जनवरी १ देखि नेपाल आउने हरेक विदेशीको नयाँ प्रणालीमार्फत ट्रयाकिङ गरिने
प्रकाशित मिति : मंसिर ११, २०८२ बिहीबार
काठमाडौँको बौद्धस्थित विश्व सम्पदामा सूचीकृत बौद्धनाथ स्तुपामा घुम्न आएका विदेशी पर्यटक ।
जनवरी १ देखि नेपाल आउने हरेक विदेशीको नयाँ प्रणालीमार्फत ट्रयाकिङ गरिने भएको छ। नेपाल सरकारको अध्यागमन विभागले विदेशी नागरिकहरूको प्रवेश, बसाइ र गतिविधिलाई व्यवस्थित गर्न ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ को विकास गरेको हो। यो प्रणालीलाई जनवरी १, २०२६ देखि अनिवार्य रूपमा लागू गर्ने तयारी गरिएको छ।
विभागका अनुसार, यो प्रणाली नेपाल पक्ष राष्ट्र भएका अन्तर्राष्ट्रिय कानुन र प्रतिबद्धताहरू अनुरूप विकसित गरिएको छ। यसले विदेशी पर्यटकहरूको सुरक्षा सुनिश्चित गर्न, सूचना आदानप्रदान गर्न र सम्भावित अपराध नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै, पर्यटन प्रवर्द्धन, राष्ट्रिय सुरक्षा र सुशासनलाई मजबुत बनाउने लक्ष्य राखिएको छ।
प्रणालीको कार्यान्वयन पहिलो चरणमा काठमाडौं उपत्यकाभित्रका तारे होटलहरूमा लागू गरिनेछ। दोस्रो चरणमा सन् २०२६ मार्च १ देखि देशभरका तारे होटल, विमान कम्पनी, टुर्स एन्ड ट्राभल्स कम्पनी तथा मनी एक्सचेन्जरहरूमा विस्तार गरिनेछ। क्रमिक रूपमा सबै प्रकारका होटल, गेस्ट हाउस र अन्य सेवा प्रदायक संस्थाहरूमा यो प्रणाली अनिवार्य हुनेछ।

विभागले यो प्रणालीमार्फत विदेशी नागरिकहरूको अभिलेख व्यवस्थापन गरी आपतकालीन अवस्थामा खोजी, उद्धार र सुरक्षा सुनिश्चित गर्ने बताएको छ। यसले सुरक्षा निकाय, पर्यटन व्यवसायी र सरोकारवाला निकायहरूबीच सूचना आदानप्रदानलाई सरल बनाउने अपेक्षा गरिएको छ।
विदेशी नागरिकहरूलाई सेवा प्रदान गर्ने सबै सार्वजनिक तथा निजी संस्थाहरूलाई यो प्रणालीमा अनिवार्य रूपमा आबद्ध हुन विभागले अनुरोध गरेको छ। दर्ता प्रक्रिया र म्यानुअल विभागको वेबसाइटमा उपलब्ध छ। थप जानकारीका लागि विभागको सूचना प्रविधि शाखा वा कम्प्युटर इन्जिनियर सन्तोष कुमार शाह (मोबाइल नं. ९७७-९७६१४२३६३७) लाई सम्पर्क गर्न सकिनेछ।
किन गरिदैछ ट्रयाकिङ?
