सन् २०२५ मा नेपालद्वारा अमेरिकनसहित ५०१ लाई डिपोर्ट, ११६ लाई नेपाल प्रवेशमा रोक
प्रकाशित मिति : पुस २०, २०८२ सोमबार
सन् २०२५ मा नेपालले पनि अध्यागमन नियम कार्यान्वयन कडाईलाई निरन्तरता दिएको छ । अध्यागमन विभागको वार्षिक तथ्याङ्कअनुसार यो वर्ष विभिन्न ३६ मुलुकका ११६ जना विदेशी नागरिकलाई नेपाल प्रवेशमा रोक लगाइएको छ भने ५०१ जना विदेशी नागरिकलाई नेपालले डिपोर्ट गरेको छ।
अध्यागमन विभागका अनुसार सन् २०२५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललगायत विभिन्न नाकाबाट ११६ जना विदेशीको प्रवेश अस्वीकार गरिएको थियो । यीमध्ये सबैभन्दा बढी भारत र चीनका नागरिक छन्। प्रवेश रोकिने मुख्य कारणहरूमा भिसाको म्याद सकिएको, विगतमा शंकास्पद गतिविधिमा संलग्न भएको अभिलेख रहेको, आपराधिक पृष्ठभूमि, राष्ट्रिय सुरक्षा जोखिम वा पटकपटक अध्यागमन नियम उल्लंघन गरेको इतिहास रहेका अध्यागमन विभागको भनाई छ ।
विभागका अनुसार सुरक्षा र नियमको दृष्टिकोणले मात्र नभई नेपालको छवि जोगाउन पनि यस्ता कदम चालिएको हो । पछिल्ला वर्षहरूमा विदेशीहरूले पर्यटक भिसामा आएर व्यापार, धार्मिक प्रचार वा अन्य गतिविधि गर्ने क्रम बढेपछि विभागले निगरानी बढाएको जानकारी गराएको छ । केही विदेशीहरूले पर्यटक भिसामा लामो समय बसेर गैरकानूनी कामहरु गर्दै आएको घटना नेपालको लागि नौलो भने होइन।
यो वर्ष नेपालबाट कुल ५०१ जना विदेशी नागरिक डिपोर्ट भएकोमा ४३७ जना पर्यटक भिसामा १५० दिनभन्दा बढी ओभरस्टे गरेका थिए भने बाँकी ६४ जना विभिन्न अपराधमा संलग्न थिए। अपराधमा लागूऔषध कारोबार, मानव बेचबिखन, संगठित अपराध, विदेशी मुद्रा अपचलन र अभद्र व्यवहार मुख्य छन्। यस्ता व्यक्तिहरूले सजाय भुक्तान गरेपछि मात्र डिपोर्ट गरिएको विभागले जनाएको छ।
नेपालमा पर्यटक भिसा नियमित रूपमा नवीकरण नगर्ने विदेशीहरूको संख्या बढ्दै गएपछि विभागले कडा कारबाही थालेको हो। अध्यागमन ऐनअनुसार १५० दिनभन्दा बढी ओभरस्टे गर्नेलाई जरिवाना मात्र होइन, डिपोर्ट र पुनःप्रवेशमा प्रतिबन्ध लगाउदै आएको छ ।
गत सेप्टेम्बरमा ७ बर्षदेखि नेपाल बस्दै आएका अमेरिकी नागरिकलाई नेपालबाट ८ जनाको परिवारैसहित डिपोर्ट गरिएको थियो । नेपालको अध्यागमन विभागले अगस्तमा अमेरिकी नागरिक डेनियल स्टेभेन कर्नीलाई नियन्त्रणमा लिएको थियो, उनी व्यावसायिक भिसामा नेपाल आएका थिए । विगत सात वर्षदेखि नेपालमा व्यावसायिक भिसामा बस्दै आएका कर्नीलाई विभागले सेप्टेम्बरको पहिलो साता नेपालबाट डिपोर्ट गरेको थियो ।
