लागूऔषध तस्करीविरुद्ध लड्न थप सेना तैनाथ गर्ने अमेरिकाको योजना 


प्रकाशित मिति : मंसिर ११, २०८२ बिहीबार

अमेरिकी युद्ध मन्त्री पिट हेगसेथले लागुऔषध तस्करी नियन्त्रणलाई थप कडा बनाउन सैन्य तैनाथी विस्तार गर्ने तयारीमा रहेको बताएका छन्। हेगसेथले यो घोषणा डोमिनिकन गणराज्यको सरकारी भ्रमणका दौरान गरेका हुन्, जहाँ उक्त देशले हालै मात्र अमेरिकी सैनिकहरुको अस्थायी तैनाथीलाई अनुमति दिएको छ।

हेगसेथका अनुसार अमेरिकी सेना र विमानहरूलाई लागुऔषध तस्करी रोकथामका महत्वपूर्ण अभियानहरूमा तैनाथ गर्ने योजनामा अमेरिकी प्रशासन सक्रिय छ। उनले भने, “यो एउटा यस्तो मोडेल हो, जसलाई हामी अन्य देशहरूसँग पनि विस्तार गर्न चाहन्छौँ। जसले हामीसँग सहकार्य गर्न चाहन्छन्, उनीहरूले स्पष्ट रूपमा बुझून् कि हामी लागुऔषध आतंकवादीहरूलाई रोक्न बहु–देशीय साझेदारी विस्तार गर्दैछौँ।”

हेगसेथले डोमिनिकन गणराज्यले लागुऔषध तस्करीविरुद्धको क्षेत्रीय अभियानमा मुख्य नेतृत्वको भूमिका खेलेको उल्लेख गर्दै भविष्यमा पनि यो सहकार्य मजबुत रूपमा जारी रहने बताए। डोमिनिकन गणराज्य क्यारिबियन क्षेत्रमा लागुऔषध मार्गको हिसाबले संवेदनशील मानिन्छ, जसकारण अमेरिकी सुरक्षा एजेन्सीहरू यहाँ सक्रिय रूपमा संलग्न रहँदै आएका छन्।

अमेरिकाले क्यारिबियन क्षेत्रमा लागुऔषध तस्करीविरुद्ध आफ्नो अभियानलाई तीव्र बनाएको छ। अमेरिकी बलहरूले समुद्री मार्गमार्फत सञ्चालन हुने लागुऔषध तस्करीका सञ्जालहरूलाई नष्ट गर्न लक्षित ‘इंटरडिक्शन अपरेसन’हरू गर्ने क्रममा तस्करीमा संलग्न भनिएका धेरै नौकाहरूमा हवाई तथा नौसैनिक कारबाही गरेका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हेगसेथले अन्य देशहरूलाई पनि अमेरिकी नेतृत्वमा भइरहेको क्याम्पेनमा सहभागी हुन आह्वान गरेका छन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com