विभागका प्रवक्ता टिकाराम ढकालले यो प्रणालीलाई विगत चार–पाँच आर्थिक वर्षदेखि नै वार्षिक कार्यक्रममा समावेश गरिएको भए पनि प्राविधिक समस्याका कारण कार्यान्वयन हुन ढिलो भएको बताएका छन्। जनवरी १ देखि भने यो प्रणाली विकास गरी कार्यान्वयनमा ल्याइने भएको छ ।
प्रवक्ता ढकालका अनुसार, यो प्रणालीले नेपाल प्रवेश गर्ने विदेशी नागरिकहरूको अभिलेख व्यवस्थापन, स्वतन्त्र आवागमन नियमन र पर्यटन प्रवर्द्धनलाई मुख्य रूपमा जोड दिनेछ। अन्तर्राष्ट्रिय सम्झौता तथा कानुनहरूअनुसार विदेशी नागरिकहरूको सुरक्षा, ट्रेकिङ तथा आपतकालीन उद्धारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। “यो प्रणालीले विदेशी नागरिकहरूको बसाइँ, भिसा अवधि तथा क्रियाकलाप ट्र्याक गर्न मद्दत गर्नेछ, जसले अध्यागमन अपराधहरू जस्तै लागूऔषधि कारोबार, मानव तस्करी र विदेशी मुद्रा अपचलनलाई नियन्त्रण गर्न सहयोग पुग्नेछ,” ढकालले भने।
विभागले यो प्रणालीलाई चरणबद्ध रूपमा कार्यान्वयन गर्ने योजना बनाएको थियो। पहिलो चरणमा असोज १ गतेदेखि काठमाडौँ उपत्यकाका तारे होटेलहरूबाट सुरु गर्ने, दोस्रो चरणमा मङ्सिर १ गतेदेखि मनी एक्सचेन्जर, विमान कम्पनी तथा टुर्स एन्ड ट्राभल्स कम्पनीहरूमा अनिवार्य गर्ने र तेस्रो चरणमा सबै सेवा प्रदायक निकायहरूमा लागू गर्ने कार्ययोजना थियो। होटल एसोसिएसन नेपाल (हान), ट्रेकिङ एजेन्सी एसोसिएसन नेपाल लगायत सरोकारवाला निकायहरूसँग छलफल पनि गरिएको थियो।

तर, भदौ २३ र २४ गते भएको आन्दोलनका कारण होटेल तथा निजी क्षेत्र प्रभावित भएको र प्राविधिक समस्या देखिएको भन्दै सरोकारवालाहरूले सन् २०२६ जनवरीदेखि मात्र कार्यान्वयन गर्न अनुरोध गरेका थिए। यसलाई ध्यानमा राख्दै विभागले जनवरी १ पछिमात्र यो प्रणाली अनिवार्य बनाउन लागेको छ । “हामीले सरोकारवाला निकायहरूलाई अनुरोध गरेका छौँ कि यो सरकारको नीति हो, यसलाई सञ्चालन गर्नुहोस्। तर अहिले नै म्यान्डेटरी बनाएर कारबाही गर्ने व्यवस्था गरेका छैनौँ,” ढकालले स्पष्ट पारे। केही होटेल तथा संस्थाहरूले भने यो प्रणालीको सुरुआत गरिसकेका छन्।
यो प्रणालीले विदेशी नागरिकहरूको भिसा अवधि समाप्त भएपछि सिस्टमबाटै पप–अप सूचना दिनेछ, जसले डिपोर्टेशन तथा अनुसन्धानमा सहजता ल्याउने अपेक्षा छ। नेपालमा हरेक वर्ष ठूलो सङ्ख्यामा विदेशी नागरिकहरूलाई अध्यागमन अपराधका कारण डिपोर्ट गरिने गरेको र खुला सीमाको फाइदा उठाएर उनीहरू भारत हुँदै फर्किने प्रवृत्ति देखिएको ढकालले उल्लेख गरे। “यो प्रणाली कार्यान्वयन भएपछि उनीहरूको पछिल्लो लोकेशन ट्र्याक गर्न सजिलो हुनेछ, जसले खोज तथा उद्धार कार्यमा पनि मद्दत पुग्नेछ,” उनले भने।
भारतीय नागरिकहरूको हकमा पनि यो प्रणाली लागू हुने स्पष्ट गर्दै ढकालले भने, “भारतीय नागरिकहरू होटेलमा बस्दा कागजात पेश गर्नुपर्छ र उनीहरूको विवरण रजिस्ट्रेसन हुन्छ। थर्ड कन्ट्रीबाट भारत हुँदै आउनेहरूले अध्यागमनबाटै भिसा लिन्छन्।” विभागले ७७ वटै जिल्लाका अनुगमन समितिहरूलाई यो प्रणालीबारे जानकारी गराइसकेको छ। सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत नियमित अनुगमन हुने विभागले जनाएको छ।
विभिन्न दूतावासहरूबाट यो प्रणालीबारे चासो व्यक्त भए पनि ढकालले यसले विदेशी नागरिकहरूको हरेक क्रियाकलाप ट्र्याक नगर्ने, बरु उनीहरूको सुरक्षा र पर्यटन प्रवर्द्धनमा केन्द्रित हुने बताए। “यो प्रणालीले पर्यटकहरूको ट्रेकिङ तथा एक्स्पेडिसनमा आपतकालीन अवस्थामा उद्धारलाई सहज बनाउनेछ,” उनले थपे।
कति विदेशी आउँछन् नेपालमा?
