।

अदालती अभिलेखअनुसार मोनिक टेपेका पूर्वपति ३९ वर्षीय माइकल डेविड म्याकीलाई दुईवटा हत्या अभियोगमा पक्राउ गरिएको छ। ३७ वर्षीय स्पेन्सर टेपे र ३९ वर्षीया मोनिक टेपे डिसेम्बर ३० मा कोलम्बसस्थित उनीहरूको सुविधासम्पन्न घरमा गोली लागेर मृत अवस्थामा फेला परेका थिए। उनीहरूका ४ वर्ष र १ वर्षका दुई सन्तान भने घरभित्र शारीरिक रूपमा सुरक्षित फेला परेको प्रहरीले जनाएको छ।

यस पक्राउसँगै लामो समयदेखि रहस्यमय बनेको यो घटनाको अनुसन्धानमा ठूलो प्रगति भएको छ। प्रहरीले अहिलेसम्म अनुसन्धानका धेरै विवरण सार्वजनिक गरेको छैन र हत्याको सम्भावित उद्देश्य बारे पनि कुनै जानकारी दिएको छैन।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रहरीले वाइनल्याण्ड पार्क क्षेत्रस्थित घर नजिकैको गल्लीमा एक व्यक्ति हिँडिरहेको निगरानी भिडियो सार्वजनिक गरेपछि हत्याका बारेमा विभिन्न अनुमानहरू बाहिर आएका थिए। उक्त भिडियो अनुसन्धानकर्ताहरूले दम्पतीको हत्या भएको अनुमान गरिएको समयावधिमा खिचिएको बताएका छन्।

स्पेन्सर टेपे एक सम्मानित दन्त चिकित्सक थिए भने उनकी पत्नी मोनिक गृहिणी थिइन्। इलिनोइसस्थित विन्नेबागो काउन्टी शेरिफ कार्यालयको अभिलेखअनुसार म्याकी हाल त्यहीँ हिरासतमा छन्।

प्रहरीका अनुसार उनलाई इलिनोइसको रकफोर्डबाट नियन्त्रणमा लिइएको हो। अनुसन्धान प्रभावित नहोस् भन्ने उद्देश्यले प्रहरीले आवश्यक समयमा मात्र थप जानकारी सार्वजनिक गर्ने जनाएको छ।

स्पेन्सर टेपे काममा नआएपछि उनका सहकर्मीहरूले प्रहरीलाई खबर गरेका थिए। उनी कोलम्बसबाट करिब ७५ माइल दक्षिण-पूर्वमा पर्ने ‘एथेन्स डेन्टल डिपो’ नामक दन्त चिकित्सालयमा कार्यरत थिए।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com