अमेरिकाबाट तेस्रो देशका आप्रवासीलाई देशनिकाला गरेर युरोप र अफ्रिका पठाइँदै
प्रकाशित मिति : मंसिर २९, २०८२ सोमबार
अमेरिकी सरकारले देशनिकाला गरेका तेस्रो देशका नागरिकहरुलाई युरोपेली तथा अन्य राष्ट्रहरुले स्वीकार गर्न थालेका छन् । ट्रम्प प्रशासनले पक्राउ गरी निष्काशन गरिएका उनीहरुलाई ती देशहरुले स्वीकार गर्नेछ भने त्यसको बदलामा अमेरिकाले आर्थिक सहायता तथा प्रतिबन्धबाट उन्मुक्ति, अतिरिक्त ट्यारिफमा छुट सुविधाहरु दिएको छ ।
अमेरिकाबाट देशनिकाला गरिएकाहरुलाई स्वीकार गर्न थालिएको युरोपेली देश कोसोभोले आधिकारिक घोषणा गरेको छ । घाना, रुवान्डा, एस्वातिनी जस्ता देशहरुले पनि अमेरिकाबाट निष्काशनमा परेका तेस्रो देशका आप्रवासी स्वीकार गर्न थालिएको जानकारी दिएका छन् ।
कोसोभोका प्रधानमन्त्री अल्बिन कुर्तीले यसबारे पुष्टि गर्दै हालसम्म एक दुई जना मात्र आइपुगेको बताए । ती कुन देशका हुन् भन्नेबारे भने उनले अनभिज्ञता प्रकट गरे । “हामी उनीहरुलाई स्वीकार गरिरहेका छौँ, जसलाई अमेरिकाले आफ्नो देशमा राख्न चाहेन,” कुर्तीले भनेका छन् ।
ट्रम्प प्रशासनले निष्काशित हुने व्यक्तिहरुलाई पठाउन अहिलेसम्म पाँच वटा देशहरु इक्वेटोरियल गिनी, एल साल्भाडोर, एस्वातिनी, घाना र रुवान्डालाई भुक्तानी गरिरहेको र थप देशहरुको खोजीमा रहेको छ ।
इक्वेटोरियल गिनीलाई अन्य देशका नागरिक लिनका लागि अमेरिकाले ७.५ मिलियन डलर भुक्तानी गरेको डेमोक्रेटिक सिनेटर जीन शाहीनले बताइन् । त्यस्तै एस्वातिनीले ५ मिलियन डलरभन्दा बढी प्राप्त गरेको छ भने अहिलेसम्म १६० जनासम्म निष्काशितहरूलाई स्वीकार गरेको जनाएको छ।
त्यसैगरी एल साल्भाडोरलाई हालसम्म देशनिकाला गरिएकाहरुलाई स्वीकार गर्न ६ मिलियन डलर भुक्तानी गरिएको छ । यसको पुष्टी ह्वाइट हाउसकी प्रेस सेक्रेटरी कारोलाइन लीभिटले गरेकी हुन् ।
रुवान्डाले पनि एस्वातिनीको जस्तै अन्य देशका नागरिक लिनका लागि सम्झौतामा ७.५ मिलियन डलर प्राप्त गरेको छ। यो रकम आप्रवासन व्यवस्थापन क्षमतालाई सुदृढ गर्न र पुर्वाधारहरु निर्माण गर्न प्रयोग गर्ने सर्त रहेको छ ।
घानाले पनि अमेरिकाको सर्त स्वीकार गर्दै पश्चिम अफ्रिकाका कम्तीमा पनि ४२ जनालाई स्वीकार गरिएको जनाएको छ । आफ्नो देशमाथि अमेरिकाको कम प्रतिबन्ध वा कम ट्यारिफ लगाउने सर्तमा अमेरिकाको सर्त स्वीकार गरेको घानाले जनाएको छ ।
अमेरिकाले देशनिकाला गरिएका तेस्रो देशका नागरिकहरुलाई स्वीकार गर्न प्रस्ताव गरेको थियो । विशेष गरी अफ्रिकी मुलुकका नागरिकहरु रहेको र ती नागरिकहरुलाई घानाले स्वीकार गरेको हो ।