अनुसन्धानका क्रममा कर्नीले नेपालमा पब्लिकेसन्सको नाममा क्रिश्चियन धर्मप्रचारसम्बन्धी पुस्तकहरू प्रकाशन गरेको र ललितपुरको लगनखेल, मंगलबजारलगायतका स्थानहरूमा सार्वजनिक रूपमा क्रिश्चियन धर्मको प्रचार गरेको भिडियोसहितको प्रमाण फेला परेको विभागले जनाएको थियो। साथै कर्नी एउटा बालगृह सञ्चालनमा अप्रत्यक्ष रूपमा संलग्न रहेको र उक्त बालगृहले दुर्गम क्षेत्रका आर्थिक रूपमा कमजोर परिवारका बालबालिकालाई पढाउने नाममा क्रिश्चियन धर्म सिकाउने गरेको अनुसन्धानमा पुष्टि भएको विभागले जनाएको थियो।
विभागका अनुशार थप अनुसन्धानमा कर्नी सन् २०१७ मा भारतबाट समेत डिपोर्ट भएको तथ्य फेला परेको थियो । यी सबै कसूरहरूले नेपालको अध्यागमन ऐन र नियमावलीको प्रावधान उल्लंघन गरेको देखिएको भन्दै सार्वजनिक स्थानमा धर्मप्रचार, भिसाको उद्देश्यविपरीत गतिविधि र संदिग्ध आचरणमा संलग्न भएको आधारमा कर्नीलाई ११ वर्षसम्म नेपाल पुनः प्रवेशमा प्रतिबन्धका साथ ५०,००० रुपैयाँ जरिवानासहित निष्कासन गरिएको विभागले जनाएको थियो ।
कर्नीका ६ जना छोराछोरी र श्रीमती पनि कर्नीसँगै व्यावसायिक भिसामा नेपालमा बस्दै आएका थिए। कर्नीको भिसा रद्द भएसँगै उनीहरूको डिपेन्डेन्ट भिसा पनि स्वतः रद्द भएको थियो। उनीहरूले चाहेमा पर्यटक भिसामा नेपालमा बस्न सक्ने भएपनि कर्नीले आफ्नो परिवारलाई समेत अमेरिका लैजाने इच्छा व्यक्त गरेपछि श्रीमती र छोराछोरीसहित आठ जनालाई नेपालबाट पठाइएको थियो ।
गतबर्षको फेब्रुअरीमा पनि धर्म प्रचारको आरोप लागेका १७ अमेरिकी नागरिक नेपालबाट फर्किएका थिए । उनीहरुलाई पर्यटक भिसा दुरुपयोग गरेको आरोपमा पक्राउ गरिएको थिउो । तर कारवाहीको दायरमा ल्याउनका लागि अध्यागमन विभागले प्रकृया सुरु गरेको अवस्थामा उनीहरुले आफै नेपाल छाडेका थिए । उनीहरुलाई सुनसरी प्रहरीले पक्राउ गरेको थियो भने पर्यटक भिसामा आएर नेपालमा ईसाई धर्मको प्रचार गरेको आरोप लागेको थियो ।
नेपालको अध्यागमन विभागले उनीहरुलाई निश्चित अबधिका लागि नेपाल आउन नपाउनेगरी निष्कासन गर्ने तयारी गरेको थियो । तर उनीहरु अनुसन्धान पुरा नहुदै कतार एयरवेजको विमान मार्फत अमेरिका फर्केका थिए । सुनसरीको धरान उपमहानगरपालिका ५, देउराली सौगातचोकस्थित प्रेरणा कल्याणकारी समाजको भवन बनाउने भन्दै श्रमदानमा आएका उनीहरुमाथि धर्म प्रचार गरेको आरोप प्रहरीले लगाएको थियो ।
सन् २०२४ मा ५०४ जना विदेशी नागरिक डिपोर्ट भएका थिए, जसमा १४७ चिनियाँ, ५४ अमेरिकी, ५४ बंगलादेशी, ३५ पाकिस्तानी, २५ बेलायती र अन्य देशका नागरिकहरू थिए। सन् २०२५ को पहिलो आठ महिनामा डिपोर्ट भएका १६९ जना विदेशीमध्ये ९ जना अमेरिकी थिए ।





