विनाभिसा अमेरिका छिर्न नसकेपछि बीचबाटै फर्कँदै नेपालीहरू
प्रकाशित मिति : पुस २०, २०८२ सोमबार
दलाललाई लाखौँ रकम तिरेर पानामा, कोस्टारिका र मेक्सिको पुगे पनि विनाभिसा अमेरिका छिर्ने यात्रा पूरा नभएपछि कैयौँ नेपालीहरू बीचबाटै नेपाल फर्किरहेका छन् । मेक्सिकोको सीमाक्षेत्रबाट विनाभिसा अमेरिका छिर्न खोज्ने नेपालीहरूलाई सीबीपीले पक्राउ गरेर मेक्सिकोमा नै फिर्ता पठाउने ‘रिमेन इन मेक्सिको’ नीति ट्रम्प प्रशासनले पुनः लागू गरेपछि अमेरिका आउने यात्रामा रहेका नेपालीहरू बीचबाटै फर्कन थालेका हुन् ।
ट्रम्प प्रशासन सुरु भइसकेपछि अमेरिका छिर्न नसकेर पानामा, कोस्टारिका र मेक्सिको लगायतका देशबाट नेपाल फर्कन चाहने नेपालीहरूले वासिङ्टन डीसीस्थित नेपाली दूतावासमा सम्पर्क गर्ने गरेको दूतावास स्रोतले जानकारी दिएको छ । त्यसरी सम्पर्क गरेकाहरूलाई दूतावासले ट्राभल डकुमेन्ट बनाएर इमेलमार्फत पठाइदिने गरेको छ । त्यसरी अलपत्र परेका नेपालीहरूलाई दूतावासले नि:शुल्क ट्राभल डकुमेन्ट बनाइदिने गरेको जनाएको छ ।
यो वर्ष मात्र मेक्सिकोबाट फर्कने २ पुरुष र १ महिला गरी ३ जना नेपालीलाई दूतावासले ट्राभल डकुमेन्ट बनाइदिएको थियो । त्यस्तै पानामाबाट फर्कने ८ पुरुष र १ महिला गरी ९ जनालाई पनि दूतावासले ट्राभल डकुमेन्ट बनाइदिएको थियो । कोस्टारिकाबाट फर्कने २ जना पुरुषका लागि पनि वासिङ्टन डीसीस्थित नेपाली दूतावासले ट्राभल डकुमेन्ट बनाइदिएको थियो ।
उनीहरूमध्ये कतिपयले बाटोमा राहदानी हराएकाले नेपाल फर्कनका लागि आफूहरूसँग कागजात नभएको भन्दै दूतावासमा सम्पर्क गर्ने गरेका छन् । केहीले अमेरिका छिर्न नसकिने अवस्था आएपछि आफूहरू नेपाल फर्कन चाहेको बताएका थिए ।
गत मे महिनामा मेक्सिको हुँदै विनाभिसा अमेरिका प्रवेश गर्ने यात्रामा रहेका बीस जना नेपाली नागरिकलाई पानामाबाट नेपाल फर्काइएको थियो । यस समूहका प्रत्येक व्यक्तिले मानव तस्करहरूलाई १ लाख अमेरिकी डलरसम्म तिरेका थिए । उनीहरूलाई पानामाको अध्यागमन कानुन उल्लङ्घन गरी वैध भिसाविना प्रवेश गरेको आरोपमा पक्राउ गरिएको थियो । यो अपरेसन पानामा सरकारको सहयोग र अमेरिकी अधिकारीहरूको समर्थनमा सञ्चालन गरिएको थियो ।
काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयका अनुसार फर्काइएकामध्ये १४ जनासँग राहदानी थियो भने बाँकी ६ जनालाई वासिङ्टन डीसीस्थित नेपाली दूतावासले ट्राभल डकुमेन्ट जारी गरेको थियो । पानामाबाट फर्कने ८ जनालाई नेपाली दूतावासले ट्राभल डकुमेन्ट जारी गरेकोमा ६ जना यिनीहरू नै थिए ।
त्यस्तै गत फेब्रुअरीमा अमेरिकाले नेपालीसहित ११९ जना व्यक्तिहरूलाई पानामा डिपोर्ट गरेकोमा त्यसमा ३ जना नेपालीहरू रहेका थिए । ट्रम्प प्रशासन र मध्य अमेरिकी राष्ट्र पानामा बीचको सम्झौता अनुसार उनीहरूलाई पानामा डिपोर्ट गरिएको थियो ।





