सगरमाथाको विकल्पमा ‘नेपालका अन्य हिमाल’: न्युयोर्क टाइम्सको २०२६ को उत्कृष्ट गन्तव्य सूचीमा समावेश


प्रकाशित मिति : पुस २३, २०८२ बिहीबार

people sitting on rock near snow covered mountain during daytime

फोटो: दिमित्री सुपोनिकोभ

विश्वकै प्रतिष्ठित सञ्चार माध्यम न्युयोर्क टाइम्सले सन् २०२६ का लागि सार्वजनिक गरेको ५२ आकर्षक पर्यटकीय गन्तव्यको सूचीमा नेपालका हिमालहरूलाई समेटेको छ। सूचीको ११औँ स्थानमा ‘नेपालका अन्य हिमाल’ शीर्षकमा नेपालको पर्वतारोहण क्षेत्रको चर्चा गरिएको हो।

पछिल्लो समय नेपाल सरकारले सगरमाथा आरोहणमा गरेको कडाइ र अन्य हिमालहरूलाई प्रवर्द्धन गर्ने नीतिको पृष्ठभूमिमा यो सूची सार्वजनिक भएको हो। न्युयोर्क टाइम्सका लेखक फिन-ओलाफ जोन्सले तयार पारेको उक्त अंशमा सगरमाथाको भिडभाड र महँगो शुल्कको विकल्पमा नेपालमा रहेका अन्य दर्जनौँ सुन्दर र चुनौतीपूर्ण हिमालहरूतर्फ विश्वको ध्यान मोडिएको उल्लेख गरिएको छ

नेपालले सगरमाथा आरोहणका नियमहरूमा कडाइ गर्दै अनुमति शुल्क १५ हजार डलर पुर्‍याएको छ र कम्तीमा ७ हजार मिटर अग्लो हिमाल चढिसकेका आरोहीहरूलाई मात्र अनुमति दिने कानुन प्रस्ताव गरेको छ। न्युयोर्क टाइम्समा भनिएको छ, “अब धेरैको ध्यान कम भिडभाड हुने नेपालका अन्य हिमालयी ‘रक स्टार’ हरूतर्फ मोडिन थालेको छ। २३ हजार फिटभन्दा अग्ला अपि वेस्ट, अपि हिमाल र सैपाल हिमाल जस्ता दुर्गम क्षेत्रका भीमकाय हिमालहरू सहित ९७ वटा शिखरहरूको अनुमति शुल्क सरकारले आगामी दुई वर्षका लागि मिनाहा गरेको छ।”

न्युयोर्क टाइम्सले सगरमाथाको तुलनामा कम खर्चिलो, कम भिडभाड र उत्तिकै साहसिक अनुभव दिने हिमालहरूको विशेष चर्चा गरेको छ । सुगम पहुँच भएका र ५०० डलरभन्दा कम अनुमति शुल्क रहेका प्राविधिक रूपमा कम चुनौतीपूर्ण तर हिउँको सुन्दर गुम्बज ७,२४६ मिटरको पुथा हिउँचुली, निकै भिरालो र मनमोहक दृश्य भएको ७,५२५ मिटरको अन्नपूर्ण चौथो, सगरमाथाकै नजिक रहेको तर शान्त आरोहण अनुभव दिने ७,१२९ मिटरको बरुन्त्से, प्यारामाउन्ट पिक्चर्सको लोगो जस्तै देखिने आमा दब्लम र पदयात्राका लागि प्रसिद्ध मेरा पिकजस्ता हिमालहरूले बिना कुनै भिडभाड साहसिक आरोहणको अनुभव दिलाउने कुरालाई लेखमा जोड दिइएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यी हिमालहरूमा अक्सिजन सिलिन्डरको प्रयोग र बैंक खाता खाली गर्ने गरी ठूलो खर्चको आवश्यकता नपर्ने भएकाले पनि आरोहीहरूका लागि यो एक ठूलो आकर्षण बनेको छ। सन् २०२६ को यो सूचीमा नेपालका हिमालहरू पर्नुले नेपालको पर्यटन प्रवर्द्धनमा सकारात्मक प्रभाव पार्ने र विश्वभरका आरोहीहरूलाई नेपालका अन्य लुकेका शिखरहरूतर्फ आकर्षित गर्ने विश्वास गरिएको छ।

विशेषगरी सरकारले घोषणा गरेको ९७ हिमालको रोयल्टी मिनाहाको निर्णयलाई अन्तर्राष्ट्रिय जगतले सकारात्मक रूपमा लिएको यसले पुष्टि गर्छ। सगरमाथामा बढ्दो मानव चापलाई कम गर्न र पर्यटनको लाभ देशका दुर्गम क्षेत्रहरूसम्म पुर्‍याउन यो मान्यता कोसेढुङ्गा सावित हुने अपेक्षा गरिएको छ। न्युयोर्क टाइम्सले २०२६ को यो सूचीमा नेपालका हिमाल बाहेक थाइल्याण्डको बैंकक, पोल्याण्डको वारसा र अमेरिकाको रुट ६६ जस्ता गन्तव्यहरूलाई पनि समावेश गरेको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com