जन्मसिद्ध नागरिकता प्रतिबन्ध लगाउने ट्रम्पको आदेशको समीक्षा गर्न सर्वोच्च अदालत सहमत
प्रकाशित मिति : मंसिर १९, २०८२ शुक्रबार
अमेरिकी सर्वोच्च अदालत ट्रम्पले जारी गरेको जन्मसिद्ध नागरिकता सम्बन्धी आदेशको समीक्षा गर्न सहमत भएको छ । ट्रम्पले जारी गरेको यो कार्यकारी आदेशले कानुनी स्थिति नभएका अभिभावकबाट जन्मिएका बालबालिकालाई नागरिकता दिन अस्वीकार गर्न खोजेको थियो ।
शुक्रबार सर्वोच्च अदालत ट्रम्पको सो आदेश संवैधानिक छ वा छैन भनी समीक्षा गर्न तयार भएको हो । अमेरिकामा कानूनी स्थिति नभएका आप्रवासी अभिभावकबाट जन्मिएका बालबालिकाको जन्मसिद्ध नागरिकता समाप्त गर्ने उद्देश्यले राष्ट्रपति ट्रम्पद्वारा जारी यो आदेशविरुद्ध सर्वोच्चमा निवेदन परेको थियो । सोही निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले ट्रम्पको कार्यकारी आदेशको परीक्षण हुने निर्णय गरेको हो ।
यसअघि अमेरिकाभित्र जन्मिएका बच्चाले स्वतः अमेरिकाको नागरिकता प्राप्त गर्ने व्यवस्था थियो । १२५ वर्षभन्दाबढीको संवैधानिक व्यवस्थालाई ट्रम्पले चुनौती दिँदै गैरकानुनी अध्यागमन स्थिति भएका अभिभावकबाट जन्मिएका बच्चालाई नागरिकता नदिने कार्यकारी आदेशमा दोस्रो कार्यकालको पहलो दिन हस्ताक्षर गरेका थिए ।
ट्रम्पको यस्तो कार्यकारी आदेशका कारण प्रत्येक वर्ष हजारौं बालबालिकाको नागरिकता खोस्ने भन्दै अदालतमा निवेदन दर्ता भएको थियो । ट्रम्पको आदेशका कारण संविधानको १४ औँ संशोधनको उलंघन भएकोले सो आदेशको खारेजीको माग गरिएको छ ।
ट्रम्प प्रशासनको भनाइ भने नागरिकताको सम्बन्धमा गलत धारणा व्यापक भएपछि त्यसलाई परिवर्तन गर्न कार्यकारी आदेश जारी गर्नु परेको उल्लेख छ । ट्रम्पको आदेश विरुद्ध मुद्दा चलाएका नागरिक अधिकार समूहहरूले भने यसमा कुनै समीक्षा आवश्यक नरहेको प्रतिक्रिया दिएको छ ।
जन्मसिद्ध बालबालिकाले उनीहरुको अभिभावकको जस्तो सुकै हैसियत भएपनि नागरिकता पाउने कुराको संवैधानिक हक कार्यान्वयन हुनुपर्ने भनाइ उनीहरुको छ ।१८९८ को वोङ किम आर्कको मुद्दा मा सर्वोच्च अदालतले अमेरिकी भूमिमा जन्मिएका आप्रवासीका सन्तानहरूलाई जन्मसिद्ध नागरिकताको अधिकार रहेको पुष्टि गरेको थियो।








