अमेरिकामा ‘आइस’ अधिकारीले चलाएको गोली लागेर २ जना घाइते
प्रकाशित मिति : पुस २३, २०८२ बिहीबार
फोटो : एपी/रासस
अमेरिकामा आप्रवासन अधिकारीको गोली प्रहारबाट दुई जना घाइते भएका छन्। ओरेगन राज्यको पोर्टल्यान्ड सहरमा संघीय एजेन्टहरू संलग्न गोलीकाण्डमा दुई जना घाइते भएको अधिकारीहरूले बताएका छन्।
पोर्टल्यान्ड प्रहरी विभागले जारी गरेको विज्ञप्ति अनुसार एक पुरुष र एक महिला घाइते भएका छन् र उनीहरूलाई अस्पताल लगिएको छ। अमेरिकी डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी (डीएचएस) का अनुसार भेनेजुएलाली गिरोहका सदस्यलाई लक्षित गरी गरिएको सवारी जाँच (ट्राफिक स्टप) का क्रममा यो घटना भएको हो।
विभागका अनुसार ती व्यक्तिले आफ्नो कार प्रयोग गरेर एजेन्टहरूलाई कुल्चन प्रयास गरेका थिए। यो घटना मिनियापोलिसमा एक संघीय एजेन्टले एक महिलालाई गोली हानी हत्या गरेको भोलिपल्ट भएको हो। यसले अमेरिकाभर संघीय कानुन कार्यान्वयनका कारबाहीविरुद्ध प्रदर्शनहरू चर्काएको छ।
डीएचएस ले सामाजिक सञ्जाल ‘एक्स’मा जारी गरेको विज्ञप्तिमा सवारी साधनमा सवार यात्रु तथा लक्षित व्यक्ति भेनेजुएलाका अवैध आप्रवासी भएको उल्लेख छ। उनी अन्तर्राष्ट्रिय ‘ट्रेन डे अरागुआ’ नामक वेश्यावृत्ति गिरोहसँग आबद्ध रहेको र पोर्टल्यान्डमा हालै भएको एक गोलीकाण्डमा समेत संलग्न रहेको डीएचएस को दाबी छ।
आप्रवासन एजेन्टहरूले आफ्नो परिचय दिएपछि चालकले सवारी साधनले अधिकारीहरूलाई कुल्चन प्रयास गरेका बताइएको छ। आफ्नो ज्यान जोखिममा रहेको महसुस गरेपछि ‘आइस’का एक एजेन्टले आत्मरक्षाका लागि गोली चलाएको र त्यसपछि चालक यात्रुसहित घटनास्थलबाट फरार भएको DHS ले जनाएको छ।
पोर्टल्यान्ड प्रहरीले आफ्ना अधिकारीहरू घटनामा संलग्न नरहेको र गोली चलेको खबर पाएपछि मात्र घटनास्थल पुगेको प्रस्ट पारेको छ। गोली लागेका दुई जनाको पहिचान खुलाइएको छैन। प्रहरीका अनुसार उनीहरू गोलीकाण्ड भएको स्थानभन्दा केही ब्लक टाढा फेला परेका थिए।
पोर्टल्यान्डका मेयर किथ विल्सनले अनुसन्धान पूरा नहुन्जेल सहरमा आप्रवासन तथा भन्सार प्रवर्तन निकाय (आइस) का सबै गतिविधि रोक्न आग्रह गरेका छन्। पोर्टल्यान्ड विगतमा पनि ट्रम्प प्रशासनविरुद्धका ठूला प्रदर्शनहरूको केन्द्र रहँदै आएको छ।