सन् २०२५ को अक्टोबर महिनामा एक लाख २८ हजार ४४३ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । नेपाल पर्यटन बोर्डका अनुसार अक्टोबर महिनामा सबैभन्दा धेरै पर्यटक भारतबाट नेपाल आएका थिए । भारतबाट अक्टोबर महिनामा मात्र १७ हजार २९८ पर्यटक नेपाल घुम्न आएका थिए । भारतबाट स्थलसिमा हुँदै आउनेहरूको सङ्ख्या भने रेकर्डमा छैन। यस्तै, अमेरिकाबाट १३ हजार २८६ र बेलायतबाट आठ हजार ७१८ पर्यटक नेपाल आएका थिए ।
छिमेकी मुलुक चीनबाट छ हजार ७५५ तथा जर्मनीबाट छ हजार ३६६ पर्यटक नेपाल आएका थिए । पर्यटक आगमन अवस्था हेर्दा कूल पर्यटकमध्ये युरोपेलीको हिस्सा ३१ दशमलव ६ प्रतिशत रहेको छ । युरोपेली मुलुकबाट मात्र ४० हजार ६० पर्यटक नेपाल आएका छन् ।
दक्षिण एसियाली राष्ट्रबाट अक्टोबरमा २२ दशमलव ६ प्रतिशत पर्यटक आएका थिए । भारतसहित सार्क देशबाट २९ हजार ६० पर्यटक अक्टोबरमा नेपाल भित्रिएको नेपाल पर्यटन बोर्डले जनाएको छ । अन्य एसियाली देशबाट २३ हजार १२७ पर्यटक नेपाल आएका थिए । गत वर्ष अक्टोबर महिनाको तुलनामा यस वर्ष ३ दशमलव ३ प्रतिशत बढी पर्यटक नेपाल घुम्न आएका हुन् ।

सन् २०२४ को अक्टोबरमा एक लाख २४ हजार ३९१ पर्यटक नेपाल घुम्न आएका थिए । यस्तै, अघिल्लो महिना अर्थात् सन् २०२५ को सेप्टेम्बरमा ७८ हजार विदेशी पर्यटक नेपाल भित्रिएका थिए । बोर्डका अनुसार सेप्टेम्बरमा भारतबाट १५ हजार ५५६, चीनबाट पाँच हजार २३७, अमेरिकाबाट नौ हजार ६७९, श्रीलङ्काबाट तीन हजार १५ र बङ्गलादेशबाट दुई हजार २३० पर्यटक भित्रिएका थिए ।
साथै, अगष्टमा भारतबाट ३५ हजार ५०५ अर्थात् ४० प्रतिशत पर्यटक भित्रिएका थिए । यस्तै, अगष्ट महिनामा चीनबाट सात हजार ५३३ अर्थात् ८ दशमलव ५, अमेरिकाबाट ६ हजार ६८ अर्थात् ६ दशमलव ८ प्रतिशत, श्रीलङ्काबाट पाँच हजार ९५६ अर्थात् ६ दशमलव ७ प्रतिशत र बङ्गलादेशबाट चार हजार २६२ अर्थात् ४ दशमलव ८ प्रतिशत पर्यटक भित्रिएका थिए ।
पर्यटन बोर्डका अनुसार सन् २०२५ को १० महिनामा नौ लाख ४३ हजार ७१६ पर्यटक नेपाल घुम्न आएका छन् । सन् २०२४ को १० महिनामा नौ लाख ४१ हजार २४ पर्यटक नेपाल घुम्न आएका थिए ।








